
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको प्रमुख घटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा पूर्व परराष्ट्रमन्त्री रहेकी काँग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख सहयोग गरेको बताएका छन् ।
विशिष्ट व्यक्तिहरुलाई जथाभावी खर्च दिने परम्परा गलत भएको भन्न भने दाहालले छुटाएनन् । ‘सुजाता कोइराला नेपाली कांग्रेसको एकजना वरिष्ठ महिला नेता पनि हुनुभयो, गिरिजाप्रसाद कोइरालाको छोरी पनि हुनुभयो, उहाँलाई घातक रोग पनि लागेको छ, उहाँले एक करोड मागेर मेरै नाममा चिठ्ठी पनि पठाउनुभएको छ,’ कान्तिपुरको कार्यक्रम फायर साइडमा अन्तर्वार्ता दिंदै उनले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवाजीले जसरी पनि दिनैपर्यो भनेपछि यस्तो निर्णय गरिएको छ ।’
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदमा भीभीआईपीको उपचार खर्चबारे नयाँ प्रस्तावमा छलफल जारी रहेको पनि उल्लेख गरेका छन् । नयाँ नीति नबनेको अवस्थामा कोइरालालाई ५० लाख सहयोग दिएको उनको भनाई थियो ।
