सङ्गठन र सङ्घर्षमा चितवन

सङ्गठन र सङ्घर्षमा चितवन

संस्मरण

(नारायण शर्मा ‘विपिन’द्वारा लेखन, सङ्कलन र सम्पादन गरिएको हालै प्रकाशित पुस्तक ‘रगतले इतिहास लेख्नेहरु’बाट गत हप्ता उहाँको लखेन रहेको सङ्गठन र सङ्घर्षमा चितवन शीर्षककोलेखको पछिल्लो भागको केही अंश प्रकाशित गरेका थियौँ । त्यही लेखको बाँकी अंशको अगाडिको भाग आज प्रकाशित गरेका छौँ । – सम्पादक)

चितवन, जहाँ सिराईचुलीले घाम झुल्कदाँको रोमाञ्च दिन्छ भने गोलाघाटले घाम अस्ताउँदाको आनन्द । दुवै दृश्य मान्छेलाई उत्तिकै प्रिय लाग्छन् । उदाउनु र अस्ताउनुको पनि आ–आफ्नै सौन्दर्य छन् । वरिपरि पहाडका गारो लगाएर बिचमा थपक्क बसेको चितवन; जति शान्त, सुन्दर र रमणीय छ; त्यति नै सुन्दर यसको सङ्घर्ष र बलिदानको गाथा पनि छ । नारायणी, लोथर, राप्ती, कयर, खगेरी र रेवा (रिउ) खोलाले सिँचाइ गरेको भन्दा कम छैन; चितवनका छोराछोरीले आफ्नो रगत र पसिनाले सिँचाइ गरेको इतिहास पनि । निकुञ्ज, नदी, ताल, सहर, खेत, गाउँ, बस्तीको सौन्दर्यभन्दा कम सुन्दर छैन; बलिदानको इतिहास पनि । चितवनको राजनीतिक सङ्घर्षको इतिहास धेरै गहन छ । चितवनको बस्ती विकासको पनि आफ्नै सङ्घर्षको इतिहास रहेको छ । सांस्कृतिक पृष्ठभूमिमा चितवन नियाल्दा झनै गौरवपूर्ण देखिन्छ । भौगोलिक स्थितिले मात्रै हैन सांस्कृतिक, राजनीतिक र आर्थिक सबै हिसाबले चितवनले आफूलाई केन्द्रमा राख्ने कोसिस गर्दै आइरहेको छ ।

वि.सं. २०१२ मा राप्ती उपत्यका विकास योजनासँगै औलो नियन्त्रण, बस्ती विकास, सडक, सिँचाइ, सहकारी, शिक्षा र स्वास्थ्यसम्बन्धी कार्यक्रम लागू हुँदै गए । सोही परियोजनाअन्तर्गत बस्ती विकासका काममा सक्रिय थिए – बखानसिंह गुरुङ (वि.सं. १९६५–२०४०) । बखानसिंहका छोरा धर्मध्वज २००७ सालको आन्दोलनमा बन्दीपुरमा सहिद भएका थिए । स्वाभाविकै रूपले नेपाली काङ्ग्रेससँग बखानसिंहको भावनात्मक सम्बन्ध थियो । तिनै बखानसिंहलाई काङ्ग्रेसले सङ्गठन निर्माणमा परिचालन गर्‍यो । नेपाली राष्ट्रिय काङ्ग्रेसका संस्थापक एवम् २००४ सालको विराटनगर जुट मिल हडतालको धर्ना टोलीका एक अगुवा कमलकुमार राई सङ्गठन निर्माणको जिम्मा लिएर चितवन आएका थिए । बखानसिंहको पछि लागेर लमजुङ, तनहुँ, गोर्खातिरका लाहुरे पृष्ठभूमिका जनजातिहरू चितवन झर्दै थिए । बसाई–सराईको यो लर्कोमा जनजाति सँगसँगै अन्य जातिहरू पनि थपिए । राईले राजनीतिक सङ्गठनमा आफूपछि लागेर बखानसिंह गुरुङलाई अघि लगाए । बखानसिंह गुरुङ अध्यक्ष र कमलकुमार राई सचिव रहेको नेपाली काङ्ग्रेस चितवन जिल्ला समिति गठन भयो । २०१३ साल फागुनमा गठित यो सङ्गठन नै चितवन जिल्लाको पहिलो राजनीतिक सङ्गठन मानिन्छ । बखानसिंह गुरुङ २०३७ सालको जनमत सङ्ग्रहका बेला पार्टीमा अन्तरविरोध भएपछि पञ्चायततर्फ लागे र पछि मन्त्रीसमेत भए । चितवनको बस्ती विकाससँगै राजनीतिक सङ्गठनहरूले आकार लिन थाले ।

