काठमाडौं । ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई क्षतिपूर्तिसहित पुनर्वासको ग्यारेण्टी गर’ भन्ने मूल नाराका साथ संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आयोजनामा माइतीघर मण्डलामा बिहीबार विरोध प्रदर्शन गरियो ।

देशैभर बालेन्द्र साह सरकारले मच्चाएको डोजर आतंकका विरुद्ध आयोजित विरोध प्रदर्शनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले ‘जबर्जस्ती उठिबास बन्द गर, डोजर आतंक बन्द गर, बालेन सरकार चाहिँदैन, डोजर लाउन पाइदैन, संविधानको उलंघन गर्ने सरकार चाहिँदैन, ठाउँ सरकारको, जनता कसको ?, मानव अधिकारको सम्मान गर, घर होइन अन्याय भत्काऊ, हाम्रो भोट फिर्ता गर, नालायक सरकार चाहिँदैन, बालेन सरकार मुर्दावाद, सूचना सूचना सूचना मानव अधिकार हराएको सूचना, ज्यानमारा बालेन सरकार मुर्दावाद, होल्डिङ सेन्टर धोका हो, हामी उठिबास स्वीकार्दैनौं’ लगायतका नाराहरु लगाएका थिए ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव अर्जुनजंग कुँवरले सञ्चालन गरेको विरोध प्रदर्शनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (मसाल), नेपाली कम्युनिस्ट पार्टी लगायत ६ वटा किसान संगठनले ऐक्यवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा जेनजी एलायन्स लगायत विभिन्न अभियन्ताहरुले पनि सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा भूमि आयोगका पूर्व अध्यक्ष, उपाध्यक्ष लगायत मोर्चाका अध्यक्ष लगायतका वक्ताहरुले देशका विभिन्न स्थानमा भइरहेको ‘डोजर आतंक’ र ‘संस्थागत हत्या’को विरोध गर्दै सुकुम्बासी बस्तीहरूमा उचित व्यवस्थापन र वैकल्पिक आवासको सुनिश्चितता नगरी डोजर चलाएर उठिबास लगाइएकोमा चर्को विरोध गरेका थिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै जबर्जस्ती बस्ती हटाउने कार्य तत्काल रोक्न, सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न तथा प्रभावित परिवारलाई सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका थिए।






























