चितवनमा वर्गसङ्घर्षको सङ्क्षिप्त इतिहास

चितवनमा वर्गसङ्घर्षको सङ्क्षिप्त इतिहास

संस्मरण

केन्द्रीय सत्ता विरुद्ध सङ्घर्ष मात्रै हैन, स्थानीय जनसङ्घर्ष र वर्गसङ्घर्षमा पनि चितवनले आफ्नो इतिहास आफैँले लेखेको छ, रगतले लेखेको छ । थुप्रै सानाठूला सङ्घर्षका बिच कम्युनिस्ट आन्दोलनमा दीर्घकालीन प्रभाव पारिरहने जुगेडी र जुटपानी सङ्घर्ष उल्लेख्य छन् ।

जुगेडी सङ्घर्ष 

पहाड उठ्यो, जुगेडी गज्र्यो नेपाल थर्कायो
भोका र नाङ्गा जनताले आफ्नो बाटो देखायो
– गाउँले साईंला (रूपलाल विश्वकर्मा)

चितवनको राजनीति विशेषतः कम्युनिष्ट राजनीतिमा रूपलाल विश्वकर्माको भूमिका उल्लेखनीय छ । २०१८ सालमा पुण्यप्रताप राणाबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका विक कम्युनिष्ट पार्टीभित्रका तत्कालीन अन्तरसङ्घर्षमा सहभागी हुँदै विभिन्न समूहमा रहँदै २०२९–३० सालतिर आफ्नै नेतृत्वमा किसान सङ्घर्ष समिति गठन गरे । जनताका गुनासोहरूको एक वर्ष बढी अध्ययन गरेपछि सो समूहको इलाका समितिले जुगेडीका ‘धर्मे साहु’ भनिने ध र्मराज मुल्मीलाई कारबाही गर्ने निर्णय गरी अनुमोदनका लागि जिल्ला समितिमा पठायो र सो निर्णय जिल्ला समितिले अनुमोदन ग¥यो । मुग्लिन–नारायणगढ बाटो खुल्नुभन्दा पहिले जुगेडी बजार चितवनका पहाडी क्षेत्र र पारि तनहुँको सीमावर्ती गाउँहरूका लागि एक महत्वपूर्ण व्यापारिक केन्द्र थियो । चितवनको काउले, दारेचोक, चण्डिभञ्ज्याङ, कविलास, दाहाखानीका मान्छेहरू बेसाउन, बजार भर्न जुगेडी बजार आउँथे । साहु–महाजनहरूको मनपरि थियो । गाउँलेहरूका गरगहना, भाँडाकुँडा र जग्गासमेत सस्तो मूल्यमा बन्दकी राख्ने र चर्को ब्याज असुल्ने साहु–महाजनहरूका कारण गाउँलेहरू झन् गरिब हुँदै गएका थिए । जनता र साहु–महाजनबिचको यही अन्तर्विरोध पहिचान गरेर मुल्मीमाथि कारबाहीको निर्णय गरिएको थियो ।

२०३४ असार ५ गते बेलुकी नै आफूलाई पायक पर्ने ठाउँमा भेला हुने र ६ गते बिहानै जुगेडी बजारमा जम्मा हुने योजना थियो । चार–पाँच सय मानिस ६ गते झिसमिसे बिहानै जुगेडी बजारमा आइपुगेका थिए । बजारमा खैलाबैला मच्चियो । योजनाअनुसार कमान्डर कालिदास न्यौपाने (दिनेश) ले सिट्ठी बजाएर पहिल्यै विभाजन गरिएका समूहहरूलाई कासन गरे । बाटो र नारायणी नदीसमेत निगरानीमा राखियो । मानिसहरू धर्मे साहुको घर पुग्दा उनी घरमा थिएनन् । धर्मे साहुलाई नभेटेपछि मानिसहरू अर्का साहु सानुलाल जोशीको खोजी गर्न थाले । सानुलाल भागेर रामनगर पुगे र प्रहरीलाई खबर गर्न भ्याए । धर्मराज मुल्मीको दोकानबाट अन्नपात र सानुलालको दोकानबाट लत्ताकपडा पोको पारेर सबै जना पूर्वनिर्धारित गन्तव्यतिर लागे ।