पूर्वी चितवनमा “हरियो वन फाँड्नै पर्छ, जङ्गली जन्तु खेद्नै पर्छ” भन्ने जनसङ्घर्षका नेता किशोरचन्द्र ढुङ्गाना सुरुमा लाल कम्युनिस्ट पार्टीका सदस्य थिए । हेटौँडा निवासी लाल कम्युनिस्ट पार्टीका नेता षडानन्द उपाध्यायले ढुङ्गानालाई पार्टी सदस्यता दिएका थिए । तर ढुङ्गाना पछि काङ्ग्रेस पार्टीमा सङ्गठित भए । काङ्ग्रेसकै तर्फबाट ढुङ्गाना २०१८ सालमा खैरहनी गाउँ पञ्चायतका प्रधानपञ्च र २०१९ सालमा चितवन जिल्ला पञ्चायतका सभापति चुनिए । कम्युनिस्ट पार्टीका गौरीभक्त प्रधान २००८ सालमै चनौलीमा आएर बसेका थिए । आधिकारिक दस्तावेज यही हो भन्न अप्ठ्यारो छ । अध्ययन, अनुसन्धानमा संलग्न कतिपयले पुण्यप्रताप राणा सचिव रहेको चितवन जिल्ला समिति २०१६ साल जेठमा गठन भएको लेखेका छन्, तर चितवनको कम्युनिस्ट आन्दोलनका एक अग्रज व्यक्तित्व यमुनाप्रसाद न्यौपानेका अनुसार चितवनको पहिलो सचिव गौरीभक्त प्रधान नै हुन । पुण्यप्रताप राणाले समेत न्यौपानेसँगको कुराकानीमा स्वीकार गरेको कुरा यमुना न्यौपानेले मसँग भएको विभिन्न संवादमा बताउनुभएको हो । सो समितिमा प्रधानसहित पुण्यप्रताप राणा, जगतबहादुर श्रेष्ठ र गुणबहादुर घले हुनुहुन्थ्यो । ॅगौरीभक्त प्रधान पार्टीको केन्द्रीय तहमा रहेका र चीन गएर गुरिल्ला तालिमसमेत लिएका थिए’ भनिन्छ तर उनी कुशल सङ्गठक थिएनन् । चितवनको कम्युनिस्ट पार्टीलाई आकार दिने काम भने पुण्यप्रताप राणाले नै गरे । उनी काठमाडौ जिल्लाको कार्यालय सचिवको भूमिका निर्वाह गरिसकेका थिए । गठन भएको छ महिना नबित्दै कात्तिक महिनामा नै जिल्ला समिति पुनर्गठन भयो र पुण्यप्रताप राणा सचिव भए । उक्त समितिमा पुण्यप्रताप राणा, गौरीभक्त प्रधान, जगतबहादुर श्रेष्ठ, मदनमोहन जोशी र गुणबहादुर घले थिए । यिनै व्यक्तिहरूलाई नै चितवनको कम्युनिस्ट पार्टीको संस्थापक सदस्य मानिन्छ ।

