च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौं । इङ्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन् ।

सेमिफाइनलमा आयोजक इङ्ल्याण्डलाई पराजित गर्दै पाकिस्तान तथा बंगलादेशलाई हराउँदै भारत फाइनलमा पुगेको हो ।

दुवै टोली एउटै समूहमा रहेर फाइनलसम्मको यात्रा तय गरेका हुन् । समूह चरणमा भारतले पाकिस्तानलाई १ सय २४ रनको फराकिलो अन्तरमा हराएको थियो ।

त्यसपछि भने पाकिस्तानले निकै सुधारिएको प्रदर्शन गर्दै लगातार तीन खेल जितेर फाइनलसम्मको यात्रा तय गरेको हो । भारतले पनि श्रीलंकासँग समूह चरणमा हार बेहोरेको थियो ।

एक दिवसीय र टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारत हावी हुँदै आएको छ । तर समग्र एक दिवसिय क्रिकेट खेलमा भने पाकिस्तानको रेकर्ड राम्रो छ ।

भारत र पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पहिलोपटक भिड्न लागेका हुन् भने आईसीसीको प्रतियोगिताको फाइनलमा १० वर्षपछि खेल्न लागेका हुन् ।