भूमिहीनलाई भूमि दे’ भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन

भूमिहीनलाई भूमि दे’ भन्दै माइतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन

काठमाडौं । सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै श्रम संस्कृति पार्टीले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

‘यो देश गरिबको पनि हो’ भन्ने नारासहित शनिबार आयोजित प्रदर्शनमा सहभागीहरूले राज्यको व्यवहारप्रति आपत्ति जनाएका थिए। पार्टीले सुकुम्बासी र भूमिहीन समुदायप्रति सरकारले निर्मम ढंगले व्यवहार गरेको आरोप लगाएको छ।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘भूमिहीनलाई पहिले व्यवस्थापन गर’, ‘मानवअधिकारका लागि एक हौं’, ‘कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हो’ र ‘भूमिहीनलाई भूमि दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले उचित विकल्प र व्यवस्थापन नगरी सुकुम्बासी बस्ती हटाउने कार्यले राज्यले निरंकुश शैली देखाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।