एजेन्सी । जी–२० शिखर सम्मेलन सुरु हुनुअघि जर्मनीको ह्यामबर्ग शहरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ७६ जना प्रहरी घाइते भएका छन् ।
झडपमा परी केही प्रदर्शनकारीसमेत घाइते भएका छन । घाइते प्रहरीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
करिब १२ हजार प्रदर्शनकारीहरु ‘नर्कमा स्वागत छ’ नाम दिइएको प्रदर्शनमा सहभागी भएका थिए । त्यो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप शुरु भएको थियो ।
बोतल, ढुंगा जस्ता वस्तु फ्याकिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।
प्रदर्शनकारीहरुले सडकमा अवरोध सृजना गरेको, सवारी साधनमाथि आगजनी गरेको, पसलहरु तोडफोड गरेको र प्रहरी हेलिकोप्टरका चालकलाई ताकेर चम्किलो प्रकाश छर्ने ‘लेजर’ को प्रयोग गरेको प्रहरीले बताएको छ ।
जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प लगायतका विश्वका शक्ति राष्ट्रका नेताहरु सहभागी हुने कार्यक्रम रहेको छ । उनीहरुले हावापानी परिवर्तन, व्यापार जस्ता जल्दाबल्दा विषयमा छलफल गर्ने कार्यक्रम छ ।
सम्मेलनको सुरक्षाका लागि ह्यामबर्गमा २० हजार प्रहरी परिचालन गरिएको छ । प्रदर्शनकारीहरुलाई सम्मेलनस्थल पुग्नबाट रोक्न सुरक्षा अवरोधहरु बनाइएको छ ।
शुक्रबार र शनिबार गरी ह्यामबर्ग शहरमा एक लाख प्रदर्शनकारी आइपुग्ने अनुमान गरिएको छ ।






























