हाम्रा पूर्खाहरूले विभिन्न कालखण्डमा थरीथरीका शोषणको सहन गर्दै आएका थिए । मल्लकालदेखि शाहकाल, राणाकाल र पञ्चायतीकालसम्म आउँदा मौजा वा प्रगन्नामा गौँडा वा जिल्लाका तालुकी अड्डाहरूले विभिन्न कर उठाई राज्यकोषमा दाखिला गराउन थरीथरीका मुखिया, अमाली, पटुवारी, जमिन्दार र जिम्मालको नियुक्ति गर्दथे । तालुकदारी या जिम्माली प्रथा मध्यकालमा व्यापक थियो र सो व्यवस्था सामन्ती व्यवस्था थियो । उनीहरूको निश्चित क्षेत्र तोकिएको हुन्थ्यो । जनता सबै रैति मानिन्थे । उनीहरूले जनतासित कुतका अतिरिक्त बेठी, झारा र कोशेली समेत लिने गर्दथे । चाडपर्व बिहे बटुलमा उनीहरू मुख्य पाहुनाको रूपमा सम्मानित हुन्थे । चर्को ब्याजमा ऋण लगानी गर्दथे । मौजाका किसानहरूको अब्बल उत्पादनमा पहिले उनीहरूको हकदाबी लाग्थ्यो । समाजमा घटेका कुनै घटनाको छानबिन, न्यायनिसाफ पनि तिनै जिम्माल मुखियाहरूको विवेकमा हुन्थ्यो । नीच प्रकारको उग्र शोषण थियो । राज्यको केन्द्र वा शाखा अड्डाले लालमोहर थमाइदिएपछि उनीहरूको शानसौकात छोइनसक्नुको हुन्थ्यो । उनीहरूका महल दरबार सरहका हुन्थे । उनीहरूलाई कसैको थातबास उठाउन समेतको हैसियत राज्यले दिलाएको थियो । जनताका छोरी, बुहारीमाथि उनीहरूले निर्लज्ज दमन शोषण र हिँसा समेत गर्दथे । त्यो शामन्तकालिन व्यवस्था बिस्तारै हराउँदै गयो तर रूपमा फेरिए पनि सारमा हुकुम रबाफ भने कायमै रह्यो ।
त्यतिबेलाको जस्तो जिम्माली प्रथा त हराएर गयो तर युग बदलिए पनि आजको समाजमा त्यो प्रथाको अवशेष विभिन्नरूपले देखिएको छ । केही मानिसमा आफु प्रभावशाली हुँ भन्ने दम्भ रहेको हुन्छ । जब कसैले आफ्नो धन, शिक्षा, राजनीतिक पहुँच सर्वशक्ति हो भन्ने सम्झन्छ अनि दम्भ देखापर्छ । एकपटक म नेपालकै जेठो अस्पतालको बिरामी दर्ता कक्षमा पुगेर नाम दर्ताको लागि अनुरोध गरेँ । लामो ढड्डा लिएर बिराजमान ती कारिन्दाले बिरामीको नाम सोधे । मैले मोदनाथ मरहट्टा भनेँ । चस्मा नाकको डाँडीतिर सार्दै उनी दर्ता प्रकृयामा लागे । दर्ता शुल्क लिएपछि उनले बिरामी पूर्जा मेरो हातमा थमाए । भीड छिचोलेर म खुला ठाउँमा आएँ र पूर्जा हेरेँ । पूर्जामा मेरो नाउँ मुजनाथ लेखिएको रहेछ । भीड छिचोलेर फेरि म झ्यालनेर गएँ र भने सर मेरो नाम त अर्कै लेखिदिनु भएछ, उनले राताराता आँखा पार्दै भने ‘तिमी नाम सच्याउन आएको कि बिरामी जँचाउन’ ?’ ‘मेरो जे नाम हो पूर्जामा त्यही नाम हुनुपर्दैन र ?’ मैले साधु भएर भने । उनले झोक्किँदै भने ‘रोग जचाउने हो भने डाक्टरकोमा जाऊ नभए घर जाऊ ।’ भोलि मैले कतै प्रमाण पेश गर्नुप¥यो भने त्यत्ति के मात्र भनेको थिएँ उनी कुटौँलाझैं गरी उफ्रिए । मैले सोचेँ सायद यो अस्पतालका जिम्माल यिनी हुन् । यस्ता धेरै सरकारी कार्यालयहरूमा नयाँ जिम्मालहरू प्रशस्त छन् । त्यो शामन्तकालिन हैकमको सानो उदाहरण हो । जसरी राणकालका तालुकदारहरूले एउटाको तेरिजमा अर्कैको नाम दरिदिन्थे । यसरी जनतालाई सताइन्थ्यो ।
एकताका माफिया भन्ने शब्द खुबै चलेको थियो । भू–माफिया, शैक्षिक–माफिया, स्वास्थ्य–माफिया, जल–माफिया आदि । त्यस्ता पात्रलार्ई आधुनिक जिम्माल हुन् भन्ने मान्दा केही फरक पर्दैन । जसरी एउटा मौजामा एउटा जिम्माल वा मुखियाको रजगज चल्थ्यो त्यसरी नै तत्तत् क्षेत्रमा माफियाहरूको हैकम चल्थ्यो र अहिले पनि चलिरहेकोे छ । उनीहरूसित घोषित लालमोहोर नभए पनि सत्ताको संरक्षण चाहिँ हुन्छ । यस्ता पात्रहरू सुकिलो रूपका तर मैलो चित्त भएका पात्रहरू हुन् ।
विशेषगरी अहिले राजनीतिक क्षेत्रमा पनि नयाँ जिम्माली प्रथा बेस्सरी मौलाएको छ । खासगरी सत्तामा पुगेका दलका केही कार्यकर्ताहरूको चुरीफुरी देख्दा र ब्यहोर्दा उनीहरू राणाकालिक जिम्मालभन्दा कम छैनन् भन्ने देखिन्छ । उनीहरू सत्ता र शक्तिको आडमा आपूm मातहतको क्षेत्रको विकाश निर्माण र न्यायप्रशासनमा समेत हावी हुन पुग्छन् । टोल, नगर वा अन्य कुनै पनि स्थलमा आपूmहरू पूजिने वा सम्मानित हुने दाबी राख्छन् । रूपमा जनसेवा जस्तो देखिए पनि भित्री गुह्य भने निमुखामाथि हैकम चलाउनु नै उनीहरूको नियत बनेको पाइन्छ । यो अहिलेको कुरूप यथार्थ हो । के पञ्चकाल के बहुदलकाल अथवा अहिलेको गणतन्त्रकाल नयाँ जिम्मालहरूको बिगबिगी कायम नै छ । अझ पछिल्लोकाल त सूचना साम्राज्यमा उनीहरूको ठूलो हस्तक्षेप गरिएको र उनीहरूको दल वा सरकारमाथिको आलोचना र सुझाव पनि नपचाउने हँुदै आएका छन् । यही प्रवृतिको विकाश भएर अहिले साइवरसेना बनेको छ । उनीहरू शामन्तकालिक जिम्मालभन्दा उँचाइमा छन् । जसरी राणाकाल वा पञ्चायतकालमा उनीहरूको बिरोधमा बोल्न लेख्न प्रतिबन्ध थियो अहिले उही संस्करण देखापरेको छ ।
यस्तै शामन्तकालिक तर आधुनिक जिम्माली हैकम सांस्कृतिक क्षेत्रमा पनि व्याप्त छ । धर्म वा संस्कृतिका नाममा समाजमा उपस्थित भएका पण्डित पुरोहित र धर्मगुरुको बोलाबाला र हस्तक्षेप त्यही माध्यमिककालको जस्तो पाइन्छ । धार्मिक वा संस्कार चलाउने नामका पण्डित पुरोहित यो एककाइसौं शताब्दिमा पनि उही सामन्ती प्रकारको विधि र व्यवहारमा आपूmलाई महान् ठानिरहेछन् ।