सङ्घर्ष र बलिदान

राजनीतिक सङ्गठन निर्माणसँगै राजनीतिक सङ्घर्षहरूमा इतिहासका पानाहरू ओगट्ने गरी चितवनले आफ्नो सहभागिता जनाउँदै आएको छ । राष्ट्रिय राजनितिका कैयौँ अध्याय चितवनका छोराछोरीले आफ्नो रगतले लेखेका छन् तर हाम्रो विडम्बना नै भनौँ कि के भनौँ इतिहासमा राज्यसत्ता विरुद्ध भएका सबैखाले सङ्घर्षहरू, जस्तै : तिनमा भएका बलिदानहरू पनि एउटा निश्चित राजनीतिक दलको जस्तै बन्न पुगेका छन् । इतिहासमा भएका सबै न्यायपूर्ण आन्दोलन र सङ्घर्ष, चाहे शान्तिपूर्ण होऊन् वा हिंसात्मक, राज्यसत्ता विरुद्ध भएका सङ्घर्षहरू जनताका सङ्घर्ष र बलिदानको रूपमा बुझ्न जरुरी छ । काङ्ग्रेस नेतृत्वको सङ्घर्ष – काङ्ग्रेसका सहिद, कम्युनिस्ट नेतृत्वको सङ्घर्ष – कम्युनिस्टका सहिद । कम्युनिस्ट पार्टीहरूमा माले–मशाल हुँदै माओवादीका छुट्टाछुट्टै सहिदहरूको सूची लामो छ । सङ्घर्षको नेतृत्व गर्ने राजनीतिक दलहरूसँग विमति हुनसक्दछ । आन्दोलनको उपलब्धिप्रति पनि फरक मत हुन सक्छ तर राज्यसत्ता विरुद्ध सङ्घर्ष गर्नेक्रममा भएका बलिदान र सहादतहरूको सम्मान नगरी राजनीतिक आन्दोलन ठिक निष्कर्षमा पुग्न सक्दैन ।

सशस्त्र सङ्घर्षमा चितवन

संसारभरिको इतिहास मुख्यतः सशस्त्र सङ्घर्षको इतिहास हो । नेपालको इतिहास र भूगोल रगतले नै धर्सो कोरिएको छ । रगतले कोरिएका तर आँखाले नदेखिने तिनै धर्साहरूले चितवनको नक्सा कोरेको कुरा थाहा नपाउनु भनेको आफ्नो पैताला कहाँ टेकिरहेको छु भनेर थाहा नपाउनुजत्तिकै हो । इतिहासका रोमाञ्चकजस्ता लाग्ने घटनाहरू आफ्नो समयका व्यवस्था र शासकहरूको चरम दमन, यातना र षड्यन्त्रका विरुद्ध ज्यानको बाजी राखेर हाम्रा अग्रजहरूले आफ्नो रगतले लेखेको इतिहास हो । नेपाली राजनीतिक इतिहासमा सशस्त्र सङ्घर्षको क्षेत्रमा चितवनले आफ्नो भूमिका रगतले लेखेको छ ।

२००७ सालको आन्दोलन/क्रान्ति र चितवन

नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको राणा शासन विरोधी आन्दोलनताका चितवनमा काङ्ग्रेसको सङ्गठन बनेकै थिएन । तरपनि तत्कालीन चितवन जिल्लाका मुख्य प्रशासनिक केन्द्रहरू, भन्सार नाका ठोरी, हिउँदे सदरमुकाम झुवानी र सदरमुकाम उपरदाङगढी मुक्तिसेनाले कब्जा गरी जनसरकारसमेत गठन गरेको थियो । राणा शासनको अन्त्यसँगै नेपाली काङ्ग्रेस विद्रोही शक्तिबाट सरकारको नेतृत्व गर्ने स्थितिमा पुग्यो । यो घटनाले चितवन जिल्लामा काङ्ग्रेसको राजनीतिक विचारलाई प्रचारित गर्न र सङ्गठनको आधार तयार पार्न मद्दत पुग्यो । राजनीतिक चेतना न्यून रहेको चितवनमा राजनीतिक चेतनाको तरङ्ग प्रवाह हुन थाल्यो । यद्यपि कृष्ण वाग्ले ॅरूपेश’ ले आफ्नो पुस्तक सङ्घर्ष र बलिदानमा २००७ सालको आन्दोलनभन्दा धेरैअघि वि.सं. १९३९ मै चितवनका मोटुसिं बस्नेतलाई जेल चलान गर्ने बेलामा हत्या गरिएको इतिहास उल्लेख गरेका छन् तर यसबारे विस्तृत विवरण प्राप्त छैन ।