सिमलभञ्ज्याङमा नेता रूपलाल कुरेर बसेका थिए । करिब दुई घण्टा उकालो चढेपछि कारबाही टोली सिमलभञ्ज्याङ आइपुग्यो । रूपलालले टोलीलाई धन्यवाद र बधाइ दिए । उनले कारबाहीको महत्वका बारेमा पनि प्रशिक्षण दिए । कब्जा गरिएका सामान बाँडफाँड गर्दागर्दै प्रहरी आइपुग्यो । प्रहरीले चलाएको गोली लागि दशरथ चेपाङ सहिद भए । घेरा तोड्दै गर्दा लडेर घाइते भएका सन्तबहादुर चेपाङलाईसमेत गोली ठोकेर मा¥यो । थुप्रै विद्रोहीहरू घाइते भए । प्रहरीले नन्दलाल चेपाङ, लक्ष्मण गुरुङ, टेस्टबहादुर गुरुङ, रुद्रबहादुर चेपाङ, पूर्णबहादुर विक, पूर्णलाल विक, गोपाल प्रजा, पदमबहादुर गुरुङ आठ जनालाई गिरफ्तार ग¥यो । गिरफ्तार गरिएका नन्दलाल चेपाङको जेलभित्रै मृत्यु भयो । जेलमा भोगेको चरम यातनाका कारण जेलमुक्त भएको केही दिनमै रुद्रबहादुर चेपाङको पनि मृत्यु भयो । यसरी जुगेडी सङ्घर्षमा तीन जना सहिद भए । गिरफ्तार गरिएकाहरू आठ वर्षसम्म बन्दी जीवन बाँचेर अधमरो शरिर लिएर घर फर्किए । वर्षौंदेखि साहु–महाजनको उत्पीडन सहँदै आएका जनता, अझ त्यसमा पनि पिछिडएका जाति र भूगोलको सहभागितामा भएको यो सङ्घर्ष नेपालको कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक सङ्घर्षका रूपमा स्थापित छ । २०४८ मा सम्पन्न नेकपा (एकता केन्द्र को एकता महाधिवेशनको निर्णय अनुसार असार ६ गतेलाई ‘किसान दिवस’को रूपमा मनाउने गरेका छन् ।

जुटपानी सङ्घर्ष

जुटपानी क्षेत्र बोटे, कुमाल र दरैहरूको बाहुल्य क्षेत्र थियो । पछि बाहुन, क्षेत्री र अन्य जाति पनि बसाई–सराई गरी आउन थाले । बस्तीको विकास साहु–महाजनहरूले सोझा जनताका जग्गा–जमिन बन्धकी र चर्को ब्याजको जालोमा पारेर हात पार्न थाले । होमबहादुर थापा प्रधानपञ्च र मेघनाथ अर्याल उपप्रधानपञ्च थिए । यी दुवै बसाई–सराई गरी नाममात्रको सम्पत्ति लिएर आएका थिए तर जनताको सम्पत्ति कुम्ल्याउन सिपालु यिनीहरूले छिट्टै गाडी, ट्याक्टर किने, मिल राखे र बिघौँ–बिघा जग्गा–जमिन जोडे । जनताको सम्पत्ति मात्रै हैन, छोरी–बुहारीमा पनि आँखा लाउन थाले ।

