साम्राज्यवाद एउटा यस्तो नीति हो जस अन्तर्गत एक देशले आफ्नो सीमादेखि बाहिर गएर अरू देशहरू र प्रदेशहरूमाथि हस्तक्षेप गर्छ र त्यहाँ आफ्नो शासनको प्रभुत्व जमाउँछ, त्यसलाई साम्राज्यवाद भनिन्छ । यो हस्तक्षेप राजनीतिक, आर्थिक, सांस्कृतिक वा अन्य कुनै प्रकारको हुन सक्छ । यसलाई प्रत्यक्ष रूपले कुनै पनि क्षेत्रलाई आफ्नो राजनीतिक अधिकारमा लिनु र त्यस क्षेत्रका निवासीहरूलाई विविध अधिकारहरूले वञ्चित गर्नु हो । यसरी शक्तिको आडमा लिइएका देशका नियन्त्रित क्षेत्रहरूलाई साम्राज्य भनिन्छ । यसको उद्देश्य साना देशभित्र रहेका प्राकृतिक श्रोत र मानवीय संशाधन र आफ्नो उत्पादनले त्यस देशको बजारलाई एकछत्र कब्जामा लिनु हो ।
साम्राज्यवादद्वारा गाँजिएका मुलुकको पुँजी मात्र शोषण नगरेर आफ्नो हित अनुकुलको नीति कला संस्कृतिको विभिन्न रूपहरू निर्यात गर्दछ । उपनिवेश भोग्न बाध्य देशहरूको वास्तविक जीवन मूल्यको बिरुद्धमा र वर्गसङ्घर्षको बिरुद्धमा पुँजिवादी मूल्य मान्यतामा आस्रित बनाउने यसको विशेषता हो । जोसित हातहतियार हुन्छ उसले हतियारको भरमा साना राज्यहरूको स्वाधीनता नष्ट गरेर आफ्नो कब्जामा लिन्छ र आफ्नो भूभागमा मिसाउँछ वा तेस्रो राष्ट्रको केन्द्रमा हस्तक्षेप गरी उपनिवेश कायम गर्छ । साना तर प्राकृतिक सम्पदाले धनी राष्ट्रहरूको सम्पदालाई कब्जामा लिने साम्राज्यको अभिष्ठाले युद्ध पनि जन्माउँछ । हामीले सुनेका वा पढेका छौँ इतिहासमा कयौँ साँढे कहलिएका देशका शासकहरू साम्राज्यवादी थिए । विश्वको इतिहासमा बेलायत, फ्रान्स, पोर्चुगल, जापान एक जमानाका साम्राज्यवादी देशहरू थिए । हाम्रो छिमेकी देश भारतमा पनि मुगल साम्राज्यले एकीकृत गरेको र पछि बेलायतको उपनिवेश बनेको इतिहास छ ।
हाल युरोप महादेशमा रहेका २८ वटा राष्ट्रहरूको एउटा राजनीतिक तथा आर्थिक सङ्घ बनेको छ र सो सङ्घ साम्राज्यको नियमानुसार चलेको छ । जसमा आपसी प्रशासकीय साझेदारी हुन्छ र सो प्रशासन सङ्घभित्रका सबै राष्ट्रमा लागु हुने गरेको छ । छोटकरीमा यसलाई युइ (युरोपियन युनियन) भन्दछन् । युइको उदय सन् १९५७ मा रोमको सन्धिद्वारा युरोपियन आर्थिक परिषद्को माध्यमबाट युरोपियन देशहरूको आर्थिक समर्थनले निर्णय गरेको थियो । त्यसबेलादेखि हालसम्म युइ सङ्घमा जोडिने राष्ट्रहरूको सङ्ख्या बढ्दै गएको छ । सङ्घले अहिलसम्म आफ्नो नीति तथा नियमहरूमा परिवर्तन गर्दै सुधार जारि राखेको छ जसको फलस्वरूप यो सङ्घ दृढ बन्दै गएको छ । साम्राज्यवाद दास युगदेखि चल्दै आएको शासन पद्दती हो । साम्राज्यवादले खाली राज्यमाथि अतिक्रमण मात्र गर्दैन उसले शिक्षा, धर्म र संस्कृतिभित्र