एजेन्सी । भारत र पाकिस्तानी क्रिकेट टिम आइतबार लण्डनको ओभल रंगशालामा च्याम्पियन्स ट्रफीको फाइनल प्रतिस्पर्धामा भिड्नका लागि तयार रहेका छन् ।
फेसबुकदेखि लिएर ट्विटरमा दुवै देशका क्रिकेट प्रशंसकबीच यो फाइनल खेललाई लिएर घोचपेच नै चलिरहेको छ ।
तर यसै समयमा भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी पाकिस्तानी कप्तान सरफराज अहमदका छोरा अब्दुल्लाहका साथ देखिएका छन् ।
सामाजिक सञ्जालमा यो तस्बिर वरिष्ठ पत्रकार राजदीप सरदेसाईले सार्वजनिक गरेका हुन् ।
सरफराज अहमदका छोरा यसै वर्षको फेब्रुअरीमा जन्मिएका हुन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यसमाथि रोचक टिप्पणी गरिरहेका छन् । ट्विटर प्रयोगकर्ता शिफा अब्बासीले यसलाई दिनको सबैभन्दा सुन्दर चिज भएको बताएका छन् ।