कुटिखेलोका सम्पादकहरू

कुटिखेलोका सम्पादकहरू

शनिबारीय साहित्य : कविता

*** ***

 

हरेक साँझ ब्यग्र हुन्छन् अखबारका सम्पादकहरू
उनका दैनिकीमा
तोकिएकाछन् आफ्नो ब्यावसायिक प्रतिस्पर्धा
उनी बुन्छन् नयाँ योजना
भोलि बिहान पाठकको ध्यान कसरी तानौँ
अक्षरहरू दुब्लाउँदै छन्
शब्दहरू साँघुरिँदै छन्
शब्दाक्षरका खेतिवालहरू पेट थिचेर आँखा मिचेर
हेर्दैछन् पाठकीय प्रतिक्रिया
शहरका सम्पादकहरू हेर्दै हुन्छन्
साँझको राष्ट्रिय समाचार र कामना गर्छन्
भन्सारले रोकेको कागजको प्रवेषाज्ञा छिटो छिटो पास होस्
भन्सार अड्डाले सम्पादक चिन्न सक्दैन
सम्पादकले भन्सार अड्डा किन्न सक्दैन
अनि दुब्लाउँछ अखबारका बडेमानका पृष्ठहरू
एक जमाना राम्रै थियो
पत्रकारिताको कुटिखेलोमा
उछिन् पाछिन् असिन पसिन ।

इतिहास नियाल्छन्, घुम्छन्
समाचार डेस्कमा पस्छन्
कति लेखून गौचर अड्डाबाट बाहिरिएका जून
आँखा छलेर भित्रिएका थैलोभित्रका सुन
बाजुरामा हारालुछ एकबोरा नुन
उही बासी बाजा उही बासी धुन ।

लेख शाखामा देख्छन्
लेखापालले उतारेका बक्यौताको बिस्कुन
लेखकको पारिश्रमिक
हकरको कमिशन
बिजुलीको भुक्तानी
महिनाभरको नोक्सानी
बिज्ञापन दाताका उधारा बिलहरू
बन्द हुँदै गएका बजारका सटरहरू
आँखाहरू कहिले सूचना बिभागमा
कानहरू कहिले गृहको प्रभागमा
गम्छन् बाटो बदलेर कुन गन्तव्य पछ्याउनु
कुन महाशयको जी हजुरी गाउनु
धर्म र इमान कुन कण्टेनरमा बेच्नु
घोरिन्छन्, सोच्छन् र पानी पिउँछन्
बुन्छन् नयाँ योजना नयाँ समाजको
दु:खहरूका अवसानको उज्यालो आगत ।