सरकार छ देशमा
सुस्तामा कहिल्यै उपस्थित भएन सरकार
राणादेखि गणतन्त्रसम्म
सुस्ताको लागि सकसकाल बनिरहेछ
नारायणीले धार बदल्यो
छिमेकीले नियत बदल्यो
आफ्नै मातृभूमिमा
दिनदहाडै सिमा मिच्दै
लुटिए खेतबारी
हुँदाहुँदा
आफ्नै घर आँगनमा
आफ्नै छातिमा सङ्गिन घोंच्न
छिमेकीका काला बुटहरू आउँदा
सुस्ताले कहिल्यै हारेन
सुस्ताबासी कहिल्यै हार मानेनन्
सलाम छ सुस्ता र सुस्ताबासीहरूलाई ।
जनताका सेवक
देशका शासक भन्दा बढी
विस्तारवादका सेवक बन्न उद्यत जमातहरू
राजधानीका सरकारी वातानुकुलित महलका
राजकीय भोजका रङ्गीन चुस्कि र कालो धुवाँमा रमाउँदै
उनै सिमा मिचाहाका अति विशिष्ट पाहुना बन्दै
देशभक्तिका ठुल्लठुला भाषण गर्छन्
सुस्ताबासीलाई आश्वासनका अनेक पोका पस्किँदै
इतिहासका अनेक कालखण्डहरूमा
जती राष्ट्रघात गरेपनि
सुस्ताबासीहरू चिसो मौसमको
शितलहरको कठ्याङ्ग्रिने चिसो कहर
गर्मीयामका तातो रापको प्रहारको प्रवाह नगरी
निशस्त्र सिमारक्षक बनिरहेका छन्
सलाम छ ती सुस्ताबासी देशभक्तहरूलाई ।
सुस्ता रुँदा सुस्तासित आँशु बगाउने
सुस्ता हाँस्दा सुस्तासितै मितेरी लगाउने
सुस्ताबासीहरू
देशको सेना टुडिखेलहरूमा परेड खेल्दा
सिमा मिचाहाहरूसित पौठेजोरी खेलिरहेछन्
देशका शासकहरू न्युन आवश्यक्ताका
पूर्वाधार निर्माण नगरी
सुस्ताबासीलाई बर्खाको भेलमा
नारायणीको डरलाग्दो वहावसित मितेरी लगाउन
विवस बनाउँदा पनि सुस्ताबासी
देशको सार्वभौमिकता खातिर
अभेद्य किल्ला बनिरहेछन्
छिमेकका हतियारधारी भुस्तिघ्रेहरूको
निशस्त्र प्रतिकार गरिरहेका छन्
सलाम छ सुस्ताका सशक्त देशभक्तहरूलाई ।
देशको प्रधानमन्त्रिले
सार्वभौम संसदमा उभिएर
गर्वका साथ हामीले सिमा मिचेका छौं भन्दै
देशभक्तहरूको आत्मसम्मानमा परेको घाउमा
नुनचुक दलिरहँदा
खुर्सानीको धुलो छर्किरहँदा
सुस्ताबासीहरू दुस्मनलाई लखेटिरहेछन्
असिनपसिन हुँदै कठ्याङ्ग्रिदै
भोको पेट र नाङ्गा खुट्टा
मातृभूमिको माटोमा रगड्दै
लखेटिरहेछन् निरन्तर
लखेटिरहने छन् जिवनभर ।






























