काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि बालेन्द्र साह नेतृत्वको सरकारले गरेको फासिवादी बर्बर दमनका विरुद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले नारा जुलुससहित विरोध प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शनको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीस, पीवीएमहरु दिनेश शर्मा सागर, चिन्तामणि पौडेल, सुरेश श्रेष्ठ, नेकपा (बहुमत)का प्रवक्ता उदयबहादुर चलाउने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका पीवीएम राजकुमार हिङमान, नेकपाका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख अर्जुन कार्की लगायतका नेताहरुले गर्नुभएको थियो ।
बिजुली बजार पुलबाट निकालिएको जुलुस माइतीघर मण्डलामा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, नेकपा (बहुमत)का प्रवक्ता उदयबहादुर चलाउने दीपक, वैज्ञानिक कम्युनिस्ट पार्टी नेपालका पीवीएम राजकुमार हिङमान, नेकपाका सचिवालय सदस्य अर्जुन कार्की र क्रान्तिकारी संयुक्त मोर्चाको तर्फबाट लोकनारायण सुवेदीले सम्बोधन गर्नुभएको थियो ।
विरोध प्रदर्शनमा सुकुम्बासीमाथि भएको बर्बर फासीवादी राज्य आतंक बन्द गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, एमसीसी सम्झौता खारजे गर, भत्काइएका सुकुम्बासीको घरटहराको क्षतिपूर्ति दे, बढ्दो महंगी नियन्त्रण गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, जनताको अधिकार सुनिश्चित गर, भारतीय विस्तारवाद मूर्दावाद, सन् १९५० लगायतका असमान सन्धिसम्झौता खारेज गर लगायतका नाराहरु लगाइएका थिए ।

कार्यक्रमको सञ्चालन सायाकिरणले गर्नुभएको थियो ।







