महेन्द्रको कू र चितवन घटना

राजा महेन्द्रले पुस १, २०१७ मा शासनका सम्पूर्ण अधिकार आफ्नो हातमा लिए । वीपी कोइराला नेतृत्वको दुई तिहाई बहुमत भएको सरकारलाई विघटन गरे । २०१५ सालको संविधान निलम्बन भयो । पुस १२ गतेका दिन सबै राजनीतिक दलहरूलाई अवैध घोषणा गरे । पञ्चायतले सबै जिल्ला कब्जामा लियो । महेन्द्रले कू गरेको एक वर्षपछि काङ्ग्रेसले चितवन कब्जा गर्‍यो । विभिन्न समूह बनाएर उनीहरूले छापामार सैन्य कारबाही गरे । २०१८ साल माघ २८ का दिन बिहानै उनीहरूले भरतपुर प्रहरी थानामा आक्रमण गरे । भरतपुरभन्दा बाहिरबाट आउनसक्ने थप सुरक्षा बललाई विभिन्न ठाउँमा अवरोध खडा गरे । चितवनको जहाज ग्राउण्ड पनि विद्रोहीहरूको कब्जामा परिसकेको थियो । काठमाडौँबाट सिमरा विमानस्थलमा सेना उतारियो । पाल्पा/तानसेन, गोर्खा, हेटौँडा सबैतिरबाट सेनाले चितवनलाई घेराबन्दी गर्दै आउन थालेको कुरा क्रान्तिकारीहरूले पत्तै पाएनन् । राप्तीदून कार्यालयको गेष्ट हाउसमा (पाहुना घर) रहेका कार्यकर्ताहरूलाई सेनाले रातको समयमा नियन्त्रणमा लियो । यस सन्दर्भमा डा. कृष्णप्रसाद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – “राजाका सैनिक भरतपुर एयरपोर्ट जोतिएको हुँदा सिमरा एयरपोर्टमा झरी गाडीबाट चितवनतर्फ आउँदै थिए । बेल्सीलगायत केही पुलहरू भत्काइएको थियो तर गोली–गठ्ठासहित राजा महेन्द्रका सैनिक भरतपुर आइपुगे । सिधै अन्धाधुन्ध गोली हानियो । बर्बर हत्याको शृङ्खला सुरु भयो । करिब ७० जनालाई गेस्ट हाउसमा हुलियो । त्यतै गोली ठोकेर मारियो र लास कतै लगेर फालियो । ६५ जोर जुत्ता–चप्पल नजिकै रहेको भरतपुर अस्पतालमा गाडियो । यीमध्ये धेरैलाई टिकौली जङ्गलमा लगेर मारेर गाडियो । एक जना शाह थरका रहेछन् र भरतपुर फिर्ता ल्याइयो । माथिको आदेशअनुसार आत्मसमर्पण गर्न भनियो – मानेनन् । त्यसपछि वीभत्स रूपले मारेर भरतपुर अस्पतालको वनक्षेत्रतिर ल्याएर गाडिएछ ।

आत्मसमर्पणको साटो त्यसरी मृत्यु रोज्ने बहादुरको नाम ॅजगतप्रकाशजङ्ग शाह’ थियो । शाही बर्बरताको नमुना वर्णन गर्दै कृष्ण अधिकारीले आफ्नो पुस्तक पूर्वी चितवनको राजनीति र विकासका अग्रणीमा लेखेका छन् – “सुरुमा उनलाई माफी माग्न लगाइयो तर उनले माफी नमागेपछि राजा महेन्द्रको अनुमति र गृहमन्त्री विश्वबन्धु थापाको निर्देशनमा उनलाई पनि पछि मारियो । जगतप्रकाशलाई सेनाले ठूलो खाल्डोमा हुत्याइदिएका थिए । उनको दुवै हात काटेर वीभत्स ढङ्गले हत्या गरिएको थियो ।” शाहलाई हत्या गरेर गाडिएको ठाउँमा अहिले भरतपुर अस्पताल छ ।

