नेपाली राजनीतिमा साम्प्रदायिताको प्रयोग एक चर्चा

नेपाली राजनीतिमा साम्प्रदायिताको प्रयोग एक चर्चा

डा. केशव देवकोटा

नेपालको राष्ट्रिय राजनीतिमा पछिल्ला दिनमा साम्राज्यवादी हस्तक्षेप तीब्रभएको छ । त्यसमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढ्दैगएको स्पष्ट छ । जसले नेपालको आर्थिक, सामाजिक र राजनीतिकमात्र नभएर साँस्कृतिक क्षेत्रमासमेत हस्तेक्षप बढाएर लगेको छ । साम्राज्यवाद पदावली ल्याटिन भाषा इम्पेरियमको रुपान्तरण हो । यसको अर्थ सर्वोच्च शक्ति अर्थात सैन्य शक्ति वा कुटनीतिबाट देशको शक्ति र प्रभाव विस्तारगर्ने नीतिभन्ने हुन्छ । कमरेड लेनिनले सन् १९१६ मै साम्राज्यवादबारेका भ्रमहरुको चिरफारगर्दै साम्राज्यवाद पूँजीवादको चरम अवस्थाभन्ने पुस्तक लेख्नुभएको थियो । सो पुस्तकमा लेनिनले साम्राज्यवादका बिभिन्न स्वरुपबारे ब्याख्या गर्नुभएको छ । पूँजीवादको विकास भएर साम्राज्यवादमा परिणत हुने प्रक्रिया सन् १८६० देखिनै शुरुभएको मानिन्छ । औद्योगिक क्रान्तिपछि युरोपमा देखापरेको खुल्ला प्रतिस्पर्धामा आधारित पूँजीवाद १९ औं शताब्दीमा पुग्दा उत्कर्षमा पुगेको थियो । कमरेड लेनिनले आफ्नो किताबको भूमिकामा साम्राज्यवाद भनेको मरणासन्न पूँजीवाद अर्थात् समाजवादी क्रान्तिको पूर्वसन्ध्याको पूँजीवाद हो भन्नुभएको थियो । पूँजीवादको एकाधिकारी अवस्थानै साम्राज्यवाद भएको बताउदै उहाँले त्यसका पाँचवटा विशेषताहरुबारे पनि ब्याख्या गर्नुभएको पाइन्छ । जसमा पहिलो उत्पादन र पूँजीको केन्द्रीकरण, एकाधिकारपूर्ण अवस्था विकास । दोश्रो वित्तीय पूँजी र वित्तीय अल्पतन्त्रको विकास । तेश्रो पूँजीको निर्यात चौथो अन्तर्राष्ट्रिय एकाधिकार पूँजीवादी कार्टेलद्वारा विश्व बजारको बाँडफाँड र पाँचौं पूँजीवादी शक्तिहरुबाट विश्वको विभाजन रहेका छन् । आजको २१ औ शताब्दीमा पुग्दा साम्राज्यवाद सबैक्षेत्रमा भूमण्डलीकृत भएर आएको पाइन्छ । आजको विश्वमा साम्राज्यवाद भनेकै अमेरिकी साम्राज्यवाद हो । जसले खासगरी दक्षिण एशियामा आफ्नो साम्राज्य फैलाउने प्रयास गरिरहेको छ र त्यसको केन्द्र नेपाललाई बनाउन खोजेको छ । निचोडमा साम्राज्यवादीहरुको मुख्य नीति फुटाउ र शासन गरभन्ने हो । अमेरिकाले हाल नेपालमा सोही नीतिको प्रयोग गरेर यहाँको आन्तरिक राजनीतिलाई नियन्त्रणमा लिएको देखिएको छ । जसका लागि उसले यहाँको राजनीतिमा मुख्यतः साम्प्रदायिकतालाई हतियार बनाएको देखिन्छ । राजनीति भनेको राज्य सञ्चालनगर्ने, नीति निर्धारणगर्ने र समाजलाई व्यवस्थित, विकसित तथा सुरक्षित राख्ने प्रक्रिया हो । यो शक्ति, नेतृत्व, र जनउत्तरदायी शासनको माध्यम पनि हो । जसको मुख्य उद्देश्य राष्ट्रिय हित र जनताको सेवागर्नु हो । राजनीतिक पार्टी कुनै न कुनै दर्शन, सिद्धान्त र बिचारको आधारमा चलेको हुन्छ । समाजवादी दर्शनले श्रमिक वर्गको पक्षमा काम गरेको हुन्छभने पूँजीवादी दर्शनले पूँजीपतिवर्गको सेवा गर्छ ।
