लन्डनमा नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत

प्रकाशित मिति : २०७५ श्रावण ४

काठमाडौं, साउन ४ । लर्ड्समा जुलाई २९ तारिखमा हुने त्रिकोणात्मक टी–२० सिरिज खेल्न लन्डन पुगेका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ ।

जुलाई २९ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्याण्ड र इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी– २० खेल्ने छन् ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको नेतृत्वमा १५ सदस्यीय टोलीका खेलाडीमध्ये शरद भेषवाकर अमेरिकाबाट विहीबार दिउँसो नै लण्डन पुगेका थिए ।

लण्डनको हिथ्रो विमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बेलायतस्थित नेपाली राजदूतावासका सेकेण्ड सेक्रेटरी लब सुवेदी, एनआरएन यूके महासचिव आरके त्रिपाठी तथा नेपाली क्रिकेटका फ्यान तथा नेपाल नर्सिङ एसोसिएसन युकेका उपाध्यक्ष विनोदविकास सिंखडा, नेपाली क्रिकेटका फ्यान गुमान थापा र ह्यामसायर क्रिकेट क्लबका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

नेपाली क्रिकेट टोली जुलाई २४ तारिख साँझमा नेपाली राजदूतावास लण्डनले खेलाडीको स्वागतको लागि आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछ ।

नेपालले जुलाई २९ तारिखको त्रिकोणात्मक टी–२० को तयारीको लागि बेलायतका विभिन्न स्थानिय क्रिकेट क्लबहरुसँग ४ वटा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।