अध्यक्ष किरणलाई बर्हिगमित जनसेनाको ज्ञापनपत्र

अध्यक्ष किरणलाई बर्हिगमित जनसेनाको ज्ञापनपत्र

काठमाडौं । बर्हिगमित जनसेनाको एक समूहले नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य किरणलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संयुक्त राष्ट्र संघीय मिसन अनमिनले नेपाली सेनामा समायोजनका लागि अयोग्य घोषणा गरेर शिविरबाट हटाएका बर्हिगमित जनसेनाले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

सोही अनुसार उनीहरुले आफूहरुमाथि लगाएको अयोग्यको पदावली हटाएर गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, बर्हिगमित जनसेनालाई जनसेनासरह व्यवहार गर्नुपर्ने, पक्राउ गरिएका जनसेनालाई तत्काल रिहा गर्नुपर्ने, घाइते, मानसिक रुपमा बिरामी र आघातमा परेकाहरु तथा अशक्तलाई औषधि उपचारको व्यवस्था र सरकारले विशेष सहयोग कार्यक्रम ल्याउनुपर्नेलगायतका माग राखेर उनीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले यस्तै माग राखेर मंगलबार दिउँसो माओवादी केन्द्रका केन्द्रीय कार्यलय पेरिसडाँडा घेराउ कार्यक्रम राखेका थिए । तर, घेराउ गर्न पाएनन् । उनीहरुले यसअघि पनि पेरिसडाँडा नियन्त्रणमा लिने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।