ं यहाँ इस्लाम वा इसाइ धर्मबारे उल्लेख असान्दर्भिक होला तर हाम्रो समाजमा हिन्दू संस्कृतिका नाममा आफ्ना यजमानमाथि नयाँ जिम्माली हैकम ज्यादै असान्र्दभिक देखिन्छ । हिन्दू संस्कारको हरेक कर्ममा यी पुरोहितको साथमा ऐतिहासिक पात्र मनुले निर्दिष्ट गरेका ज्ञान चेतनाको अन्धविश्वासी धारणमा लट्ठ छन् । प्रशस्त धन दौलतको दान र अन्धविश्वासी विधिले कर्म पूरा गर्दा मृतक शरीर पनि भौतिकरूपमा ढलिमली गरेको विश्वास दिलाउन उनीहरू पछि पर्दैनन् ।
धार्मिक वा सांस्कृतिक मान्यतानुसार हरेक पर्वको अघि ब्राह्मण क्षेत्रीको आँगनमा पुरोहित आएर उभिन्छ र उसित कर्मकाण्ड भास्कर हुन्छ । हामी विचारमा भौतिकवादी भएर पनि पुरोहितवादको दास छौँ । हाम्रा केही सांस्कारिक पर्वहरू छन् तर चेतनाले भौतिकवादी बनेकाहरू परम्परित तरिकाले कर्म गरेका हुन्छौँ । अझ विशेषगरी महापुराण, सप्ताह एकाहको आयोजना गरेर पुण्य प्राप्त वा मरेका आफन्तहरूको नरक मोचनको भ्रम पालिरहेका हुन्छौँ । यस्तो कर्मको मुख्य प्रेरक भने पुरोहितवाद हो । यस्तो कर्महरूमा कम्युनिष्ट भनिएका नेतृŒवले पितवस्त्र धारण गरेर फूल अक्षता समाएको दृश्य कति घिनलाग्दो देखिन्छ भन्ने भेउ नपाउने पात्रहरू देख्दा घृणा जागेर आउनु स्वाभाविक हो । बालक जन्मदा होस् वा मृत्यु हुँदा होस् सबैभन्दा अगाडि आएर कर्मकाण्डीय संस्कार उभिन्छ । मानिसको जीवन केवल भौतिक सुविधामा मात्र निर्भर हुँदैन, उसले आफ्नो अस्तिŒवलार्ई अर्थपूर्ण बनाउन संस्कृति, कला र परम्पराको पनि आवश्यकता हुन्छ । संस्कृतिको जगमा नै सभ्यता उभिएको हुन्छ र यसले राष्ट्रको पहिचान निर्माण गर्दछ । जब कुनै समाज वा राष्ट्रले आफ्नो संस्कृति, कला, भाषा, धर्म, वास्तुकला र जीवनशैलीलार्ई जोगाएर मात्र सीमित गर्दैन, बरू त्यसलार्ई नयाँ आय–आर्जनको साधनमा रूपान्तरण गर्छ, तब त्यो संस्कृति केवल गौरव मात्र नभई कमाउने थलो त्यो पनि विकृत शोषणको रूप बन्छ ।
विज्ञानले नयाँ नयाँ उत्पादन र प्रविधिको विकास गर्दै आएको छ तर हाम्रो समाज उही मध्यकालिक अँध्यारोमा बाँचेको ठहर हुन्छ । अहिले बैंक तथा वित्तीय संस्थाहरू संस्थागतरूपमा नयाँ जिम्माल बनेर उदाएका छन् । यी संस्थागत जिम्मालका कारण सयौँ परिवार विचल्लीमा परेका दृश्यहरू हम्रो आँखा अगाडि छिपेको छैन । नयाँ युगमा प्रवेश गरियो भनेर दाबी गरिरहँदा ठगिने र ठग्नेहरूको चेत चिन्तनमा परिवर्तन नआउने लज्जाको विषय होइन र ? के अब पनि हामी इतिहासमा पुरिएर कङ्काल बलेका चिन्तन परम्परालाई नै स्वीकार्न बाध्य हुने हो भने इतिहासमा लाछी ठहर्दैनौ र ?





























