यसरी अभिव्यक्त भएको छ श्रीपेचविनाको सामन्ती संस्कार

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघीय संविधान निर्माण भयो । नेपालमा आमूल परिवर्तनका लागि भएगरिएका युद्ध र आन्दोलनका मर्मअनुसार संविधान बन्न सकेन भनेर आमूल परिवर्तनका पक्षधरहरुको नेतृत्व गर्दै तात्कालीन नेकपा–माओवादीद्वारा संविधान च्यात्ने र कतैकतै जलाउने काम पनि गरियो । संविधानमा सर्वपक्षीय स्वीकार्यता भएन भनेर मधेश तथा जनजातिले विरोध कायमै राखे । यो अहिले पनि कायमै छ । यसमा पहिचानको आधारमा प्रदेश तथा स्थानीय सरकारहरुको निर्माण गरिनु पर्छ भन्ने थियो ।
यसको संकेत भनेको नेपालमा अझैं राजनीतिक क्रान्ति पूरा भएको छैन भन्ने नै थियो र छ पनि । तर तात्कालीन ठूला भनिएका पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)हरुले राजनीतिक क्रान्ति पूरा भइसकेकाले देश अब शान्ति र समृद्धिको बाटोमा अघि बढ्नु पर्ने कुरामा जोड दिए । संविधान कार्यान्वयनका नाममा तीन दलीय सिण्डिकेट बनाएर एकलौटी निर्णय गर्दै अघि बढे ।
स्थानीय सरकारको निर्वाचनताका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को चुनावी गठजोड बन्यो । स्थानीय निर्वाचन सम्पन्न भयो । त्यसपछिको प्रादेशिक र संघीय निर्वाचनमा एमाले तथा माओवादी केन्द्रबीच गठजोड बन्यो र निर्वाचन सम्पन्न भयो पनि । एमाले–माकेको गठबन्धन बहुमतको सरकारका रुपमा देखा पर्यो भने कांग्रेस कमजोर प्रतिपक्षका रुपमा धकेलियो ।
फेरि पनि यी तीन पार्टीका बीचमा सिण्डिकेट भने कायमै रह्यो । मिलेर सत्ता चलाउने ध्याउन्नमा यी तीन दलहरु केन्द्रित रहे । न त कांग्रेस प्रतिपक्षको भूमिकामा रहन चाह्यो, न त सत्तामा सहभागी हुन । बरु बाहिर जनताका माझमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने भन्दै भित्रभित्र यति उति चाहिन्छ भन्दै भागबण्डा र सत्ता साझेदारीको लेनदेनमा लाग्यो । संसदीय समितिहरुमा कांग्रेसले लाज नै नमानेर गरेको बार्गेनिङलाई जनताले पनि रुचाएनन् र पचाएनन् ।
तीन दलीय सिण्डिकेट अझै कायम छ । पुरानो संस्कार अझैं कायम छ । शासन व्यवस्था फेरियो, तर राज्यव्यवस्था नफेरिएकाले संस्कार पुरानै छ । यहाँ क्षमतालाई हेरिदैन । आफ्नालाई हेर्ने र आफ्नालाई फेर्ने चलन कायमै छ ।
हरेक कुरामा भागबण्डा गर्ने गरिएको छ । कुनै पनि कुराहरु संस्थागत गरिएका छैनन् । शासनका कुरा पनि वैयक्तिक बनेका छन् । ओली सरकार र ओली दम्भका कुरा भएका छन् । रुढीग्रस्त, परम्परागत र ‘मिथोलोजिकल’ सोचले घर गरेको छ । पुरानो मानसिकता कायमै छ । सरकारमा बसेकाहरुको भाषणबाजीमा प्रतिस्पर्धा छ ।
हालको अवस्थालाई संक्रमणकाल जस्तो अवस्थाको रुपमा लिइएको छ । रेल, पानी जहाज, भूमिगत ट्रेन, पुष्पक विमान र वायुपंखी घोडाका कुरा गरेर यथार्थतालाई ‘मिथ’ बनाइएको छ । घाँटी हेरेर हाड निल्ने सोंच कसैमा पनि देखिदैन । व्यवस्थापकीय क्षमता शुुन्य जस्तै छ । विदेशी ऋणले टुपीसम्म डुबाएको छ । मानव संसाधनको हेक्का नै छैन । काम र खर्चमा मितव्ययिता पाइँदैन ।
देखासिकी निकै फस्टाएको छ । विदेश भ्रमणमा फौजफकिर लिएर जानु पर्छ । यति गरेपछि मात्र ठूलो मान्छे भइन्छ । सरल जीवन शैली कुन चराको नाम हो थाह छैन । सामन्ती दम्भ र ढोंगले दिमाग भरिएको छ । जनताका महासामन्त बनेका छन् शासकहरु । विदेशीसँग जी, हजुरी र पिछलग्गुपनको विकास भएको छ ।