काठमाडौं, २० असाेज । भारत भ्रमणको क्रममा ३१ भदौंमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारतीय शासक वर्गसँग गरेको २५ बँुदे सम्झौता राष्ट्रघाती रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले त्यसका विरुद्ध अब सडकमा उत्रनुपर्ने बताएका छन् । उनले सच्चा देशभक्त र गणतन्त्रवादीहरु मिलेर राष्ट्रघातका विरुद्ध लड्नुको विकल्प नरहेको उल्लेख गरे । २० असाेजमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले काठमाडौंमा आयोजना गरेको ‘२५ बुँदे संयुक्त वक्तव्य र राष्ट्रघात’ विषयक अन्तक्र्रियामा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । प्रमुख वक्ताको तर्फबाट आफ्नो धारणा राख्दै अध्यक्ष बैद्यले भने, “पुराना सहमति, सन्धिसम्झौताहरु ः विप्पा, उर्जाव्यापार, माथिल्लो कर्णाली, अरुण तेस्रोको पिडिएलगायत सबै असमान सन्धिसम्झौतामा सही छाप लगाएर प्रधानमन्त्री दाहालले गम्भीर राष्ट्रघात गरेका छन् ।”
२५ बुँदे सम्झौताको ४ नं. बुँदामा नेपाल–भारत सम्बन्धलाई विशिष्ट भनेर उल्लेख गरिनुले भारतको ठूल्दाइ अवधारणालाई प्रधानमन्त्री दाहालले स्वीकार गरेको बताउँदै उनले ११ नं. बुँदामा अन्तर्राष्ट्रिय मुद्दामा दुवै देशको समान धारणा बनाएर जाने सहमतिले नेपाललाई भुटानीकरणको दिशातर्फ उन्मुख गराएको दावी गरे । मोर्चाका अध्यक्ष सिपी गजुरेलको अध्यक्षता र मोर्चाका सचिव परि थापाको सञ्चालनमा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, नेकपा (माले)का महासचिव सिपी मैनाली, जनमोर्चाका अध्यक्ष साध्यबहादुर भण्डारी, नेकपा (माओवादी)का स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोला र नेकपा (मशाल)का प्रवक्ता विमल शर्माले पनि आफ्नो धारणा राख्दै २५ बुँदे सम्झौताका विरुद्ध संघर्ष गर्नुको विकल्प नरहेकोमा जोड दिएका थिए ।