पुणेमाथि एक रनको रोमान्चक जित निकाल्दै मुम्बई बन्यो आइपीएल च्याम्पियन

पुणेमाथि एक रनको रोमान्चक जित निकाल्दै मुम्बई बन्यो आइपीएल च्याम्पियन

हैदरावाद । इन्डियन प्रिमियर लिग (आइपीएल) को १० औं सिजनको उपाधी मुम्बई इन्डियन्सले जितेको छ ।

आइतबार राति हैदरवादमा भएको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई १ रनले पराजित गर्दै तेस्रो पटक आइपिएलको उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले खराब सुरुवात गरेको थियो । ८ रनमा नै पहिलो विकेट गुमाएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर मुम्बईले १२९ रनमात्र बनाएको थियो ।

मुम्बईका लागि कुणाल पाण्ड्याले सर्वाधिक ४७ रन बनाए भने रोहित शर्माले २४, मिचेल जोन्सनले १३, अम्बाती रायडुले १२ र हार्दिक पाण्ड्याले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

पुणेका लागि जयदेव उन्डाकट, एडम जाम्पा र डानियल क्रिस्टियनले दुई–दुई विकेट लिए ।

१ सय ३० रनको सामान्य लक्ष्य पाएको पुणेले प्रारम्भिक ब्याट्सम्यान राहुललाई चाँडै गुमाए पनि अजिन्क्या रहाणे र स्टेभन स्मिथले सम्हालिएर ब्याटिङ गर्दै स्कोर बोर्डमा दबाब पर्न दिएनन् ।

रहाणेले ४४ र स्मिथले ५१ रन बनाए । तर त्यसपछि पुणेका लागि महेन्द्र सिंह धोनीले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

पुणेलाई अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक थियो । मुम्बईका लागि मिचेल जोन्सनले बलिङको जिम्मेवारी सम्हालेका थिए । पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गरेपछि मुम्बई दबाबमा आएको थियो ।

तर अनुभवी बलर जोन्सनले दोस्रो बलमा तिवारीलाई र तेस्रो बलमा क्रिजमा निकै जमिसकेका ब्याट्सम्यान स्मिथलाई पनि आउट गरे । चौथो बलमा एक रन मात्रै बन्यो भने पाँचौं बलमा दुई रन बनेपछि अन्तिम बलमा जितका लागि चार रन आवश्यक भयो । तर अन्तिम बलमा २ रन मात्रै आएपछि पुणे एक रनले पराजित भएको हो ।