यूएईविरुद्धको टी–२० सिरिज भोलिबाट, के छ नेपालको स्थिति ?

यूएईविरुद्धको टी–२० सिरिज भोलिबाट, के छ नेपालको स्थिति ?

काठमाडौं । नेपालले यूएईसँगको एकदिवसीय सिरिजमा २–१ ले जितेसँगै अब यूएईसँगै टी–२० सिरिज भोलीबाट खेल्ने छ । तर यो टी–२० सिरिज भने नेपालको लागि त्यति सहज छैन । किनभने यूएईका ब्याट्सम्यानहरु ठूलो सर्ट मार्न माहिर देखिएका छन् । उनीहरुको विष्फोटक ब्याटिङ क्षमता हामीले तेस्रो एकदिवसीयमा देख्यौं । उनीहरुले तेस्रो एकदिवसीयमा ४७ रन जोडेर ४ विकेट गुमाएको स्थितिमा टिमलाई २५४ रनको स्कोर खडा गरेको थियो । जसमा १६ ओभरमा १४२ रन हानेका थिए सोहीक्रममा निकै नै लयमा देखिएका सन्दीप लामिछोन समेत महंगो सावित भएको थियो ।

त्यसो भएको हुँदा अब नेपालले जसरी एकदिवसीय खेल्यो त्यसरी नै टी–२० सिरिजमा पनि यूएईलाई खुलेर खेल्नु नदिनु पर्ने हुन्छ । यदि नेपाली बलरहरु डग्मगाएको स्थितिमा यूएईका ब्याट्सम्यान हाबी हुन सक्छन् । तर, नेपालका लागि केही फाइदा भने छ । यूएईका टिमबाट निलम्बनमा परेका रोहन मुस्तफा लगायतका महत्वपूर्ण चार खेलाडी एकदिवसीय सिरिजमा जस्तै टी–२० मा पनि उपलब्ध हुने छैनन्, यो नेपालका एड्भान्टेज नै हो ।

नेपाली टिमको कुरा गर्दा पहिलो खेल गुमाएर पनि उत्कृष्ट कमब्याक गर्दै एकदिवसीय सिरिज जित्न सफल भएका खेलाडीहरुको मनोबल उच्च हुनु स्वभाविक छ । साथै नेपालले पछिल्लो समय एकपछि अर्को टी–२० फ्रेन्चाइज लिग खेलेका कारण लयमा छ । युवा खेलाडीहरु पनि टी–२० मै राम्रो प्रदर्शन गरेकै कारण टिममा परेका छन् । ओपनिङमा उपकप्तान ज्ञानेन्द्र मल्लसँग विनोद भण्डारी र प्रदिप ऐरी मध्ये एक आउन सक्छन् । दुबै टी–२० मा विस्फोटक ब्याट्सम्यान मानिन्छन् । विनोद भण्डारी तीन वटै एकदिवसीयमा मौका पाए तर अपेक्षाकृत प्रदर्शन गर्न भने सकेनन् । कप्तान पारस लयमा देखिएका छन् । उनले तेस्रो एकदिवसीयमा यूएईविरुद्ध ११५ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल मात्र होइन, टोलीका नयाँ सदस्यहरु सन्दीप जोरा र भीम सार्की पनि घरेलु लिगमा चलेका ब्याट्सम्यान हुन् ।

करण केसीलाई ‘पिन्च हिटर’को रुपमा प्रयोग गर्न सकिन्छ । उनी पछाडिका ओभरहरुमा आएर आक्रमक ब्याटिङ गर्ने गर्छन् । बलिङतर्फ सन्दीप लामिछाने र सोमपाल कामी दुबै निकै लयमा देखिएका छन् । करण केसीसँगै युवा खेलाडी ललिनारायण भण्डारी र पवन सरार्फ पनि टोलीमा छन् । समग्रतामा यूएईको भन्दा नेपालको बलिङ राम्रो मान्न सकिन्छ । तीन म्याचको सिरिजको पहिलो खेल भोलि बिहीबार नेपाली समयअनुसार पौने ३ बजे दुबईमा हुनेछ । दोस्रो फेब्रुअरी १ मा र तेस्रो फेब्रुअरी ३ मा हुनेछ ।