घैरुङ, गोरखा, २५ बैशाख
सहिद लखन गाउँपालिका गोरखामा आज ‘कला, साहित्य तथा सांस्कृतिक प्रवद्र्धन कार्यक्रम’ सम्पन्न भयो । लखन गाउँपालिकाको आयोजना तथा ‘सहिद लखन साहित्य समाज’को सह–आयोजनामा कार्यक्रम भएको हो । उक्त कार्यक्रमको समन्वय तथा सहजीकरण इच्छुक सांस्कृतिक प्रतिष्ठानले गरेको थियो ।
प्रथम शत्रकाे कार्यक्रम सकिएको लगत्तै विधागत प्रशिक्षण सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा इच्छुक प्रतिष्ठानका सदस्यसचिव माेदनाथ मरहट्टाले कार्यक्रमकाे सहजिकरण गर्नुका साथै विषयकाे उपस्थापन गर्नुभएको थियोे । साहित्यका विभिन्न विधाहरू कविता, गीत, गजल, मुक्तक, हाइकु, कथा, संस्मरण, डायरी र पत्र साहित्य जस्ता विषयमा विषय विज्ञहरूबाट प्रशिक्षण चलाइएको थियो । यसरी प्रशिक्षण दिनेहरूमा प्रा.डा. जगदीशचन्द्र भण्डारीले कला, साहित्य, सौन्दर्यको विषयमा र प्रा.डा. नन्दीश अधिकारीले संस्मरण, निबन्ध, पत्रसाहित्य तथा डायरी लेखनकलाका बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी हिरामणि दुःखीले कथा लेखनको विधासिद्धान्तका बारेमा, तेजविलाश अधिकारीले हाइकु तथा मुक्तक लेखन र भीम रानाभाटले गीत लेखनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

दुई चरणमा गरिएको कार्यक्रको उद्घाटन शत्रको अध्यक्षता पालिका प्रमुख रमेशबाबु थापाले गर्नुभएको थियो भने सञ्चालन सो पालिकाका सामाजिक विकाश शाखाका प्रमुख पूर्णबहादुर गहतराजले गर्नुभएको थियो । साहित्यकार विष्णु काप्रिले स्वागत गरेको कार्यक्रमा शुभकामना मन्तव्य इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले दिनुभएको थियो । प्रथम शत्रको समापन गर्दै पालिका प्रमुख रमेशबाबु थापाले यो साहित्यिक कार्यक्रमले पालिकाका विद्यार्थी तथा शिक्षकहरूलाई साहित्य लेखन सम्बन्धी ज्ञान प्रशारण गर्ने बताउनुभयो । सो कार्यक्रममा लखन गाउँपालिका अन्तरगतका एघार वटा माध्यमिक विद्यालयबाट माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

दुई दिनसम्म सञ्चालन गरिने कार्यक्रममा आज उद्घाट र प्रशिक्षण कार्यक्रम सम्पन्न भयो भने भोली सहभागी विद्यार्थी, शिक्षक तथा अन्य साहित्यकारहरूबाट विभिन्न विधाका रचना वाचन गरिने र उक्त वाचित रचनाहरूको समीक्षा गर्दै कार्यक्रम समापन गरिने आयोजकहरूले जनाएका छन् ।
































