काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालमार्फत् स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोगको नीति लिएको नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले ब्यालेटको लडाइँमा घाइते सिपाही भएर अझ बढी सिकिरहेको बताएका छन् । काठमाडौंमा भएको क्रान्तिकारी बुद्धिजीवीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष किरणले यस्तो बताएका हुन् ।
राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठनको आयोजनामा भएको उक्त भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष किरणले ‘चुनावी मोर्चामा अवश्य हामी घाइते भएका छौं, हामीलाई चोट लागेको छ, चोट लागेको सिपाहीले नै लडाइँ कसरी जित्न सकिने रहेछ भन्ने कुरा अझ बढी सिक्न सक्छ, हामी सिकिरहेका छौं ।’ भने, “मोर्चाका योद्धाहरुले हार्ने लडाइँमा हिम्मतका साथ हाम्फालिरहेका छन् ।”
एक अर्को प्रसंगमा अध्यक्ष किरणले मधेसमा बहिस्कारको नाममा देश टुक्र्याउने खेल भइरहेको पनि बताए । सिके राउत र महन्थ ठाकुरको साँठगाँठ, भारतको सबैलाई समेटेर निर्वाचन गराउनु पर्छ भन्ने भनाइ, र राजपाको भूमिकाले विखण्डनकारीलाई वल पुगिरहेको पनि अध्यक्ष किरणले चर्चा गरे ।
वर्तमान प्रक्रियावादी संसदीय व्यवस्थाका पक्षधरहरुबीचको बढ्दो अन्तरविरोधले मुलुक नै असफलतातर्फ धकेलिएको चर्चा गर्दै अध्यक्ष किरणले सेना, प्रहरी, कर्मचारीभित्र बढ्दो गुटबन्दी, राजनीतिकरण, न्यायपालिका र कार्यपालिका बीचको चर्कदो अन्तर्विरोधले वर्तमान राज्यव्यवस्था विघटनतर्फ उन्मुख रेहको दावी गरे ।
क्रान्तिको लागि वस्तुगत परिस्थिति अनुकूल भएपनि आत्मगत अवस्था कमजोर रहेकोले यस्तो बेलामा क्रान्तिकारीहरुले संगठनको संजाल विस्तार र सुदृढीकरणमा जोड दिनुपर्ने कुरा पनि औल्याए । भने, “क्रान्तिको भविष्य उज्जल छ । त्यसका लागि प्रतिक्रियावादी राज्यव्यवस्थाका साथै दक्षिणपन्थी अवसरवादी र संशोधनवादीहरुको भण्डाफोरलाई तीव्र पार्न क्रान्तिकारी बुद्धिजीवीहरुले वैचारिक तथा राजनीतिक बहसको नयाँ मोर्चा खोल्नुपर्ने आवश्यकता छ ।”
क्रान्तिकारी बुद्धिजीवीहरुको उक्त भेलाले हुकुमबहादुर सिंहको अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपाल गठन गरेको छ ।





























