काठमाडौं । पछिल्लो सयम नेपाल सरकार भारतसँग नजिकिएको भन्दै सशंकित चीनले नेपालमा आफ्ना गतिविधिलाई बढाउँदै लगेको छ ।
चीनसँग नेपालले गरेका पारवहान लगायतका सम्झौताको कार्यान्वयनमा सरकारले उदासिनता देखाएको भन्दै चीन सशंकित बनेको छ ।
यसैबीच चीनले अगाडि सारेको ‘वान रोड वान वेल्ट(ओबीओआर)’ परियोजनामा नेपालले ठोस प्रस्ताव नगर्दा चीन थप सशंकित छ । उसले नेपाल सरकारको गतिविधिलाई सुस्मरुपले अध्ययन गरिरहेको छ ।
त्यसका लागि उसले महिनै पिच्छे आफ्ना प्रतिनिधि पठाउँदै आएको छ । चीनको ओबीओआर परियोजना सम्बन्धि उच्च स्तरीय टोलीले हालै नेपालको भ्रमण ग¥यो ।
अहिले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक युआन झिविङ नेतृत्वको उच्चस्तरीय टोली नेपाल भ्रमणमा छ । उसले नेपाल चीनबीचको सम्बन्ध र भएका सन्धी सम्झौताको कार्यान्वयनका विषयमा नेपाली उच्च नेतृत्वसँग भेट गरिरहेको छ ।
पछिल्लो समयमा लगातार चिनियाँ टोलीले नेपाल भ्रमण गर्दै यहाँका विभिन्न विषयमा चासो राख्दै आएको छ । गत ३ पुसमा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रोपोगान्डा प्रमुख लिउ छिपाओले नेपाल भ्रमण गरेका थिए । सो टोलीपछि नेपाल भ्रमण गर्ने यो नै उच्चस्तरीय टोली हो ।
प्रत्येक महिनाजसो चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलको टोली नेपाल आए पनि यस किसिमको उच्चस्तरीय टोलीले भ्रमण गरेको थिएन । गत पुसमै तिब्बत जनकंग्रेस प्रमुख बाइमा छिलिनले नेपाल भ्रमण गरेका थिए ।
त्यस्तै अबको महिना चीनका थप दुई उच्चस्तरीय टोलीसमेत नेपाल आउँदै छन् ।
दुई देशबीच भएका सम्झौताको कार्यान्वयन तथा वान रोड वान बेल्ट परियोजनाको विषयमा नेपाल र चीनबीच द्वीपक्षीय संयन्त्रको बैठकको तयारी भइरहेको छ ।
बैठकमा सहभागी हुन चीनका परराष्ट्र मामिला सम्बन्ध सहायकमन्त्री कोङसुयान्यू नेतृत्वको टोली नेपाल आउन लागेको छ ।
सयान्यु नेतृत्वको टोली चैत ७ गते नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रसचिव शंकरदास वैरागीको औपचारिक निमन्त्रणामा दुईपक्षीय संयन्त्रको बैठकमा सहभागी हुन चिनियाँ टोली नेपाल आउन लागेको हो ।
चीनका राष्ट्रपति सी जिङ पिङले सन् २०१३ मा अगाडि सारेको ओबीओआर परियोजनामा नेपालको सहभागिताको विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै चैतको दोस्रो साता चिनियाँ रक्षामन्त्री चाङ वाङक्वान नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल नेपाल आउँन लागेको छ । चैतको दोस्रो साता रक्षामन्त्री वाङक्वान नेपाल आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उनले आफ्ना समकक्षी खाँणसँग नेपाल चीन रक्षा सम्बन्ध र नेपाली सेनालाई चीनले उपलब्ध गराउने सहयोगबारे छलफल गर्ने बताइएको छ । रक्षामन्त्री खाँणका अनुसार चिनियाँ रक्षामन्त्री नेपाल आउने तय भए पनि उनको भ्रमण तालिका भने चीनले पठाइसकेको छैन ।