साम्राज्यवादी अमेरिकाले भेनेजुयलाको प्राकृतिक श्रोत, साधन, खनिज तथा तेल कब्जागर्न गरेको आक्रमण र इरान घटना पछिल्ला ताजा उदाहारण रहेका छन् । साम्राज्यवादी नीति कायम रहेसम्म संसारका जनताले सुरक्षा र शान्तिको अनुभूतिगर्न पाउने छैनन् । राज्यको नीति, ब्यवस्थालाई ठीकगरि जनताका लागि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठीक राख्ने व्यवहारगत व्यवस्थानै राजनीति हो । देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरेमा अवश्यनै त्यो सफल र सक्षम मानिन्छ । तर जब त्यसमा साम्राज्यवादी चासोले काम गर्दछ, तब राजनीति देश र जनताका लागि खतर्नाक कुरा हुन्छ । हाल नेपालमा भएको पनि त्यहीनै हो । राजनीतिमा साम्प्रदायिकता भन्नाले धर्म, जाति, भाषा, लिङ्ग, संस्कृति वा समूदायका आधारमा मानिसहरुलाई विभाजितगरी राजनीतिक लाभलिन खोजिने प्रवृत्तिलाई बुझिन्छ । यसले समाजमा आपसी अविश्वास, द्वन्द र हिंसा बढाउने काम गर्दछ । नेपालको सन्दर्भमा ०६३ को परिवर्तनबाट सत्तामा आएकाहरुले जातीयतालाई आफ्नो राजनीतिको हतियार बनाउने प्रयास गरेका थिए । उनीहरुले पहिचानको आबरण दिएर काफि दलसम्म जातीय द्वन्द बढाउने प्रयास गरे । तर करिव २० बर्षमा उनीहरु राजनीतिबाट किनारा लाग्दैगएका छन् । जातीयताको नाराले नेपाली समाजलाई बिभाजित गर्न÷गराउन नसकिने भएपछि गत भदौ २३ र २४ को घटना र त्यसपछिको परिवर्तनपछि उमेर समूहलाई प्रयोग गरेर नेपालीहरुलाई बिभाजन गराउने प्रयास थालिएको छ । उमेरको राजनीतिले बिचारको राजनीतिलाई चुनौती दिएको छ । तर त्यसका पनि असफलताका प्रारम्भिक संकेतहरु देखिनथालेका छन् । राजनीतिमा बिचार सबैभन्दा प्रधान पक्ष हुन्छ । त्यसमा साम्प्रदायिकताको प्रयोग गरियोभने त्यसले विकास र राष्ट्रिय एकतामा अवरोध पु¥याउँछ । राजनीतिमा साम्प्रदायिकता भन्नाले बिचार पक्षलाई नकारेर धर्म, जाति, भाषा, लिङ्ग वा क्षेत्रको नाममा नागरिकहरुलाई विभाजितगरी सत्ता प्राप्तगर्ने वा शक्ति सञ्चयगर्ने प्रवृत्तिलाई बुझिन्छ ।
केही संसदवादी नेताहरुले चुनाव जित्न वा आफ्नो प्रभुत्व कायम राख्न साम्प्रदायिक नाराहरु प्रयोगगर्ने गर्छन् । नेपालमा हालसम्म गरि पनि रहेका छन् । जसलेगर्दा समाजमा अविश्वास र द्वन्द बढाउने काम भएको छ । त्यसैगरी साम्प्रदायिकता सत्ता प्राप्तिको एक अस्त्र बन्न पुगेको छ । जहाँ राष्ट्रिय हितभन्दा साना समूहको स्वार्थलाई प्राथमिकता दिइन्छ । आम जनतालाई ससानो विषयमा विभाजित गरेर भोट बैंककारुपमा प्रयोगगर्ने प्रवृत्ति हाल नेपालको राजनीतिमासमेत व्याप्त छ । त्यसैगरी विविधतापूर्ण नेपाली समाजमा साम्प्रदायिक राजनीतिले सद्भाव खलबल्याउने र राष्ट्रिय एकता कमजोर पार्ने काम गरिरहेको छ । जब कुनै राजनीतिक शक्ति वा समूहले आफ्नो समुदायलाईमात्र श्रेष्ठ ठान्छ र अन्य समुदायप्रति घृणा, भेदभाव वा विरोध फैलाउँछ, त्यसलाई साम्प्रदायिक राजनीति भनिन्छ । त्यसमा धर्म वा जातीय पहिचानलाई राजनीतिक हतियारकारुपमा प्रयोगगर्ने गरिएका विश्वमा अनेक उदाहारणहरु रहेका छन् । छोटकरीमा भन्ने होभने साम्प्रदायिकता मुख्यत जनपक्षीय राजनीतिका लागि ठूलो चुनौती हो । यसले समाजलाई विभाजितगरी शान्ति र विकासमा बाधा पु¥याउँछ ।