सर्वहारावादी श्रमिक सङ्गठनको नेतृत्वमा सामन्तहरू विरुद्ध जुलुस निकालियो । २०३६ साल जेठ २ गते जुलुसमा महिलाहरूको उल्लेख्य सहभागिता थियो । मेघे र होमेलाई जनताले नियन्त्रणमा लिए । मेघेले खाएको कुमाल्नीको जग्गा फिर्ता गर्न कबुल गराए । जनताले उसको मील नियन्त्रणमा लिएर झण्डा गाडे र ताला लगाइदिए । भोलिपल्ट ३ गते जनता कार्यक्रममा जुट्न नपाउँदै प्रहरीले गाउँ घेरा हाल्यो । पदम थोकर, रामबहादुर थोकर, सलिम मोहम्मद शेख, भवानीप्रसाद दवाडी, ईश्वरी भट्टराई, शङ्कर रायमाझी, तेजराम आचार्य, राम रिजाल, गोरखबहादुर श्रेष्ठसमेतलाई हिरासतमा लिएर कठोर यातना दियो । सलिम मोहम्मद शेख, रामबहादुर थोकर र भवानीप्रसाद दवाडीहरूलाई पुर्पक्षका लागि जेल चलान ग¥यो । २३ महिनापछि मुद्दा जितेर वीरगंज जेलबाट उनीहरू छुटे । त्यसपछि पनि जनताको सङ्घर्ष जारी नै रह्यो । धर्मबहादुर थापा, लीलाबहादुर रायमाझी, गुञ्जबहादुर श्रेष्ठसहित २२ जनालाई पक्राउपूर्जी जारी ग¥यो ।

२०३७ साल मङ्सिर २७ गते जुटपानीको कार्की बुढो भनिने व्यापारी विरुद्ध विद्रोह गर्ने निर्णय थियो । योजनामुताबिक दिउँसो ३ बजे सबै जना जुटेर कार्कीको घरमा धावा बोले । हमलाको निर्णय पहिल्यै प्रहरीकोमा पुगिसकेको रहेछ । अचानक भित्र लुकेर बसेका प्रहरीले गोली चलाउन सुरु गरे । जनताले ढुङ्गा–मुढाले प्रतिरोध गरिरहे, प्रहरीको गोली लागेर कर्णबहादुर बुढाथोकी सहिद भए । गोठाल्नी प्रजा, प्याकेरामी प्रजा, उजेली गुरुङ, कालिमा प्रजासहित दस जनालाई प्रहरीले गिरफ्तार ग¥यो । जनसङ्घर्षका बिचबाट प्रहरीले महिलालाई सम्भवतः पहिलोचोटि गिरफ्तार ग¥यो । अस्वाभाविक क्षतिका कारण यो सङ्घर्ष असफल भयो तर समानताको लडाइँमा चितवन मात्रै हैन नेपालकै ग्रामीण वर्गसङ्घर्षमा एक उदाहरण एवम् शिक्षाको रूपमा सधैँ प्रेरणाको स्रोत बनिरहेको छ ।

काङ्ग्रेस – कम्युनिस्ट सङ्घर्ष

कम्युनिस्ट आन्दोलन राज्यसत्तासँग मात्रै हैन विभिन्न फरक विचारका सङ्गठनहरूको पनि दमनलाई झेल्दै खडा भएको हो । राज्यसत्ताका मतियार पञ्च, मण्डलेको निशानामा कम्युनिस्ट कार्यकर्ताहरू पर्दै आएका थिए । कम्युनिस्ट पार्टी लोकप्रिय बन्दै जान थालेपछि काङ्ग्रेसको समेत आँखामा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू बिझ्न थाले । चितवनका पुराना पुस्तामा काङ्ग्रेसको प्रभाव बढी थियो भने युवा–विद्यार्थी माझ कम्युनिस्टको प्रभाव बढ्दो थियो । विद्यार्थी सङ्गठनहरू राजनीतिक गतिविधिका प्रमुख आधार हुन्थे । चितवनको कम्युनिस्ट÷विद्यार्थी आन्दोलनमा सहिद शिव पौडेल र मित्रमणि आचार्यको हत्या एक अलग इतिहासको रूपमा दर्ज भएको छ ।

सहिद शिव पौडेल

चितवनको वीरेन्द्र क्याम्पसमा नेविसङ्घ र अखिल प्रतिस्पर्धी विद्यार्थी सङ्गठन थिए । २०३६ सालको जनआन्दोलनपछि अखिलको सङ्गठन झन् बिस्तार भइरहेको थियो । नेविसङ्घका कार्यकर्ताहरू बिनाकारण द्वन्द्व निम्त्याउन खोज्दै थिए । २०३७ साल चैत १ गते नेविसङ्घका कृष्णहरि कोइरालाले क्याम्पस हाताभित्रै नाङ्गो चक्कु प्रदर्शन गरे । अचानक उनले अखिलका विद्यार्थी नेता शिव पौडेलको छातीमा चक्कु घोपे । अस्पताल भर्ना गरिएको केही क्षणमा शिव पौडेलको मृत्यु भयो । यो घटनामा परी रविन्द्र शर्मा, हरि तामाङ र नन्दबहादुर पुनलगायत घाइते भए ।

