शनिबारीय साहित्य ः कविता
*** ***
कहिले ह+ह छाप भ्रष्ट
र घण्टी छाप भ्रष्ट मिल्छन्
अनि रुख र घाम छाप भ्रष्टहरूलाई
सोत्तर पार्न भनेर थाल्छन्
एकाथरीलाई त्यो पनि रमाइलै लाग्छ ।
कैले फेरि रुख र घाम छाप भ्रष्टहरू
रातारात मिल्छन्
र घण्टी र ह+ह छाप भ्रष्टहरूलाई
पत्तासाफ बनाउने भनेर थाल्छन्
अर्काथरीलाई यो पनि रमाइलै लाग्छ ।
हामी सास फेरिरहेका लासहरू
छाप छापका भ्रष्टहरूको
ह्याकुलाको झगडालाई
भ्रष्टाचार उन्मुलन उत्सव बुझ्छौं
र जयजयकार गर्न पुग्छौं ।
केही चोक्टा ब्रोइलरको मासु
र केही घुड्को खोयाबिर्केमा बिकेर
हामी जनता जनार्दनहरू पनि
छाप छापका मतियारमा बदलिएका छौं
छाप छापका हतियारमा बदलिएका छौं ।
हामी बिक्री भैसकेका मालहरूलाई
आफ्नो छापको भ्रष्ट भनेपछि
संसारकै सदाचारी सन्तझैं लाग्छ
अगर बत्तीझैं बसाउँछ
अनि फरक छापको भ्रष्ट
सानो र सिकारु नै छ भने पनि
संसारकै मस्ट वान्टेड अपराधीझैं लाग्छ
डुङ्डुङ्ती गन्हाउँछ
र वान्ता आउन खोज्छ ।
हामी चार पैसे पत्करहरूलाई
आफ्नो छापका यौन दुराचारी र बलात्कारीहरू
कलियुगका साक्षत कृष्णजीझैं लाग्छ
खुट्टै ढोगौं ढोगौं
या लपक्कै टाँसिऔं टाँसिऔंझैं लाग्छ
अनि अरू छापका त्यस्तैहरू
तत्कालै फाँसी दिनुपर्ने खाले लाग्छ ।
देश कहिले
कुन छापका भ्रष्टहरूले चलाउँछन्
कहिले अर्कै छापकाले चलाउँछन्
कहिले मिलिजुली चलाउँछन्
हामी गोब्रे दिमागका दोपायाहरूलाई
एउटा भ्रष्टबाट अर्को भ्रष्टले सरकार खोसेको घटना
अक्टोबर क्रान्तिभन्दा भयानक लाग्छ ।
हामी हल्लुँडहरूले
बेस्मारी गाली गरिरहेका नेताहरू
आकासबाट खसेका
अनिष्टकारी उल्कापिण्ड पनि होइनन्
र धरती फोरेर निस्केका
ज्वालामुखी पनि होइनन्
बरु ती त
हाम्रै सामाजिक गर्भबाट जन्मेका
र हामीले नै पुल्पुल्याएर
मताएर, छुट दिएर र हौस्याएर बिगारेका
हाम्रै सोचका सन्तानहरू हुन् ।
हामी छाप छापका ग्वाँचहरूले
आफ्नै मुख पटक पटक नलोपारेसम्म
कसैलाई गाली गर्ने नैतिक अधिकार छैन
र त्यसरी गरिएको गाली
ध्वनि प्रदुषण बढ्नुभन्दा बढी
केही हुने वाला पनि छैन ।
२०८१ पुस १८
सिनामंगल