भारतको इशारामा चल्दैछ देउवा सरकारः बिजुक्छे

भारतको इशारामा चल्दैछ देउवा सरकारः बिजुक्छे

३१ जेठ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता बिजुक्छेले प्रधानमन्त्री देउवाले भारतकै इशारा अनुसार बाँकी स्थानीय चुनाव पनि दुई चरणमा गर्ने प्रस्थाव अघि सारेको आरोप लगाए ।

निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने भन्दै अध्यक्ष बिजुक्छेंले निर्वाचन अवधिसम्म आयोग सरकारको होईन सरकार आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राखे । तर त्यस विपरित निर्वाचन सार्ने खेलमा सरकार लागेको उनको आरोप छ ।

उनले सरकार राजपालाई संविधान संशोधनको बहानामा झुक्काइरहेको दावी गरे । सरकार राजपाको माग अनुसार संविधान संशोधन होइन ऐन संशोधनको तयारी भइरहेको बताए । उनले भने, ‘झुक्काएर होइन प्रष्ट पारेर राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ ।’

सरकारले स्थानीय तहका नाममा मनपरी रुपमा बजेट विनियोजन गरेर सरकारी सम्पति अनियमिता गरिरहेको बताउँदै उनले नगरपालिकामा कार्यकारी अधिकृत बाहेकका अरुलाई सरकारले तलब दिन नहुने धारणा राखे ।