नेपालमा सुख्खा पहिरोको खतरा

नेपालमा सुख्खा पहिरोको खतरा

काठमाडौं । यो वर्षको मनसुन सकिएपछि चर्को घामले पूरै नेपाललाई तताउन थालेको छ । पानी पर्न छाडेको दिनदेखि नै चर्कदै गएको घामले जमिन निकै कसिदै गएको छ । यसले नेपाली कृषि क्षेत्रमा निकै समस्या सिर्जना गर्न थालेको छ । धान पाकिसकेका छैनन् । र, कतै कतै त मकै पनि भर्खरै कोशा लगाउँदै छन् । यसको अर्थ हो, वर्षे बाली तयार भइसकेको छैन ।

यी किसानका समस्याहरु एकातिर छन् । तर भूगर्भविदका कुराहरु भने भिन्दै छन् । उनीहरु भूकम्पले थिलथिलो पारेको र चिराचिरा पारिएको नेपालको भिरालो जमिन चर्को घामसँगै थप चिरा पर्न र फाट्न थालेको बताएका छन् । वर्षाको पानी चिराभित्रसम्म पसेको उक्त पानी सुकेपछि दरारहरु झनै फाट्न थाल्नाले यो समस्या आउँदै गरेको बताउँछन् ।

पोहर सालमात्र नेपालमा गएको धुले पहिरोबाट केही मानिसहरु घाइते हुनुका साथै दुई जना पहिरोले पुरिएर मरेका थिए । भूगर्भविदका अनुसार यो साल पनि नेपालमा धुले पहिरो जाने संभावना निकै नै बढेर गएको छ । यसबाट सचेत बनाउँदै धुले पहिरोबाट बच्न अहिलेदेखि सचेतना अभियान चलाउन जरुरी छ ।

काठमाडौंका वरिपरिका जिल्लाहरु, गोरखा, पूर्वी नेपालका केही पहाडी जिल्लाहरु तथा सुदूर पश्चिमका पहाडी जिल्लाहरु धुले पहिरोको जोखिममा रहेको बताइएको छ ।