सहिद मित्रमणि आचार्य

चितवनको रामपुर क्याम्पस अखिलको विद्यार्थी सङ्गठनको गढ थियो । त्यस क्याम्पसको स्ववियु निरन्तर अखिलले जित्दै आएको थियो । स्थानीय काङ्ग्रेस नेताहरूलाई यो खपिनसक्नुको इखको विषय बनिरहेको थियो । रामपुर क्याम्पसका स्ववियु सभापति हुनुहुन्थ्यो – मित्रमणि आचार्य । उहाँ स्ववियु मात्रै हैन वरपरका जनता माझ पनि लोकप्रिय हुनुहुन्थ्यो । २०४२ साल वैशाख १८ गते एक स्थानीय विद्यार्थीको विषयमा छलफल गर्न आफ्ना साथीहरू विजय भुजेल, टीका पोखरेल, गीतामणि पाण्डे, मधु गुरुङ, प्रज्ञा गुरुङ, विष्णु थापासहित शुक्रनगरबाट मेघौली–पर्साढाप जाने क्रममा बाटोमै उहाँहरूमाथि आक्रमण भयो । गाडी नै लिएर एक सय हाराहारीमा नारायणगढ बजारदेखिकै गुण्डाहरूको समूह हातमा खुँडा, खुकुरी, तरबार बोकेर आएका थिए । आफूहरूमाथि आक्रमण हुन सक्ने आशङ्काले मित्रमणिहरू स्थानीय बुद्धिमान चौधरीको घरमा पस्नुभयो तर काङ्ग्रेसी गुण्डाहरूको समूह घरको ढोका फोरेर भित्रै पसी आक्रमण गर्न सुरु ग¥यो । आक्रमणको जानकारी पाएपछि पर्साढापमा छलफलका लागि जुटेको जनसमूह पनि घटनास्थलतर्फ दौडिँदै आएपछि आक्रमणकारीहरू त्यहाँबाट भागे । गम्भीर घाइते मित्रमणि आचार्यको त्यही राति २ बजेर ५ मिनेट जाँदा (वैशाख १९ गते बिहान) भरतपुर अस्पतालमा मृत्यु भयो । विजय भुजेल, टीका पोखरेल, गीतामणि पाण्डे, विष्णु थापाहरू उपचार पछि घाइते जिन्दगी बाँचिरहनुभएको छ ।

चितवनमा जनयुद्ध

जनयुद्ध इतिहासका अनगिन्ती सङ्घर्षहरूबाट पाठ सिक्दै नेपाली धर्तीमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथ–प्रदर्शक सिद्धान्तको रूपमा अङ्गिकार गरेर थालिएको मुक्ति युद्ध थियो । यो जनताको बलमा गरिने सशस्त्र सङ्घर्ष थियो । यसले सामन्तवादको अन्त्य गर्दै नयाँ जनवादी राज्य व्यवस्था हुँदै समाजवाद र साम्यवादसम्मको सिधा र स्पष्ट कार्यक्रम तय गरेर सुरु भएको जनयुद्ध छिट्टै जनता माझ स्थापित भयो । फागुन १, २०५२ का दिन रोल्पा, गोर्खा र सिन्धुलीमा राज्यका संयन्त्रका साना इकाइमाथि घरेलु हतियारसहित कारबाही गरेर सशस्त्र जनयुद्धको सुरुआत भयो । अनेकौँ सीमा÷कमजोरीका बावजुद दस वर्षसम्म चलेको सशस्त्र सङ्घर्षले उत्पीडित वर्ग, जाति÷समुदाय, क्षेत्र र लिङ्गका मान्छेहरूमा यसले साहस र चेतनाको वृद्धि ग¥यो । जनताको आफ्नै कम्युन, जनमुक्ति सेना, जनसरकारसमेत निर्माण गरेर अघि बढेको जनयुद्ध दोस्रो जनआन्दोलनमार्फत राजतन्त्रको अन्त्य एवम् विगठित प्रतिनिधि सभाको पुनस्र्थापनापश्चात् (२०६३ साल वैशाख ११), अन्तरिम संविधान घोषणा एवम् अन्तरिम व्यवस्थापिका संसदको गठन (२०६३ साल माघ १) लगायत राजनीतिक परिवर्तनसहित संविधान सभाको निर्वाचनमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनाको सहमतिमा २०६३ साल मङ्सिर ५ गतेका दिन बृहत् शान्ति सम्झौतामार्फत जनयुद्ध अन्त्यको घोषणा भयो । जनयुद्धको क्रममा चितवनले आफ्नो भूमिका पूरा गर्न कुनै कसर बाँकी राखेन । सुरुआतमा जनयुद्धको प्रचार, व्यवस्थापन, आपूर्तिलगायत काम गर्दै चितवनले आफूलाई राजनीतिक, साङ्गठनिक (पार्टी÷सेना र मोर्चा र प्राविधिक) हिसाबले तयार गर्दै रह्यो ।

