शनिबारीय साहित्य : पुस्तक समीक्षा
*** ***
विषय प्रवेश :
कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका एक क्रान्तिकारी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ माक्र्सवादी दर्शनका गम्भीर अध्ययता, प्रखर वक्ता एवम् आधिकारिक धारणा राख्ने चिन्तक हुनुहुन्थ्यो । कृष्णदासले आफ्नो जीवनकालको सम्पूर्ण अवधी नेपालको क्रान्तिकारी धाराको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनमा विताउनु भयो । माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र सम्बन्धी कृतिहरूको नेपाली अनुवाद गरेर नेपालको कम्युनिस्ट आन्दोलनका अध्ययताहरूका निम्ति ठूलो र महत्वपूर्ण काम गर्नुभयो । त्यसका साथसाथै उहाँले आफैले पनि माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, सौन्दर्य चिन्तन तथा माक्र्सवादी समालोचना जस्ता विषयमा सरल र सहज तरिकाले लेखेर वोधगम्य भाषा शैलीमा आफ्ना धारणाहरू मार्फत माक्र्सवादका अनुयायीहरूलाई प्रशिक्षित गर्ने काममा पनि निरन्तर लागिपर्नु भयो । नेपालको कम्युनिस्ट आन्दोलनमा माक्र्सवाद–लेनिवाद सम्बन्धी दर्शनलाई पचाएर अध्ययन गर्ने र त्यस अनुरूपको सही धारणा राख्ने सीमित दार्शनिक व्यक्तित्वहरू मध्यकै एक दार्शनिक व्यक्तित्वका रूपमा कृष्णदासलाई लिन सकिन्छ ।
माक्र्सवादी ज्ञानसिद्धान्तका दर्जनौँ पुस्तक लेखेका श्रेष्ठले सौन्दर्य चिन्तनका क्षेत्रमा पनि त्यत्तिकै दख्खल राख्नुहुन्थ्यो । उहाँले सौन्दर्यशास्त्रका विषयमा थुप्रै रचनाहरू लेख्नु भएको छ । सौन्दर्यशास्त्र सम्बन्धी उहाँको एउटा पुस्तक ‘भौतिकवादी सौन्दर्य चिन्तन र केही समीक्षा’ प्रकाशित भएको छ । यहाँ उक्त पुस्तकका बारेमा केही चर्चा गर्ने जमर्को गरिएको छ ।
कृष्णदास फाउण्डेसनबाट प्रकाशित कृष्णदास श्रेष्ठ रचित ‘भौतिकवादी सौन्दर्य चिन्तन र केही समीक्षा’ पुस्तक माक्र्सवादी सौन्दर्य चिन्तन सम्बन्धी महत्वपूर्ण र गहन दस्तावेज हो । प्रस्तुत पुस्तकमा पहिलो खण्डमा भौतिकवादी सौन्दर्यशास्त्र सम्बन्धी केही सैद्धान्तिक विचारहरू राखिएको छ भने दोस्रो खण्डमा सो सम्बन्धी विचारलाई प्रष्ट्याउनका लागि प्रस्तुत गरिएका केही उदाहरणका रूपमा पुस्तक समीक्षाहरू समावेस गरिएको छ । यसरी सौन्दर्य चिन्तन सम्बन्धी सैद्धान्तिक पक्ष र कृति समीक्षा गरी दुई खण्डमा प्रस्तुत उक्त कृति आकारमा सानो, सङ्क्षिप्त तर अत्यन्तै खँदिलो र महत्वपूर्ण कृति रहेको छ । भौतिकवादी सौन्दर्य चिन्तनको गम्भीर अध्ययन र विवेचना गरिएको प्रस्तुत कृति माक्र्सवादी पाठशालाका निम्ति अनिवार्य पाठ्यपुस्तक बन्न गएको छ । अब म उक्त पुस्तकमा रहेका पहिलो खण्डका विभिन्न शीर्षकीय पाठहरूका बारेमा सङ्क्षिप्त विवेचना गर्न चाहन्छु । यहाँ समीक्षा खण्डमा रहेका पाठहरूको चर्चा गर्ने प्रयास गरिएको छैन ।