पनि लादेर अठ्याइरहन्छ । दासयुगमा मानिसमाथि शासन गर्ने एउटा अन्यायपूर्ण रूप थियो तर आजको कथित आधुनिक युगमा मानिसलाई गलामा फलामको सिक्रीले बाँधेर उही रूपमा साम्राज्यवादी र तिनका एजेन्टहरू जनतामाथि शासन त गरेका छैनन् तर सारतः अन्याय र शोषणको नयाँ–नयाँ तरिकाहरू विकास गरिएका छन् । माक्र्सवादको उदयपूर्व साम्राज्यवादले भूगोल र त्यहाँ आश्रित जनतामाथि आफ्नो हैकम थोप¥यो जब माक्र्सवादको जन्म भयो अनि ऊ विचारमाथि हमला गर्न थाल्यो । नेपालमा अस्तित्वमा आएको माक्र्सवादी मान्यतामाथि २०१७ सालदेखि हमला हुँदै आएको छ । यसअघि ऐतिहासिक कालखण्डमा खस साम्राज्य र सेन साम्राज्यले उपत्यका बाहिर धेरै वर्ष शासन ग¥यो । पृथ्वीनारायण शाहले अस्तित्वमा रहेका बाइसे चौबिसे राज्यको स्वाधीनतामाथि आक्रमण गरेर गोरखा राज्यमा गाभे । शाही इतिहासकारहरू यो कामलाई एकीकरणभन्दछन् राष्ट्रनिर्माता पनि बनाइए तर वास्तवमा यो साम्राज्यवादको नमुना नै हो ।
इतिहासको एउटा कालखण्डमा मध्य तथा पश्चिम एशियाका सयौँ देशहरूमा अलेकजेण्डर तृतीयले सैनिक आक्रमण गरे । विश्व इतिहासमा उनी साम्राज्यवादी शासक हुन । नेपालको इतिहासमा पृथ्वीनारायण शाहलाई पनि साम्राज्यवादी शासक मान्नु पर्दछ । पृथ्वीनारायणले एकीकरण गरेपछि उनका सन्ततीले भाषा धर्मको नाममा साम्राज्यवादी हैकम नै चलाए । पूर्वका राई, तामाङ र पश्चिमका मगर, गुरुङहरूको भाषा संस्कृती लोप नै हुनेगरी शासनसत्ता लादियो । हिन्दू खस बाहुनहरूले मान्दै आएका सांस्कृतिक र धार्मिक पर्व स्वीकार्न बाध्य पारियो । जनजातिका घरघरमा ब्राह्मण पुरोहित उभ्याइयो । बाह्य मुलुकको हस्तक्षेप जस्तै आफ्नै मुलिकभित्र आफ्नो मौलिकता गुम्यो, गुमिरह्यो अहिले देखा परेका पहिचानको आन्दोलन त्यही संक्रमणको बिरुद्ध हो भनेर बुझ्नु पर्दछ ।
सुगौली सन्धिपछि नेपालको परराष्ट्र नीतिमा परिवर्तन भयो । नेपालमा अङ्ग्रेज दुत र पादरीहरू रहने भए । यिनीहरूले आन्तरिक राजनीतिमा हात हाल्न थाले, गुप्तचरी गरिन थालियो । नेपालले अङ्ग्रेजको अनुमतिबेगर कुनै पनि युरोप र अमेरिकीसँग सम्बन्ध राख्न नपाउने (सुगौली सन्धि, धारा ७) भयो । त्यसैगरी धारा ६ मा नेपाल र सिक्किमबिच सीमा विवाद भएमा अङ्ग्रेजले मध्यस्थता गरी समाधान गर्ने प्रावधान राखियो जुन आपत्तिजनक थियो र छ । त्यो बेलादेखि नेपाल अङ्ग्रेजको स्वार्थमा प्रतिकूल प्रभाव नपर्ने स्तरमा मात्र स्वतन्त्र रहन गयो । नेपालको आत्मनिर्णयको अधिकार नियन्त्रित भयो । राणाकाल र शाही शासनकालभर यो स्थिति लागू भैइरह्यो । विकास वा सेवाका नाममा ख्रिचियन मिशनको प्रभाव र नयाँ शिक्षाको नाउँमा पश्चिमा