२०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रह

राजनीतिक दलहरूमाथिको प्रतिबन्ध कायमै थियो । पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसिको सजाय विरुद्ध २०३५ साल चैतमा विद्यार्थी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए । सुरुमा यो आन्दोलन शैक्षिक मागहरू राखेर सुरु गरिएको थियो । २०३५ साल चैत २४ का दिन कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठनहरूले नेपाल बन्दको आह्वान गरेका थिए । आन्दोलनमा प्रहरी दमन बढ्न थालेसँगै प्रतिरोधको स्तर पनि बढन थाल्यो । राजनीतिक दलहरूसमेत आन्दोलनमा सहभागी भएपछि पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन बढ्न थाल्यो । २०३६ साल वैशाख २० गते भरतपुर चौबिसकोठीमा आन्दोलनमा दबाउने नाममा प्रहरीले चलाएको गोली लागेर छविलाल घिमिरे र होमबहादुर भण्डारी दुई जना सहिद भए । आन्दोलनले राजा वीरेन्द्रलाई प्रतिबन्धित काङ्ग्रेस र कम्युनिस्ट पार्टीसँग सम्झौता गर्न बाध्य पारेको थियो । तर वीपी कोइरालाले पञ्चायत या बहुदल भन्ने विषयमा जनमत सङ्ग्रह गराउने राजाको षड्यन्त्रमा सहमति प्रकट गरे । २०३७ सालमा जनमत सङ्ग्रहको नौटङ्की मञ्चन गरियो । जनमत सङ्ग्रहमा चितवनले पञ्चायत विरुद्ध आफ्नो अभिमत दर्ज गर्‍यो । तर जनताको सङ्घर्ष विरुद्ध नियोजित जनमत सङ्ग्रह जनताको पक्षमा हुन सकेन । पञ्चायती व्यवस्थालाई अनुमोदन गर्ने माध्यम बन्यो जनमत सङ्ग्रह ।

२०४६ सालको जनआन्दोलन (पहिलो जनआन्दोलन)

२०४६ सालको ऐतिहासिक जनआन्दोलन पञ्चायती व्यवस्थाको अन्त्य साझा माग हुँदाहुँदै पनि राजतन्त्रका बारेमा फरक मत थिए । संयुक्त राष्ट्रिय जनआन्दोलन (संराजआ) ले पञ्चायती व्यवस्था सँगसँगै राजतन्त्रको पनि अन्त्य गर्ने र देशमा गणतन्त्र स्थापना गर्ने उद्देश्य राखेको थियो । अर्कोतर्फ वाममोर्चा र काँग्रेस (वाम–काङ) मोर्चाले पञ्चायतको अन्त्य गरी बहुदलीय संसदीय व्यवस्था मात्र स्थापना गर्ने र राजतन्त्रलाई संवैधानिक रूपमा स्वीकार गर्ने उद्देश्य राखेको थियो । त्यसैकारण दुईवटा छुट्टाछुट्टै मोर्चा निर्माण भएका थिए । संराजआमा तत्कालीन नेकपा (मशाल), (मसाल), नेकपा (मालेमा), कम्युनिस्ट लिग, सर्वहारावादी श्रमिक सङ्गठन र केही स्वतन्त्र वाम व्यक्तित्व सम्मिलित घटकहरू थिए । काङ्ग्रेससँग सहकार्य गरिरहेको वाममोर्चाको नेतृत्व सहाना प्रधानले गरेकी थिइन् । वाम मोर्चामा नेकपा (मार्क्सवादी), नेकपा (माले, नेमकिपा, नेकपा (चौम) लगायतका घटकहरू थिए । निर्मल लामाले नेतृत्व गरेको नेकपा (चौम) पनि पहिला त संराज आमै जोडिने कुरा थियो तर पञ्चायती व्यवस्थासँगै राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने विषयमा असहमति प्रकट गरेर उनी वाममोर्चामा सामेल भए ।

