गास, बास र कपास मानव अधिकार हो ! सुकुम्बासीमाथिको दमन फासीवाद हो !!
सुकुम्बासी तथा आम जनसमुदाय !
बालेन्द्र शाह नेतृत्वको सरकारले सपथ खाएको भोलिपल्टैदेखि फासीवादी शैली अपनाएको कुरा सर्वविदितै छ । वैशाख १२ गतेदेखि भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासी बस्तीहरूमा काठमाडौँको थापाथलीबाट चलाइएको डोजर आतङ्क अदालतको आदेश आउने दिनसम्म जारी रह्यो । यसरी वैकल्पिक व्यवस्था नगरिकन किन सुकुम्बासी बस्तीमा डोजर लगाएको भनी सोधिएको जनताको प्रश्नको उत्तरमा सरकार भन्छ, “सरकारी जग्गा अतिक्रमण गरी बसेकोले ।” आम जनताले पुनः प्रश्न गरेका छन्, “के सुकुम्बासीहरु नेपाल सरकारका जनता होइनन् ?” सरकारले यसको कुनै जवाफ नदिई देशभरि सुकुम्बासी बस्तीहरुमा डोजर चलाइरह्यो । आज आएर अदालतले सुकुम्बासी बस्तीहरुमा डोजर नचलाउन आदेश गरेको स्थिति छ ।
सुकुम्बासी को हुन् ? आज हामीले त्यसको परिभाषा गर्नुपर्ने बेला आएको छ । घरबारविहीन, भूस्वामित्वविहीन, उत्पादनका साधनहरुबाट वञ्चित र श्रम गरेर पनि खान नपुग्ने शहर तथा खोला किनारको सरकारी जग्गामा झुपडी बनाएर बस्न विवस मानिसहरु नै सुकुम्बासी हुन् । के ती ठाउँमा उद्योग तथा कारखाना सञ्चालन गरिएको र ती सुकुम्बासीलाई क्षमता अनुसारको रोजगारी दिइएको भए त्यहाँ आश्रय लिन्थे ? नेपालमा नवउदारवादी अर्थतन्त्रको उदयसँगै सीमित औद्योगिक क्षेत्रहरूको पनि बन्ध्याकरण गरियो र रोजगारीका लागि नेपालीहरुले अन्तर्राष्ट्रिय श्रम बजारमा श्रम बेच्नुपर्ने बाध्यता भयो । विदेशमा श्रम बेच्ने समेत पहुँच नभएका सुकुम्बासीहरु खोला छेउमा टहरा बनाएर बस्न र शहरमा काम खोज्न बाध्य भएका छन् । दलितहरू त युगौंदेखि सुकुम्बासी छन् नै । भूमि समस्या व्यवस्थापन आयोगका अनुसार नेपालमा सुकुम्बासीहरूको सङ्ख्या ११ लाख २९ हजार रहेको छ ।
न्यायप्रेमी जनसमुदाय !
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुकुम्बासीहरूको तर्फबाट सरकारलाई के भन्न चाहन्छ भने नेपालमा लाखौं नागरिकहरु आज पनि भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासी जीवन बिताउन बाध्य छन् । यो उनीहरूको रहर होइन । एकातिर पुस्तौंदेखि श्रम गरेर देश निर्माणमा योगदान गरेका किसान, मजदुर, दलित, विपन्न र सीमान्तकृत समुदाय अझै पनि सुरक्षित आवास र जग्गाको अधिकारबाट वञ्चित छन् भने अर्कोतिर हजारौँ बिघा जमिन सीमित दलाल, माफिया, ठुला भूस्वामी र गुठीकोे कब्जामा रहेको छ । गरिब जनता सडक, खोला किनार, पहिरो जाने पहाडको धराप मुनि र वन क्षेत्रमा बस्न बाध्य छन् । यो आवासको मात्र समस्या होइन, यो त सामाजिक न्याय, समानता र मानव अधिकारको प्रश्न हो । यसका साथै यो समुदाय बेरोजगार भएर थुप्रिएको सामाजिक रुपान्तरणको जगेडा शक्ति हो । त्यसका लागि यहाँ राष्ट्रिय उद्योग तथा कलकारखानाको पुनस्र्थापना र विकास गर्न आवश्यक छ ।
वैज्ञानिक भूमिसुधार कार्यक्रम लागु नहुनु र भूमिको असमान वितरण, अव्यवस्थित सहरीकरण, गरिबी र वास्तविक सुकुम्बासीको पहिचानमा राजनीतिक तथा आर्थिका बिचौलियाहरुको अवरोध र राज्यको दीर्घकालीन नीतिको अभाव हुनु सुकुम्बासी समस्याका कारण हुन् । यसको तत्कालीन समाधानका लागि : क) राजनीतिक पहुँच र दलालीका आधारमा होइन, वास्तविक सुकुम्बासी पहिचान गरी तिनलाई परिचय पत्र दिन, ख) हरेक सुकुम्बासीलाई सम्मानजनक बसोबास र जीविकोपार्जन सुनिश्चित गर्न, ग) लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई सो जग्गामा कानूनी स्वामित्वको प्रमाणपत्र प्रदान गर्न, घ) वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती उठीबास नगराउन र ङ) अर्को व्यवस्था नहोउन्जेल, होल्डिङ् सेन्टरमा राखिएका सुकुम्बासीहरुका लागि पर्याप्त खाना, स्वस्थ्यकर पानी, स्वास्थ्योपचार र स्कुले बच्चा–बच्चीहरुको पठन–पाठन जस्ता आधारभूत सुविधा उपलब्ध गराउन हाम्रो पार्टी नेपाल सरकारसँग माग गर्दछ ।
मिति : वैशाख २८, २०८३ केन्द्रीय कार्यालय
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल





























