काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारबाट ‘क्यान इन्फोटेक २०१९’ मेला सुरु भएको छ । उक्त मेला कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको हो । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीको छाता संगठन क्यानले विगतको भन्दा यस वर्ष फरक ढंगले मेला आयोजना गरेको जनाएको छ ।
‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको उक्त मेला विगतको तुलनामा यसपटक फरक रहेको क्यानका अध्यक्ष हेमन्त चौरासियाले बताए । सुबिसु र इ–सेवाको प्रायोजनमा आयोजना गरिएको यस वर्षको मेलामा सहभागीमध्येका भाग्यशाली विजेताले इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक घुम्न जाने अवसर पाउन सक्ने क्यानका अध्यक्ष हेमन्त चौरसियाको भनाइ थियो ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स गरेर एक सय ७५ स्टल रहेका छन् । २० गतेसम्म चल्नेछ उक्त मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने क्यानले जनाएको छ ।