वाम–काङ मोर्चाको समग्र नेतृत्व काङ्ग्रेस नेता गणेशमान सिंहले गरेका थिए । “आन्दोलनको पहिलो दिन नै हजारौँको सङ्ख्यामा जनताहरू सहभागी भए । पहिलो दिनमै प्रशासनले दमनको नीति लियो । जनताको उत्साहपूर्ण सहभागिताबाट अतालिएको सरकार हत्या र गिरफ्तारीमा उत्रियो । पहिलो दिनमै चितवनले आफ्ना चार सन्तान गुमायो । सयौँको सङ्ख्यामा अमानवीय यातनासहित जेल र हिंरासतमा बन्दी बनाइयो । २०४६ सालको जनअआन्दोलनको पहिलो दिन फागुन ७ गते सबैभन्दा सशक्त रूपमा आन्दोलनकारी पचास हजारभन्दा बढी एकैचोटि नारायणगढको सङ्गमचोक (हालको सहिदचोक)मा चारैपट्टिबाट जनभीडले पूरै कब्जा जमाएको थियो । यसैक्रममा पञ्चायती शासकका प्रहरीहरूले एघार राउन्ड गोली चलाए । गणेश पौडेल, राजेश बानियाँ, बलराम कँडेल, नारायणप्रसाद दाहाल चितवनबाट सहिद बन्नुभएको थियो ।” – (नरबहादुर खाँड, रामहरि श्रेष्ठकृत भुल्न नसकिएको अतीतमाथि व्यक्त विचार ।) २०३५ चैत २४ गते भएको नेपाल बन्दको कार्यक्रम उत्कर्षको कडीलाई जोड्दै संराजआले २०४६ साल चैत २४ गते नेपाल बन्दको आह्वान गर्‍यो । जनप्रदर्शनसहित नेपाल बन्दको कार्यक्रमको बिहानै राजा वीरेन्द्रले मरिचमान श्रेष्ठ नेतृत्वको सरकार विघटन गरेर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री नियुक्त गरे । कर्फ्यु आदेश जारी गरेर सेना परिचालन गरियो । यसले जनताको प्रतिरोध सङ्घर्षलाई झनै ऊर्जा थप्यो र कर्फ्यु तोडेर जनता सडकमा निस्किए । काठमाडौँमै छ जनालाई सेनाले गोली प्रहार गरी हत्या गर्‍यो । त्यसपछि झन् आन्दोलन बढ्न थाल्यो । जनता पञ्चायत मात्रै हैन, राजतन्त्र नै फाल्न चाहन्छन् भन्ने कुरा दरबारमार्गमा महेन्द्रको शालिक तोडफोड गर्ने घटनाले प्रष्ट सङ्केत गरेको थियो । २५ र २६ गते आन्दोलन झन् चर्कियो । यसबाट राजा त तर्सिए नै वाम–काङ्ग गठबन्धन पनि अत्तालियो । जनताको मनोविज्ञान गणतन्त्रतर्फ बढ्दै थियो । यसले उनीहरूप्रति जनताको अविश्वास बढ्ने र पहलकदमी फुत्किने डर पैदा भयो । गणतन्त्रवादी संराजआ भने उत्साहित थियो ।

चैत २६ गते राति राजाले दरबारमा वाम–काङ्ग मोर्चालाई बोलाएर वार्ता गरे । संराजआ भने सो वार्तामा सहभागी भएन । त्यो वार्तामा पञ्चायतको अन्त्य गर्ने, बहुदलीय व्यवस्थाको पुनर्वहाली गर्ने, राजालाई संवैधानिक रूपमा राख्ने र जनआन्दोलन बन्द गर्नेजस्ता सहमति गरियो । संराजआले त्यो सम्झौतालाई ॅधोका हो’ भन्दै विरोध गर्‍यो भने वाम–काङ्ग मोर्चाले २७ गते विजय जुलुस निकाले । त्यहीँदेखि गणतन्त्रवादीहरूले आन्दोलन उत्कर्षको दिनको हिसाबले चैत २४ गते ॅजनआन्दोलन दिवस’ मनाउँदै आएका छन् भने वाम–काङ्ग मोर्चाले चैत २६ गते मनाउँदै आएका छन् ।