‘संघीय संविधानले दलालहरुलाई मोटायो’

‘संघीय संविधानले दलालहरुलाई मोटायो’

नवलपरासी । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले संविधान दिवसको विरोध गर्दै नेपालको संविधान २०७२ ले दलालहरु मोटाउने काम मात्र गरेको भन्दै यो जनताबाट तिरस्कृत भएको बताएका छन् । देश र जनताका आवश्यकताहरुलाई संवोधन गर्न नसकेको र जनगणतन्त्र विरोधी चरित्रको भएकाले यो संविधानलाई देजमो नवलपुरले आज कावासोतीमा प्रतिकका रुपमा जलाएको पनि छ ।

संविधान दिवसको उक्त विरोध कार्यक्रममा सहभागीहरुको माझ बोल्ने क्रममा वक्ताहरुले भनेका थिए– ‘वर्तमानमा निर्माण गरिएका संहिता ऐनहरु संविधानको कार्यान्वयनका लागि भनेर ल्याइएका छन् । ती निकै निरङ्कुश तथा जनविरोधी प्रकृतिका रहेका छन् । ती सबै दलाल तथा नोकरशाह र बचेखुचेका सामन्तहरुका हित रक्षाका लागि मात्र बनाइएका छन् । देश आज तस्कर र भ्रष्टाचारीहरुको अखडा बन्न पुगेको छ । सुन तस्करी संस्थागत भएको छ । दोषी भनिएकाहरु प्रहरी जस्तो सुरक्षाअंगहरुका भीआईपी पोष्टमा रहेका छन् । बहालवाला हाकिमहरु रहेका छन् । उनीहरुलाई अदालतले दोषी नभएको प्रमाणित गरेर साधरण तारेखमा छोडिरहेका छन् ।’

‘तर आश्चर्यको कुरा त के पनि भएको र हुंदै गएको छ पार्टीका नेता र सरकारका प्रमुखहरुसम्म झांगिएको सुन तस्करीको लहरो पुगेको ठाउंसम्म खोजी कहिल्यै पनि गरिएको छैन भनी वक्ताहरुले महिला हिंसा र नागरिक सुरक्षाका कुराहरु निकै नै दयनीय अवस्थामा पुगेको यथार्थतामाथि प्रकाश पार्दै सिंगो देश हिंसा र हत्याले आक्रान्त भएको’ बताएका थिए ।

तर हाल दलाल तथा नोकरशाहहरु फुक्लफाक्कल छन् । तर जनताका लागि र उल्टै पीडितका लागि कानुनहरु धमाधम कार्यान्वयन भइरहेका छन् । हुन पनि र भएको पनि हो कि हो, शासन भनेको जनतामाथि गरिने र लादिने कुरा हो ।

बक्ताहरुले अहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनालाई तोडमोड गरेर दोषीलाई उन्मुक्ति दिने गरी अघि बढाइएको कुराको विरोध गर्दै दोषीलाई कारवाही गरी निर्मला पन्त र उनको परिवारजनका साथै सिंगो नेपालीहरुलाई न्याय दिनु पर्नेमा पनि जोड दिएका थिए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारीले आफ्नो मन्तव्य दिएका थिए । कार्यक्रम शोभा जिसीको सञ्चालनमा भएको थियो ।