घण्टाघर

घण्टाघर

कविता

सप्लेँटो या बिप्लेँटो
बिप्लेँटो या सप्लेँटो
समय छुट्याउने प्रयत्नमा
टुँडिखेलतिर फर्किएर
टोलाइरहेको घण्टाघर
राजधानीको छातीमा कुदाउन
ठिक्क पारिएका घोडाहरू
घोडामा टाप कसिरहेको समय
समयको साक्षी
खिन्न हुँदै लगाउँछ घोसे मुन्टो ।

झल्को आउँछ पुरानो तस्वीर
बाँचिरहेको समयसँग असहमत
कला, गला र सिर्जनाहरू
वर्तमानका खाँतिर
आफ्नै काखमा
अनसन बसिरहेको समय
डुबेपछि केही बेर
उही समयमा
मोडिन्छ थोरै दायाँ

वैशाखको धूपभन्दा चर्को आवाजसहित
नाराणहिटीतर्फ औंलो उठाउँदै
गर्जिरहेको समय
समय र सङ्घर्षले सिर्जेका नायक
युगका अगुवा
थपक्क बोकाइदिएको जिम्मेवारी
जिम्मेवारीकै मजाक
थाप्लोमा नाम्लो यथावत् राखेर
रानीपोखरीमा खुसुखुसु भारी खसालिरहेको
चतुर भरिया
आफ्नै अगाडि
दनदनाउँदो इतिहासमाथि
निसङ्कोच पिसाब फेरिरहेको
निर्लज्ज समयको सम्झनामा
सुस्केरा काढ्दै
मोडिन्छ बायाँ ।

भद्रकालीमा फुसफुसाइरहेका
फुस्रा चेहराहरूले
थिचिरहे झैं लाग्छ
आफैभित्र घुमिरहेका मसिना काँटाहरू
देखापर्छ एआइसँगै
लरबराइरहेका चिसा तन्नेरी भीड
भाउन्न हुन्छ केही बेर
घण्टाघर,
भाउन्न हुन्छ केही बेर ।

ढल्न दिनुहुन्न आफूलाई
झड्कार्छ एक फेर आफ्नै मन
फर्किन्छ फरक्क पछाडि
अल्गोरिदमको कारखानाबाट
अनवरत निस्किरहेको खार
खारमा निसास्सिरहेको समय
बोल्छ दुविधा नराखी घण्टाघर ।

सावधान रहनू
यो उदण्ड समयसँग
संवेदनाहीन सत्तासँग
अपिल गरिरहेछ घण्टाघर
निर्ममतापूर्वक
आफ्नै छातीमा बजार्दै रालो
सजग गराइरहेछ सेकेन्ड सेकेन्डमा
सावधान रहनू
यो विग्रही समयसँग
सावधान !
२०८२/११/६