बिनोद चौधरीको कम्पनी हिमाल हाईड्रोबाट भुक्तानी नपाएको श्रमिकको गुनासो !

बिनोद चौधरीको कम्पनी हिमाल हाईड्रोबाट भुक्तानी नपाएको श्रमिकको गुनासो !

नवलपरासी – अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघ जिल्ला समिति पश्चिम नवलपरासीले मजदुरहरुको पारिश्रमिकको बक्यौता रकम भुक्तान गर्न उद्योगपत्ति बिनोद चौधरीलाई आग्रह गरेको छ ।
महासंघले शुक्रवार बर्दघाटमा पत्रकार सम्मेलन गरेर मजदुरहरुको बक्यौता रकम तत्काल भुक्तान गर्न आग्रह गरेको हो ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट महासंघले हिमाल हाईड्रो एण्ड जनरल कन्ट्रक्सन लि.ले १३८ जनाले दुई करोड रुपैया बढी रकम पाउनुपर्ने भन्दै उक्त रकम दावी गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा पीडित मजदुरको तर्फबाट महासंघका केन्द्रीय सदस्य भिमलाल काफ्लेले पटक पटक ताकेता गर्दा समेत चौधरीको कम्पनीले भुक्तानी नदिएको बताउनुभयो । हामी पुराना कामदार कर्मचारीहरुले त्यो सानो कम्पनीलाई खुन पसिना बगाएर , तीसौं बर्ष मेहेनत गरेर ठुलो बनाउन सफल भएका थियौ –पत्रकार सम्मेलनमा भावबिह्वल हुदै मजदुर नेता काफ्लेले भन्नुभयो –हामीले पाउनुपर्ने ३ महिनाको तलब त पाइयो तर हाम्रो बचतमा रहेको जस्तै उपदान, संचय कोषमा जम्मा भएको रकम कागजी प्रक्रिया मिलाएर असार मसान्तभित्रै मैले खातामा राखिदिन्छु भनि कम्पनीबाट मौखिक सहमति भएको थियो । बि.स २०७५ साल असार मसान्तमा पाउनुपर्ने रकम निरन्तर संर्घष गर्दै आउदाँ समेत अझै सम्म पाउन नसकेको काफ्लेको भनाई छ ।
बि.स.२०४५ सालदेखि २०७५ साल सम्म ३० बर्ष लगातार काम गरेको श्रमिकहरुलाई बक्यौता नदिने चौधरी पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेको सुनेर आफूहरुले रकम पाउने आशामा पत्रकार सम्मेलन गरेको काफ्लेले जानकारी दिनुभयो ।
बि.स. २०७६ कार्तिक ५ गते श्रम कार्यालयको रोहवरमा हिमाल हाइड्रो लि.को तर्फबाट सि.ई.ओ.पूजा दाहाल, फाईनान्स म्यानेजर अर्जुन शर्मा र नारायण श्रेष्ठ र निवेदकहरुको तर्फबाट भिमलाल काफ्ले, सीपबहादुर भण्डारी, बासु भट्टराई, सोम प्रसाद बजगाई, मंगलसिंह तामाङ, भोज बहादुर मगरलगायत ३५ जना बीचमा २०७६ माघ मसान्त सम्म सबै भुक्तानी दिने भनी हस्ताक्षर गरिएको उहाँले बताउनुभयो ।
बि.स. २०७६ साल चैत्र ३ गते श्रम कार्यालयले ३५ दिने सूचना जारी गर्दै कम्पनीलाई ताकेता गरेको र त्यसपछि लकडाउनको बाहना बनाई डेढबर्ष सम्म कम्पनीबाट कुनै पनि सम्पर्क नगरेको काफ्लेले बताउनुभयो । पत्रकार सम्मेलनमा मजदुरहरुले गरेका संर्घषका कार्यक्रम सहितका बिभिन्न चरणका सहमतिहरु समेत सार्वजनिक गरिएको थियो । अब हामी निर्णायक बिन्दुमा समेत चुप लागेर बस्यौ भने हाम्रो रगत पसिनाको बक्यौता रकम उठ्दैन भन्ने लागेर हामीले संर्घषको तयारी गरेका हौं– काफ्लेले पत्रकारहरुको प्रश्नको जवाफ दिदै भन्नुभयो – अब देशैभर मात्र होइन यहाँको चोक चोकमा मजदुरहरुको माग लिएर भण्डाफोर लैजान्छौ । कोणसभाहरु गर्छाै ।
काफ्लेले आफूहरुले चौधरीको कम्पनीबाट पाउनुपर्ने रकम दिलाइदिन पत्रकार,बुद्धिजिवी, अन्तराष्ट्रिय श्रमिक मञ्च तथा राजनैतिक दलहरुलाई अपिल समेत गर्नुभएको थियो ।