साताको साहित्य : कविता
*** ***
ऊ त्यो पहाडको टुप्पोमा
वैचारिक क्रान्तिको विजारोपण गर्नुपर्ने भएको छ
बेसीलाई वक्रदृष्टिले हेर्नेहरू माथि
धावा बोल्नै पर्ने भएको छ ।
उडेर बादललाई छुने हाम्रो आकाङ्क्षा मर्न नपाउँदै
पुन: क्रान्तिको शङ्खघोष गर्नुपर्ने भएको छ
अब कहिल्यै धोका खाने छैनौ भनेर
वाचा गर्नुपर्ने भएको छ
धोकेबाजहरूको जरै उखलेर
फाल्नुपर्ने भएको छ
प्रत्येक दिन बिहानीमा
पक्षीहरूको गीत सुनेर मात्र
दिनको सुरुवात गर्नुपर्ने भएको छ
अब हामीले नयाँ नेतृत्व छान्न
दिलको कसी लगाउने छौं
बेइमानहरूको विचार नाप्न
मजबुत फलामे किल्ला निर्माण गर्ने छौं
सुँसुँ गरेर फाइदाको पदचाप मात्र सुँध्नेहरूदेखि
बेलैमा सावधानी हुने छौं
बिचौलिया र काफरहरूलाई
हामीबाट टाढा भगाउन
अविचलित योद्धाहरूको
सङ्गठन निर्माण गर्ने छौं ।
ती अविचलित योद्धाहरू
फलामे किल्लाको सुरक्षामा तैनाथ हुनेछन््
जहाँ हामीले वैचारिक क्रान्तिको बिज रोपेका छौं
त्यहीँबाट हामीले पर परसम्म क्रान्तिको बीज
फैलाउन कोसिस गर्ने छौं
अब हामीले उत्तम खालका बीजहरू
चयन गर्ने छौं
मालीहरू उत्तम भएनन् भने
बगैचाका फूलहरू मुर्झाउने छन्् ।
जताजता हावा चल्छ
उतै उतै बहने जनताका हुलहरूलाई
बेलैमा सावधान गराउने छौं
जाली फटाहा र बेइमानहरूलाई उम्कन नदिन
हामी आफै कावर लिएर घुम्नु पर्छ
हामीसँग हाम्रो हिमचुली छ
संसारकै सबैभन्दा अग्लो
छानो सगरमाथा छ ।
यसैले हामीले सगरमाथालाई टेकेर
सगरमाथा पारिसम्म इमान्दारीपूर्वक मित्रताका
हातहरू बढाउने छौं
अब हामी कहिल्यै धोका खाने छैनौं
क्रान्तिको बीजलाई पहाडको टुप्पोबाट
बेसीका फाँटहरूसम्म एकनासले फैलाउने छौं
गन्तव्यमा नपुग्दै बीचमै लोभलालचमा फसेर
ठूलाठूला महल बनाउनेहरूको
महलहरू भत्काउने हाम्रो पहिलो प्रयास हुनेछ
हाम्रै रगत पसिना चुसेर खानेहरू
हाम्रा कदापि हुन सक्दैनन् भन्ने नाराका साथ
हामी अगाडि बढ्ने छौं
सचेतनाको बिगुल फुक्ने छौं
साथमा रहेका धोकेबाजहरूको पनि
बेलैमा पहिचान गर्ने छौं ।
अबको हाम्रो नयाँ नेतृत्वले
आरानको फलामले जस्तै खारिएर निस्कनु पर्नेछ
पटक पटक हामीले पाउने न्यायमाथि नै
अन्याय भएको टुलुटुलु हेरेर बस्ने छैनौं
चाहे त्यो शत्रु लिसो भएरै हाम्रो छातीमा
टाँसिएकै किन नहोस्
हामी बडो सावधानीले त्यसको
जरै उखलेर फाल्ने छौं
गन्तव्यमा नपुगेसम्म हामी
क्रान्तिको धुन बजाइरहने छौं ।
गीत पूर्ण सफलताको गाइरहने छौं
यो राज्यको कुनाकाप्चासम्म छाइरहने छौं
गीत पुर्णताकै गाइरहने छौं
धुन सफलताकै बजाइरहने छौं ।
०००