काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रिय स्वाधीनताको प्रश्न झनै गम्भीर बनेर गएको बताएका छन् ।
साँस्कृतिक प्रतिरोध दिवस तथा क्रान्तिकारी युवा लिगको मार्चपास कार्यक्रमलाई राजधानीमा संबोधन गर्दै अध्यक्ष किरणले पछिल्लो समयमा भारतले कञ्चनपुरको सीमा क्षेत्रमा नेपाली जनतामाथि गोली चलाएर एक युवाको हत्या समेत गरेको घटनाबाट झनै राष्ट्रियता खतरामा परेको प्रष्टिएको बताए ।
कञ्चनपुरमा नेपाली सीमा क्षेत्रभित्र कलभर्ट बनाएको विषयमा समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विवाद सिर्जना गरी नेपाली पक्षमाथि गोली चलाएको घटनामा भारतले माफी माग्नुपर्ने उनको भनाई थियो ।
यति गम्भीर घटना हुँदा पनि भारत भ्रमणमा गएका गृहमन्त्रीले भारतीय प्रधानमन्त्री र गृहमन्त्रीसँगको भेटमा गम्भीरतापूर्वक कुरा राख्न नसकेको उल्लेख गर्दै उनले फेरि पनि पुरानै खालको अफसोच र दुःख मात्रै भएको टिप्पणी गरे ।
‘सरकारले राष्ट्रियताको गम्भीर प्रश्नलाई पनि गम्भीरतापूर्वक लिएको देखिएन,’ उनले भने, उनले भने, ‘भारतमा गएका गृहमन्त्रीले समेत त्यसलाई गम्भीर रुपमा कुरा उठाएको पाइएन, भारतीय प्रधानमन्त्री र गृहमन्त्रीसँग कुरा राखिएको भनिएपनि खाली अफसोच र दुःख मात्रै भएको छ ।’
उनले भारतको ज्यादतीको समेत विरोध गर्न नसक्ने सरकारलाई नपुंसक सरकार भएको टिप्पणी गर्दै त्यसको पनि विरोध गरे ।
उनले भारतीय शासक वर्ग झुकेर वर्षौसम्म उपनिवेशका रुपमा रहँदा समेत नेपाली नझुकेको उदाहरण दिँदै उनले नेपाली जनतामा स्वाभिमान रहेको उल्लेख गरे ।
‘हाम्रा पुर्खाले रगतको खोलो बगाएर भएपनि देशलाई कहिल्यै उपनिवेश बन्न दिएनन्, उनले भने, ‘हामीले हाम्रो सुरक्षा र राष्ट्रिय स्वाधीनताका लागि जागरुक र दृढ हुन जरुरी छ । राष्ट्रिय स्पाधीनताको रक्षाका लागि राष्ट्रिय स्वाधीनताको युद्ध गर्न पनि पछि पर्नु हुँदैन । भारतमा पनि नेपाली छन् । उनीहरुले पनि नेपालको राष्ट्रिय स्वाधीनताको युद्धमा साथ दिनेछन् ।’
उनले सप्तरी घटनामा सरकार, एमाले र मधेसी मोर्चा तीववटै शक्ति दोषी रहेपनि जनताको क्रुर हत्या गर्ने फासिस्ट सरकार मुख्य दोषी रहेको अध्यक्ष किरणको भनाई थियो ।
उनले आफूहरुले जनगणतन्त्रका लागि संघर्ष गरेपनि घुमिफिरी पुरानै संसदवाद आएको उल्लेख गर्दै जनतन्त्र र जनजीविकाका लागि फेरि नयाँ क्रान्तिको तयारी गर्नुपर्ने अवस्था आएको बर्था ।
अहिले देशमा दक्षिणपन्थी संशोधनवादको बिगविगी बढेको टिप्पणी गर्दै उनले कुनै समय क्रान्तिकारीको पक्षमा रहेकाहरु अहिले प्रतिक्रियावादी सत्ताको रक्षक बनेको उदाहरण पेश गरे । दक्षिणपन्थी अवसरवादको भण्डाफोर नगरीकन क्रान्तिको तयारी गर्न नसकिने उनको भनाई थियो ।
‘लाखौं युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिन बाध्य छन्, उनीहरुकै रेमिट्यान्समा चल्ने सरकार रोजगारी सिर्जना गर्नुभन्दा पनि देशका स्रोत साधन विदेशी शक्तिकेन्द्रलाई सुम्पिन तयार देखिएको छ, अध्यक्ष किरणले भने, ‘उनीहरुलाई स्वदेशमा फर्काउनका लागि पनि संघर्ष गर्नुपर्ने आवश्यकता छ ।’
नेपालका प्राकृतिक स्रोत र साधनलाई सदुपयोग गरी ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने उल्लेख गर्दै उनले माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता आयोजनाहरु स्वदेशी लगानीमा देशको हितका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले युवाहरुलाई राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा गम्भीरतापूर्वक सोचेर क्रान्तिको तयारीमा जुट्न निर्देशन दिए ।
अहिले स्थानीय निकायको निर्वाचनको विषयमा संविधान संशोधन अघि वा पछि भन्ने विवाद सिर्जना भएपनि त्यो विवाद क्रान्तिकारी शक्तिहरुबीचको नभई पुरानै संसदीय व्यवस्थामा रमाउने प्रतिक्रियावादी शक्तिको विवाद भएको उनले बताए ।
संसदीय व्यवस्थामा हुने निर्वाचनलाई क्रान्तिकारीहरुले आवश्यकताअनुसार उपायोग र बहिस्कार दुवै गर्न सक्ने भएकाले आफूहरुले त्यसबारेमा सचेत निर्णय लिने जानकारी दिए ।
अहिले निर्वाचनको विषयलाई लिएर मधेसी, जनजाति आदिले विरोध गरिरहेको उल्लेख गर्दै त्यसलाई नसुनेर वा अलग्याएर गरिने निर्वाचनको कुनै अर्थ नहुने स्पष्ट पारे ।
मधेसमा केही विखण्डनकारी सक्रिय भइरहेका बेला मधेसी मोर्चालाई समेत बाहिर राखेर निर्वाचन गर्ने र सबै शक्तिलाई निर्वाचनमा आउने वातावरण सिर्जना नगरी गरिने निर्वाचनले देशलाई टुक्राउने खतरा रहेको समेत उनले औल्याए ।
अहिलेको अवस्थामा चुनाव हुने वातावरण नदेखिएको उल्लेख गर्दै उनले सरकारले यी सबै कुरामाथि ध्यान नदिएर जबरजस्ती गरे देशकै भविष्य खतरामा पर्ने चेतावनी समेत उनले दिए ।