दुई देशबीचको संयुक्त सैनिक अभ्यासको तयारीको रूपमा समेत चिनियाँ रक्षामन्त्रीको भेटलाई हेरिएको छ । नेपाल र चीनका सेनाबीच सैन्य अभ्यासको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा उनले तयारीलाई समेत अवलोकन गर्ने बताइएको छ ।
गत असोजमा चीन भ्रमणमा गएका बेला रक्षामन्त्री खाँणले चिनियाँ समकक्षी चाङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । २५ असोजमा बेइजिङमा भेटवार्तामा चीन सरकारले सैन्य र विपत् व्यवस्थापन क्षेत्रमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उनको नेपाल भ्रमणका अवसरमा सो सहयोगको समेत घोषणा हुने मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच चिनियाँ सेनासँग नेपाली सेनाले पहिलो पटक संयुक्त सैन्य अभ्यास गर्न लागेको छ । सैन्य अभ्यासको तयारीका लागि नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथी विनोद श्रेष्ठ नेतृत्वको टोली बेइजिङ पुगेर चिनियाँ जनमुक्ति सेनासँग सैन्य अभ्यासको मोडालिटीबारे छलफल गरेको छ ।
भारत, अमेरिकालगायत देशसँग संयुक्त सैन्य अभ्यास गरेको नेपालले अहिलेसम्म चिनियाँ सेनासँग सैन्य अभ्यास गरेको छैन । चिनियाँ रक्षा मन्त्रालयले गत पुसमै नेपालसँग मार्चमा संयुक्त सैन्य अभ्यास हुने घोषणा गरेको थियो ।
चिनिया राष्ट्रपति सी जिङ पिङ्ले वर्ष २०१७ मा नेपाल भ्रमण गर्ने बताइरहेको अवस्थामा यो भ्रमण फलदायी हुन सक्छ । चीनले आफ्ना राष्ट्रपतिलाई नेपाल भ्रमणमा पठाउनु अगाडि नेपालबाट भ्रमणका बेला हुने सहयोग तथा सम्झौताका बारेमा प्रस्ताव चीनले चाहेको छ ।
तर नेपाल सरकारले भने भ्रमणको योजनालाई प्रस्तुत गर्न सकिरहेको छैन् । राष्ट्रपति सीका विस्वासका पात्रका रुपमा रहेका रक्षामन्त्री वाङक्वानले नेपालको अवस्थाका बारेमा सिधै सीसँग रिपोटिङ गर्ने छन् । उनको रिपोटिङको आधारमा राष्ट्रपति सीको भ्रमण हुने या नहुने भन्ने टुंगो लाग्ने स्रोतले बतायो ।
चिनियाँ राष्ट्रपति सी दक्षिण एसियाका नेपाल र भुटान बाहेक सबै देशमा पुगिसेका छन् । भुटानमा चीनको मामिला दिल्लीस्थित चिनियाँ नियोगले हेर्दै आएको छ । त्यसैले पनि भुटान चीनको प्राथपिकतामा छैन् । यता नेपाल प्राथमिकतामा पर्दा पर्दै पनि सीको भ्रमण भने हुन सकिरहेको छैन् ।
आर्थिक शक्तिको रुपमा उदाँउदै गएको चीनले दक्षिण एसियामा आफ्नो प्रभाव विस्तारका लागि नेपाललाई उपर्युक्त मान्दै आएको छ । चीनमा अध्ययनका लागि गएको पत्रकार वुद्धि शर्मा भन्छन्, ‘नेपाल चीनका लागि दक्षिण एसियामा व्यापार विस्तारका लागि केन्द्र हुन सक्छ, त्यसलै पनि चीनले नेपाललाई प्राथमिकतामा राखेको छ, यसको फाइदा नेपालले लिन सक्नुपर्छ ।’
चीन अझै पनि पर्ख र हेरको स्थितीमा रहेको भन्दै शर्माले त्यसका लागि चीनले नेपालका हरेक गतिविधि गौण रुपमा नियालिरहेको बताए । चीनले चासो र प्राथमिकतामा राख्दा राख्दै पनि नेपाल सरकार र नेपाली राजनीतिक नेतृत्वको भारतीय दलाली प्रवृत्तिका कारण नेपालले फाइदा लिन सकिरहेको छैन् । र चीन सँधै सशंकित हुँदै आएको छ ।