
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
लिभरपुलको मैदान एनफिल्डमा भएको खेलमा चेल्सीले अग्रता लिएर पनि जोगाउन सकेन भने डिएको कोस्टाले पेनाल्टी सदुपयोग गर्न नसक्दा महत्वपूर्ण ३ अंक प्राप्त गर्नबाट बञ्चित भयो ।
चेल्सीका लागि डेभिड लुईजले खेलको २५ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा लिभरपुलका जर्जिनो अहाल्दमले गोल फर्काउँदै खेल बराबरीमा पु¥याए । खेलको ७७ औं मिनेटमा पाएको पेनाल्टीलाई कोस्टाले गोलमा परिणत गर्न सकेनन् ।
प्रिमियर लिग अन्तर्गत मंगलबारराति नै भएको अर्को खेलमा आर्सनललाई उसकै मैदानमा वाट्फोर्डले पराजित गरेको छ ।
वाट्फोर्डको जितमा योनुस काबुल र ट्रोए डिनीले एक एक गोल गरेका थिए भने आर्सनलका लागि अलेक्स ईओबीले एक गोल फर्काए ।
प्रिमियर लिग अन्तर्गत राति भएका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले सण्डरल्याण्डसँग गोलरहित बराबरी खेल्दा मिडिल्सब्रो र वेष्ट ब्रोमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
यस्तै क्रिष्टल प्यालेसले बर्नमाउथलाई २–० ले हराँउदा बर्नलीले लेष्टर सिटीलाई १–० ले हराएको छ । रातीका खेलहरुपछि प्रिमियर लिग फुटबलमा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायम छ ।
समान खेलबाट ४७÷४७ अंक जोडेका टोटनह्याम हट्सपर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् भने चौथो स्थानमा रहेको लिभरपुलको ४६ अंक रहेको छ ।