काठमाडौं । पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आयोजक इङल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो ।
वेल्सको राजधानी कार्डिफमा बुधबार राति भएको पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङल्याण्डले ४९.५ बलमा सबै विकेट गुमाएर २ सय ११ रन बनाएका थिए ।
इङल्याण्डका लागि जोए रुटले ४६ रन तथा जोनी बेयरस्टोले ४३ रनको योगदान दिए । कसिलो बलिङ गरेको पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुमन रईसले २–२ विकेट लिए ।
जवाफमा २ सय १२ रनको चुनौती पाकिस्तानले ३८ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि ओपनर ब्याट्सम्यानहरु अझर अलीले ७६ रन तथा फाखर जमानले ५७ रनको योगदान दिए ।
यसैगरी बाबर आजम ३८ रनमा तथा मोहोमद हफिज ३१ रनमा अविजित रहे । पाकिस्तानले अब उपाधीका लागि भारत र बंगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।






























