कप्तानगञ्ज !

कप्तानगञ्ज !

कविता

ओ प्रिय मधेश
उस्तै भाषा उस्तै थात
उस्तै भेष उस्तै जात
हेपिएको चेपिएको बदलामा
शान्ति अमनचैन र स्थिरताको
उधारो भाङ खाएर
निलो सतरन्जामाथि रमाउँदै
निलो बर्को ओडेका
नयाँ जोगीहरूको
जान पहिचान बिना स्वागत गर्‍यौ
उधारो मुक्तिको आशामा
नाच्यौ गायौ उफ्रियौ
युगयुगदेखि थिचिएर कुच्चिएको माथमा
मल्हम लाग्छ कि भनेर
इतिहासमा दबाइएका स्वरहरू
जागा होलान सम्झिएर
चुपचाप ल्यााप्चे लगाएको पुरस्कार
के देखिएन र खुल्ला आँखाले
कप्तानगञ्जको आगोमा थपिएको बारुद ।

कप्तानगञ्ज !
हेरिरहेका छौ निलो आकाशमा
कावा खाँदै सयल गरिरहेको
बारुदको उपहार
देखिरहेका छौ दाह्रा लुकेको निलो गिद्ध
यता सिँहदरबार र बालुवाटारमा पाकिरहेछ
धर्मको बाजी थापेको जुवाखालको च्याँखे
अझै बुझेका छैनौ मधेश
ओ धनुषा
ओ सुनसरी
ओ पर्सा, सिराहा सप्तरी
उस्तै घाउ उस्तै व्यथा
उस्तै दर्द उस्तै कथा
आगो निभाउने निहुँमा
सात सागरपारिको दमकल बोलाउने बाहना
खेलिरहेको धोकेबाजको पहिचान गर ।