शिक्षाको प्रवेश यसका उदाहरण हुन् । अझ पछिल्लो काल अर्थात समकालीन अवस्थामा शिक्षा, स्वास्थ्य उपभोग्य वस्तु र संस्कृतिमाथि साम्राज्यवादको ठाडो हस्तक्षेप भएको नेपाली जनताले अनुभूत गरिरहेकै छन् । यस बाहेक मिडिया र सांस्कृतिक उत्पादनहरूको निर्यात र प्रसारको माध्यमबाट धनी तथा प्रभावशाली राष्ट्रहरूका प्रभाव गरिब राष्ट्रहरूमा पार्न खोजिन्छ । सामान्यतया आर्थिकरूपमा विकसित देशहरूबाट तिनीहरूको मूल्य, मान्यता र विचारधाराहरू हरेक रूपबाट कमजोर रहेका राष्ट्रहरूमाथि नियन्त्रण र प्रभाव जमाउन खोजिन्छ । यो सिद्धान्तले धनी राष्ट्रहरूबाट चलचित्र, टेलिभिजन कार्यक्रम, सङ्गीत, साहित्य र यहाँसम्म कि विज्ञापन जस्ता सांस्कृतिक उत्पादनहरूको प्रवाहद्वारा गरिब राष्ट्रहरूका समाजको सांस्कृतिक पहिचान र अभ्यासहरूलाई आफ्नो स्वार्थानुरूप रूपान्तरण गर्न खोजिन्छ । अहिले चलिरहेको रुस युक्रेन युद्ध वा प्यालेस्टायन र गाजामाथिको हमला साम्राज्यवादको पछिल्लो उदाहरण हुन् ।
साम्राज्यवाद साना राष्ट्रहरूमाथिको एक खतरनाक महारोग हो । प्राकृतिक सम्पदाले पूर्ण साना मुलुकहरूमाथि जाइलाग्न हातहतियारको प्रचुर उत्पादन, सैन्य क्याम्पको विस्तार र औद्योगिक उत्पादनमाथिको एकल वर्चस्वको आडमा साम्राज्यवाद ¥याल छाडेर प्रवेश गर्छ । नेपालमा एमसीसी वा आइपीएस, अमेरिकी सैन्य परियोजना यसैको उदाहरण हो । अन्य साना राष्ट्रहरूमा सैनिक क्याम्प राख्नु अमेरिकाको साम्राज्यवादी हर्कत हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । अझ पछिल्लो पटक डोनाल्ड ट्रम्पको अमेरिकी सत्तामा पुनरागमनपछि साना र कम विकशित मुलुकमाथिको सहयोग रोक्काले थप सशंकित बनाएको छ । अहिले इजरायलले प्यालेस्टायिनी भूभागमाथिको निर्मम आक्रमणका साथै इरानमाथि गरिएको साम्राज्यवादको पछिल्लो ज्यादती हो । यसप्रकार कुनै पनि देशको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, जनताको स्वाभिमान, सुदृढ अर्थतन्त्र, स्वतन्त्र राजनीतिको दिशामा साम्राज्यवाद नै बाधक रहने गर्छ । लेनिनले भनेजस्तै ‘पूँजीवाद आफ्नो उच्च बिन्दुमा पुग्नका लागि’ राजनीतिक, आर्थिक, सांस्कृतिक रूपमा आफुभन्दा कमजोर मुलुकहरूमा दादागिरि देखाउने गर्दछ । कमजोर मुलुकहरूको सानो मात्रामा रहेको आत्मनिर्भर अर्थतन्त्रलाई ध्वस्त पार्दै दलाल पूँजीको हालीमुहाली बढाउँदै लान्छ । त्यसकारण त्यसप्रकारका साम्राज्यवादी मुलुकहरूको स्पष्टरूपमा पहिचान गर्दै उनीहरूको बिरुद्धमा आन्दोलन घनिभूत गर्नु महत्वपूर्ण विषय हुनुपर्दछ । नेपाललाई साम्राज्यवादको घेराबाट जोगाउनु पर्दछ ।





