जनयुद्धको तीव्रतासँगै सत्ताको दमन पनि बढ्न थाल्यो । सत्ताको दमनले जनताको प्रतिरोधलाई झन् बढाउँछ । माओवादी समर्थक भएकै कारण गिरफ्तार गर्ने, यातना दिने, झुठो मुद्दा लगाउनेजस्ता कामले प्रतिरोधी चेतनालाई फस्टाउन मद्दत ग¥यो । सयौँको सङ्ख्यामा मानिसहरू गिरफ्तार भए । गिरफ्तार गरिएका थुप्रै मान्छे नक्कली मुठभेडमा मारिए, कैयौँ बेपत्ता बनाइए । दोहोरो भिडन्तमा परी जनताका धेरै छोराछोरी सहिद भए । चितवनलाई कार्यक्षेत्र बनाएर बाहिरी जिल्लाबाट आएर चितवनमा सहिद हुनुहुनेहरूको जस्तै चितवनबाट अन्य जिल्लामा गएर सहिद हुनुहुनेको सङ्ख्या उल्लेख्य छ । चितवनले नै जनयुद्धका केन्द्रीय पहलकर्ताहरूमध्येका प्रचण्ड र बादल उत्पादन ग¥यो । चितवनका दण्डपाणि न्यौपाने राज्यद्वारा गिरफ्तार गरी बेपत्ता पारिनुभएका केन्द्रीय सदस्य हुनुहुन्छ । जनयुद्धकै नकारात्मक घटनामध्ये एक बाँदरमुढे घटना चितवनसँगै जोडिएर आउँछ । चितवनबाट जनयुद्धको क्रममा बलिदान हुने सहिदहरूको सङ्ख्या केशव रिमाल (समर) र शारदा श्रेष्ठ (ऋतु दुई जना जिल्ला इञ्चार्ज सहित ९२ र राज्यद्वारा बेपत्ता योद्धाहरूको सङ्ख्या १८, तत्कालीन एकीकृत नेकपा (माओवादी) को कार्यालयमा स्थापित सहिद स्मारकमा उल्लेख भएअनुसार भए पनि विभिन्न जिल्लाबाट जनयुद्धकै क्रममा बसाई–सराई गरी आउनुहुने परिवारका सदस्य सहिद तथा बेपत्ता योद्धाहरूलाई समावेश नगर्दा यो सङ्ख्या कम हुन आउँछ ।

