मुन्ना खान सडकमा छ

मुन्ना खान सडकमा छ

कविता

मुन्ना खान खुलेआम माइतिघरमा उभिएर
सरकारविरोधी नारा लगाइरहेको छ
सरकार ! हामीलाई नागरिकता दे
हामीलाई लालपूर्जा दे
भारतले लुटेको भूमि फिर्ता गरिदे सरकार !

हातमा सुस्ताको माटो बोकेर
मुन्ना खान सडकमा उभिएको छ
उसले शान्तिसुरक्षामा खलल गर्दैछ
उसले सरकारको काममा भाँजो हाल्दैछ
सुस्तादेखि महिलासहितको जुलुस ल्याएर
मुन्ना खान माइतिघरमा सरकारविरोधी नारा लगाइरहेको छ ।

मुन्ना खान किन बुझ्दैन
सुस्ता भारतले हैन हामीले मिचेको हो
हाम्रा प्रधानमन्त्रीको महान् बाणी
किन बुझ्दैन मुन्ना ?
सुस्ताबासी उठाएर किन
सडकमा रमिता गरिरहेछ मुन्ना ?
एसएसबीको गोलीले छियाछिया भएको खुट्टा देखाउँदै
मुन्ना खान किन उत्तेजित गरिरहेछ जनता ?
ऊ किन बुझ्दैन यो सरकार जेन जीको हो
ऊ जेन जी हैन भन्ने कुरा किन बुझ्दैन मुन्ना ?

सुस्ताको माटो बोकेर
काठमाडौं आउनुहुन्न भन्ने कुरा किन बुझ्दैन ऊ ?
यो समय छिमेकीविरुद्ध नारा लगाउनु भनेको
सरकारलाई अप्ठ्यारोमा पार्नु हो भन्ने कुरा
किन बुझ्दैन मुन्ना ?
ऊ किन सरकारी नीतिको बर्खिलाप गरिरहेको छ ?
किन सुस्ता हाम्रो पहिचान हो भन्दै चिच्याइरहेको छ ?
किन माइतिघरको चर्को घाममा उभिएर
सरकारविरोधी नारा लगाइरहेको छ ?
सरकार ! ऊ जत्तिको खतरनाक छ
उत्तिकै खतरनाक छ उसले बोकेको माटो
उसले जे मागिरहेको छ त्यो झनै डरलाग्दो छ
उसले सुस्ताको पहिचान माग्दैछ
उसले सुस्ताको अधिकार माग्दैछ
ऊ अनागरिक हो सरकार !
ऊ महान् बलिदानविरुद्ध नारा लगाउने विद्रोही हो ।
सरकार ! उसको आवाज बन्द गर !
मुन्ना खान अहिले पनि सडकमै छ
उसलाई गिरफ्कतार गर !