जनस्तरमै पुग्यो प्योङयाङ वार्ता

जनस्तरमै पुग्यो प्योङयाङ वार्ता

काठमाडौं । उत्तर तथा दक्षिण कोरियाका जनतामा पछिल्लो चरणको प्योङयाङ वार्तापछि केही आशा पलाएको देखिएको छ । अहिलेको वार्तामा केही बाह्य प्रभाव र नजानिंदो हस्तक्षेप त छ नै, तथापि बाह्य शक्तिका प्रतिनिधिहरुको प्रत्यक्ष भौतिक उपस्थितिरहित वातावरणमा खुल्लमखुल्ला बहस गर्ने मौका पाए । यो वार्तामा उत्तर तथा दक्षिण कोरियाली जनताले केही निकटता र आत्मीयताको न्यानो अनुभूति पनि गनै पाए ।

प्योङयाङ वार्तामा दक्षिण कोरियाली नेता मुन र उत्तर कोरियाली नेता उन हात मिलाएर एकापसमा अंकमाल मात्र गरेनन्, उनीहरुले कोरियाली प्रायद्वीपको एकताको कुरा पनि गरे । यस विषयमा शायद उनीहरुले दुईवटा कुरा निकै ख्याल गरे । एउटा जापान र जापानी साम्राज्यवादी सोच र त्यसको व्यवहारिक अभिव्यक्तिको तीतो अनुभूति र अर्को, अमेरिकी स्वार्थ र त्यो स्वार्थको निरन्तर सिकारमा परेको कोरियाली प्रायद्वीप ।

यी दुवै व्यवहार र अनुभूति उत्तर होस् वा दक्षिण होस्, दुवै कोरियाली नेता तथा जनताका लागि साझा विषयहरु हुन् । तर यसको कोरियाली जनताका माझमा परेको प्रभावलाई समान्यीकरण गर्न सक्नु पर्दछ । र, त्यसको आम कोरियाली जनताको स्वामित्वका रुपमा विकास गरिनु पर्दछ । ट्रम्प र किमको भेटपछि अमेरिकी विदेश मन्त्री माइक पम्पेओ निस्शस्त्रीकरण वार्ता गर्न प्योङयाङ पुगेका बेला वार्तामा ‘ग्याङस्टर’ जस्तो व्यवहार गरेको उत्तर कोरियाले बताएको थियो । यो व्यवहार दक्षिणले दशकौंदेखि भोग्दै पनि आएको छ ।

अहिले अर्को कुरा के पनि भएको छ भने उत्तर कोरियाली र दक्षिण कोरियालीको भेटघाट जनस्तरमा सम्पन्न भएको छ । दक्षिण कोरियाली नेता मुनलाई एक लाख पचास हजार भन्दा बढी उत्तर कोरियाली जनताले सहभागी भएरै स्वागत गरे । दुवै नेताहरुले एकता गरी नयाँ पितृभूमि बनाउने वाचा पनि जाहेर गरे । उत्तरकोरियालीले मुनको प्रत्यक्ष हाउभाउसहितको भाषण सुने । दुई देशका जनताको आपसी मेलमिलापउन्मुख भाव देखेर अमेरिकाले पनि आफू खुशी भएको स्वाङ पार्यो ।

उसले उत्तर केरियाली प्रतिनिधिहरुलाई अमेरिकामा फेरि भेटवार्ताका लागि आमन्त्रण पनि गर्यो, सन्देश पठाएर । न्युयोर्कको निमन्त्रणा उत्तर कोरियाले पनि स्वीकार गर्यो । यो कोरियाली प्रायद्वीपमा भइरहेको कोरियाली जनताको एकाता गर्ने मनोभावको अमेरिकामाथि परेको जबर्जस्त प्रभाव हो ।

संभावनाका क्षितिजहरुलाई हेर्दा त यस्तो पनि देखिएको छ कि पहिले उत्तर तथा दक्षिण कोरिया वार्ता अमेरिका पुगेर गरिनु पर्ने अवस्थाको अब विस्तारै अन्त्य हुने छाँट देखिएको छ । उत्तर तथा दक्षिण कोरिया आफैमा सहमति गरी सोमवार प्योङयाङ वार्तामा बसेका हुन् । चिनियाँ र अमेरिकी खेमाबन्दीको कारण छुट्टिएपछि यी दुई देशहरुबीच लामो शीत युद्ध चलि नै रह्यो । आश्चर्यको कुरा त के पनि भयो भने अमेरिका र रसियाबीचको वैचारिक शीतयुद्ध सेलायो, तर यो भूगोल विभाजनको शीतयुद्ध हालसम्म पनि कायमै रहिराख्यो ।