दोस्रो जनआन्दोलन

दरबार हत्याकाण्ड (२०५८ साल जेठ १९) मा तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्रले सेना परिचालन गरे । यो बिचमा युद्धरत नेकपा (माओवादी) पार्टीसँग वार्ता भए तापनि ती वार्ताहरू निष्कर्षमा पुग्न सकेन । २०६१ साल माघ १९ का दिन नाममात्रको संवैधानिक राजतन्त्रलाई अन्त्य गर्दै प्रतिनिधि सभा विघटन गरेर संसदीय दलहरूमाथि अघोषित प्रतिबन्ध लगाए । राजाको यस कदमको विरोधमा चितवनमा पनि संसदवादी दलका नेताहरूले कालो झण्डासहित विरोध प्रदर्शन गरे । जेपी भेटवाल, देवी ज्ञवाली, रामकृष्ण घिमिरे, रमाकान्त सापकोटा, बालकृष्ण पौडेल, रामसिं विक, रणेन्द्र बरालीसहितका नेताहरूलाई गिरफ्तार गरी एक महिनासम्म थुनामा राखे ।

देशैभरि यस्ता प्रदर्शनमाथि भएका दमनले संसदवादी दलहरूलाई जनयुद्ध लडिरहेको माओवादी पार्टी नजिक पु¥यायो । संसदवादी दल र जनयुद्ध गरिरहेको माओवादी पार्टीबिच सहकार्यको वातावरण बन्यो । जनयुद्धको जगमा नागरिक समाजसमेतको सहभागितामा २०६२ साल चैत २४ गतेबाट सुरु भएको आन्दोलन वैशाख ११ गतेसम्म चलेको हुनाले यसलाई ‘१९ दिने जनआन्दोलन’ पनि भनिन्छ । माओवादी जनमुक्ति सेनाले आफ्ना फौजी कारबाहीहरू जारी राखे भने माओवादी कार्यकर्ता र समर्थक जनता आन्दोलनमा सहभागी भए । फौजी र गैरफौजी सङ्घर्ष, ग्रामीण वर्गसङ्घर्ष र सहरीया जनसङ्घर्ष सबै सङ्घर्षहरूको संयोजनले २४० वर्षीय राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना ग¥यो ।

चितवनमा जनआन्दोलन

चितवनमा जनआन्दोलन परिचालनका लागि नागरिक समाजको तर्फबाट केदार मल्ल संयोजक, नारायणसिं कुँवर सह–संयोजक र गोपीलाल देवकोटा सचिव रहेको एक समिति निर्माण भएको थियो । आन्दोलन पक्षधर सम्पूर्ण सङ्घ– संस्थाको ऐक्यबद्धतासहित यो समितिले आफ्नो कार्यक्रमहरूलाई सशक्त रूपले अगाडि बढायो । चितवनमा आन्दोलनको पहिलो दिन नै जनसमर्थन र सहभागिता व्यापक थियो । कफ्र्यु आदेश र सेनाका बख्तरबन्द गाडीहरूको आतङ्कका बाबजुद परिवर्तनकारी जनताको उत्साह भव्य थियो तर सरकारले चर्को दमनको नीति लियो । आन्दोलनमा सहभागी दलका नेता एवम् जनतालाई गिरफ्तार गर्ने, तितरबितर पार्ने काम ग¥यो । शाही सेनाका कर्णेल अजित थापाले आफूलाई जङ्गलमा बसेर सहरमा शासन गर्ने अधिकारी नै घोषित गरेका थिए । नारायणगढ बजार क्षेत्र र भरतपुर वरपर युनिफाइड कमान्डअन्तर्गत सुरक्षा घेरा झन् सशक्त बनायो । मानिसहरू बजार क्षेत्रमा आउनै नसक्ने स्थिति बन्यो भन्नुहुन्छ नेपाल पत्रकार महासङ्घका तत्कालीन अध्यक्ष जनक अर्याल । राजनीतिक दलका नेता–कार्यकर्ता केन्द्रीकृत बन्न नसकिरहेको बेला चैत २९ गते नेपाल पत्रकार महासङ्घको आयोजनामा वाक स्वतन्त्रताको माग गर्दै पत्रकार महासङ्घले मुखमा कालोपट्टी बाँधेर विरोध जुलुस निकाल्यो । नारायणगढ बजारमा नागरिकको तर्फबाट सबैभन्दा पहिले पत्रकारहरूले कफ्र्यु आदेश उल्लङ्घन गरे । प्रदर्शनकारी पत्रकारहरूलाई सुरक्षा फौजले गिरफ्तार ग¥यो ।

