प्रिमियर लिगमा चेल्सीको १३ अंकको अग्रता, आर्सनल पराजित

प्रिमियर लिगमा चेल्सीको १३ अंकको अग्रता, आर्सनल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले आफ्नो अग्रता बढाएर १३ अंकको अग्रता बनाएको छ ।

शनिबारराति भएको खेलमा स्टोक सिटीमाथि २–१ को संघर्षपूर्ण जित हात पार्दै चेल्सीले तालिकामा फराकिलो अग्रता बनाएको हो ।

स्टोक सिटीको मैदानमा भएको खेलमा चेल्सीको जितमा विलियन र ग्यारी केहीलले एक–एक गोल गरे । स्टोक सिटीका जोनाथन वाल्टर्सले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।

शनिबाररातिकै अर्को खेलमा आर्सनललाई वेष्ट ब्रोमले ३–१ ले हराएको छ । वेष्ट ब्रोमको जितमा क्रेग डसनले दुई गोल गरे भने रोब्सन कानुले एक गोल गरे । आर्सनलका सान्चेजले एक गोल फर्काएका थिए ।

शनिबाररातिका अन्य खेलमा अन्य खेलमा लेष्टर सिटीले वेष्ट ह्याम युनाईटेडलाई ३–२ ले हरायो भनो एभर्टनले हल सिटीलाई ४–० ले, बर्नमाउथले स्वान्सी सिटीलाई २–० ले तथा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई १–० ले हराएका छन् । सण्डरल्याण्ड र बर्नलेबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबाररातिका खेलपछि २८ खेलबाट ६९ अंक जोड्दै चेल्सी शीर्ष स्थानमा यथावत छ भने एक खेल कम खेलेका टोटनह्याम हट्सपर र म्यानचेस्टर सिटी समान ५६–५६ अंकका साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।