त्यसैले समानता, सहिष्णुता र राष्ट्रिय एकतालाई प्राथमिकता दिएर साम्प्रदायिक शोचको विरोधगर्नु आवश्यक हुन्छ । समाजमा ब्याप्त साम्प्रदायितालाई कमगर्न राजनीतिक दलहरुले नीति र सिद्धान्तमा आधारित राजनीति गर्नुपर्ने, विकास र सुशासनलाई जोड दिनुपर्ने र मतदाताहरु पनि आफ्ना उम्मेदवारहरुको क्षमता र एजेन्डाप्रति सचेत गराउनुपर्ने आवश्यकता छ । पछिल्लो समयमा नेपालमा अमेरिकीहरुले बिभिन्न पार्टीमा घुसपैठ गरेरमात्र नपुगी पार्टीनै खोलेर सञ्चालनगर्न थालिसकेको देखिएको छ । यहाँ विदेशी हस्तक्षेप बढेकै कारणले नेपालको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको अवस्था छ । नेपालमा पुराना र स्थापित राजनीतिक पार्टीहरुलाई बद्नाम गराउने र सकेसम्म राष्ट्रिय राजनीतिबाट किनारा लगाउने काम पनि उनीहरुलेनै गरिरहेका छन् । बिगत ५०–६० वर्षदेखि क्रियाशील पार्टीहरु हाल बद्नाम भएर असहज अवस्थामा पुग्नुको कारण पनि नेपालमा बढ्दो विदेशी हस्तक्षेप र पार्टीहरुमा उनीहरुको घुसपैठ बढ्नुनै हो । दलहरु बद्नाम हुनुको पछाडि जनताको कमजोरी होइन, दलका नेताहरुकै कमजोरी रहेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको संसदबाट पारित गराउन कुन कुन दलले कसरी भूमिका निर्वाह गरेका थिए ? भन्ने सबैलाई थाहा छ । आज तिनै दलहरु क्रमशः किनारा लाग्दैगएको पनि सबैले अनुभव गरेका छन् । जसको मुख्यकारण साम्राज्यवादी शक्तिसँगको संलग्नतानै हो । नेपालमा एमसीसी पारित भएपछि अमेरिकी सक्रियता र चासो बढेको छ । यो वैदेशिक हस्तक्षेपको स्पष्ट उदाहारण हो । यस्तो अवस्थामा देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षागर्न नेपाली जनतालाई जागरुक गराउनुपर्ने आवश्यकता रहेको छ । जसका लागि नेपाली समाजमा ब्याप्त गराइएको साम्प्रदायिक भावनालाई कम गराउन जनपक्षीय पार्टी र शक्तिहरुले भूमिका निर्वाह गरेको हुनुपर्दछ । देशको बिद्यमान संकट समाधानका लागि नेपाली विशेषताको राजनीतिक ब्यवस्थाको स्थापना हुनुपर्दछ । जसका लागि फेरी तेश्रो संविधान सभाको निर्वाचन गराएर बिधि र पद्धतिको प्रयोगद्वारा स्वतन्त्र र निष्पक्षरुपले नयाँ जनसंविधानको निर्माण गर्नु÷गराउनु सबैभन्दा उत्तम बिकल्प हुनसक्छ ।
यसअघि झण्डै साँढे आठ बर्षको समय र ३० अर्ब रुपैयाँ खर्च गरेर बनाइएको ०७२ को संविधान घोषणा भएको १० बर्ष बित्दा पनि पूर्णरुपमा कार्यान्यवन हुननसक्नुले धेरै कुराहरु स्पष्ट गरेका छन् । नेपालमा कतिपय पार्टीहरुले कम्युनिष्ट पार्टीले प्रयोगगर्ने शब्द र एजेण्डालाई उग्ररुपमा अगाडि सारेर त्यसको ठीक बिपरितका गतिबिधि गरेका कारण देश हालको अवस्थामा पुगेको हो । हालको अवस्थामा सबै पार्टीले आफ्नो पार्टीको बिचार, दर्शन र विधानलाई अक्षरस पालना गरेर अगाडि बढ्ने प्रयास गरेको खण्डमा साम्राज्यवादी हस्तक्षेपमा कमी आउनुकासाथै देशको राजनीति जनपक्षीय ढंगले अगाडि बढ्छ । बस्तुगत स्थितिको बस्तुगत बिश्लेषण र त्यसबाट प्राप्त निचोडका आधारमा अगाडि बढ्ने पद्धतिनै आजको आवश्यकता हो । जसप्रति सबैले यथासमयमै ध्यान दिनुपर्दछ ।