यसरी गिरफ्तार पर्नेहरूमा जनक अर्याल, विष्णु छिमेकी, कृष्ण गिरी, सन्तकुमार चौधरी, शालिकराम नेपाललगायत थिए । पत्रकार गिरफ्तारीको घटनाको संवेदनशीलता बुझेरै होला प्रशासनले गिरफ्तार गरिएका पत्रकारका अगुवाहरूसँग वार्ता ग¥यो । वार्तामा पत्रकारहरूले कम्तिमा पनि नारायणगढ बजार क्षेत्रबाट कफ्र्यु हटाउनुपर्ने र वाक् स्वतन्त्रताको माग गरे । नारायणगढ बजार क्षेत्रबाट कफ्र्यु हटाउन प्रशासन बाध्य भयो । दमनले प्रतिरोध सङ्घर्षलाई झन् नयाँ उचाइमा उठाउँछ । कफ्र्यु आदेश हटेको सूचना चारैतिर डढेलोको आगोजसरी फैलियो । भोलिपल्ट चैत ३० गते व्यापक दमन, धरपकड र गिरफ्तारीलाई बेवास्ता गर्दै जनता भरतपुर र नारायणगढ बजार क्षेत्रमा ओइरिए । विशाल जुलुस निस्कियो । जनताको सहभागिता देखेर आत्तिएको सुरक्षा फौजले भरतपुर, मालपोत चोकमा प्रदर्शनकारीहरूमाथि गोली चलायो । स्थानीय तुलसी क्षेत्रीलाई गोली लाग्यो । उनीसँगै रहेका दुई जना नानीहरू पनि छर्रा लागेर घाइते भए । २०६३ साल वैशाख १ गते अस्पतालमै तुलसी क्षेत्रीको मृत्यु भयो । जनआन्दोलनमा देशैभरिबाट सहिद हुनेहरूमा एक मात्र महिला सहिदको रूपमा उनको नाम दर्ज भयो । दसौँ हजार मानिस उनको शवयात्रामा सहभागी भएर सहिदप्रति सम्मान र राज्यसत्ताप्रति आक्रोश प्रकट गरे । जनताको तागतले शासकहरूको कफ्र्यु आदेश पन्छायो । त्यसपछि प्रशासनले दमन गर्ने दुस्साहस गर्नै सकेन ।

देशमा ठुल्ठुला आन्दोलन र क्रान्तिका क्रममा लाखौँ मानिसहरूले आफ्नो ज्यानको माया नगरी शासकहरू र सिँगै राज्यसत्ता विरुद्ध औँला ठड्याएका छन् । देश र जनताको पक्षमा बोल्दै समरको महायज्ञमा आफूलाई चरुझैँ होम्न ती मान्छेहरू तयार नभएका भए आज पनि नेपाल मध्ययुगीन सामन्ती शोषणको जाँतोमुनि पिसिइरहनु पर्ने अवस्था हुने थियो । शोषणको त्यही जालोलाई फ्याँक्ने क्रममा चितवनका छोराछोरीले पनि आफ्ना रगत बगाएका छन् । जनताले आन्दोलन÷क्रान्तिमा देखेका कैयौँ सपनाहरू अधुरै छन् । क्रान्तिका कतिपय कामहरू बाँकी नै छन् । हाम्राअघि हिजोसँगै देखेका सपनाहरू अधुरै छन् र त हामी लडिरहेका छौँ, ती प्रतिबद्धता पूरा गर्न । हामीसँग आज हतियार नहोला, एउटा जुझारु कम्युनिस्ट पार्टी पनि नहोला तर पनि मुक्तिको आशा अझै ज्यूँदै छ । ती प्यारा मान्छेहरू, जसले जनतालाई सङ्गठित गरे, सङ्घर्ष गर्न प्रेरित र अगुवाई गर;े सधैँ अमर रहनेछन् । ती मान्छेहरूलाई सम्झदा पनि ऐँठन हुन्छ, जसले अरूको जिन्दगी उज्यालो बनाउन आफू जलेर खरानी हुन तयार भए । प्रतिक्रान्तिको हावाहुरी चलिरहेको यो समयमा झन् याद आउँछन् रगतले इतिहास लेख्नेहरू ।