प्रस्तुत पुस्तकमा माक्र्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा कृयाशील वरिष्ठ माक्र्सवादी समालोचक एवम् साहित्यकार प्रा.डा.जगदीश चन्द्र भण्डारीले भूमिका लेखेर यस पुस्तकको विशद चर्चा गर्नु भएको छ । कृतिको पहिलो खण्डमा भौतिकवादी सौन्दर्य चिन्तन सम्बन्धी सात वटा आलेखहरू समावेश छन् । त्यसैगरी साहित्य र कलालाई सौन्दर्यात्मक कसीमा घोलेर हेर्नका लागि समावेश गरिएका कृति समीक्षाका आलेखहरू छ वटा रहेका छन् । सौन्दर्य चिन्तनका आलेखहरूमा ‘भौतिकवादी सौन्दर्यशास्त्र’, ‘सौन्दर्य सम्बन्धी भौतिकवादी अवधारणा’, ‘कलाको स्रोत, स्वरूप र सार’, ‘यथार्थवाद–आलोचनात्मक र समाजवादी’, ‘सामाजिक रूपान्तरणमा कलाको भूमिका’, ‘कला–समालोचनाको माक्र्सवादी तरिका’ र ‘केही सौन्दर्यात्मक प्रवर्गहरू’ रहेका छन् । यहाँ सातौँ आलेख सौन्दर्यात्मक प्रवर्गका तीन वटा प्रवर्गहरू ‘अन्तरवस्तु र रूप’, ‘प्ररूपीकरण र वैयक्तिकता’ तथा ‘सरलता र जटिलता’ हरूको सङ्क्षिप्तमा तर स्पष्ट रूपमा व्याख्या गरिएका छन् । उपर्युल्लिखित विषयका आलेखहरू मार्फत सौन्दर्यशास्त्र के हो भन्ने बारेमा सरल भाषामा बुभ्mन सकिन्छ ।
दोस्रो खण्डमा रहेका समीक्षाका विषयवस्तुहरूमा हावर्ड फास्टका ‘साहित्य र यथार्थ’ कृति तथा ‘स्पार्टाकस’ उपन्यास, म्याक्सिम गोर्कीको ‘निम्न पुँजीपति’ नाटक, प्लेखानोवको ‘बेनामी पत्रहरू’, पारिजातको ‘बैँसको मान्छे’ उपन्यास र वि.पि.कोइरालाको ‘नरेन्द्र दाइ’ उपन्यासका बारेमा सौन्दर्यपरक समीक्षा गरिएको छ । यसरी अघिल्लो खण्डमा सौन्दर्यशास्त्रको सैद्धान्तिक विवेचना गरिसकेपछि साहित्य र कलामा सौन्दर्यशास्त्र कसरी प्रतिबिम्बित हुन्छ भनेर केलाउने काम दोस्रो खण्डको समीक्षामा गरिएको छ । यसले प्रस्तुत पुस्तकका माध्यमबाट सौन्दर्यशास्त्र जस्तो जटिलतम दर्शनलाई सरलीकृत गरेर बुभ्mन पाठकलाई सहज भएको छ ।
भौतिकवादी सौन्दर्य चिन्तन भित्र सौन्दर्यको विवेचना :
प्रस्तुत पुस्तकको पहिलो खण्ड हो सौन्दर्य चिन्तन विषयक सैद्धान्तिक अवधारणा सम्बन्धी आलेखहरू । जसलाई ‘भौतिकवादी सौन्दर्य चिन्तन’ मूल शीर्षक दिएर त्यस भित्र सात वटा लेखहरू समावेश गरिएको छ । यसभित्रको पहिलो आलेख हो ‘भौतिकवादी सौन्दर्यशास्त्र’ । यस आलेखमा कृष्णदासले सौन्दर्यशास्त्र सम्बन्धी भौतिकवादी चिन्तन परम्पराको ब्याख्या गर्नुभएको छ । श्रेष्ठका अनुसार माक्र्सवादी सौन्दर्यशास्त्रलाई नै भौतिकवादी सौन्दर्यशास्त्र भनिन्छ । किनकि माक्र्स–एङ्गेल्सले नै भौतिकवादी नियम अनुसार पहिलो पटक सौन्दर्यशास्त्रको ब्याख्या गर्नुभएको हो । भौतिकवादको नियम अनुसार जसरी पदार्थ र चेतनामा पदार्थ पहिलो र चेतना दोस्रो रूपमा लिइन्छ, त्यसैगरी सौन्दर्यशास्त्र पनि सामाजिक सत्तासँग अन्तरसम्बन्धित हुने गर्छ । यस आलेखमा कृष्णदासले सौन्दर्यशास्त्रको अध्ययनको क्षेत्रबारे चर्चा गर्दै भन्नुभएको छ –
‘भौतिकवादको मतानुसार, सुन्दरम्का नियमहरू मुताविक गरिने मानवीय क्रियाकलापका सिर्जनाहरूको सामाजिक जीवनसितको सम्बन्धबाट पैदा हुने असर नै सौन्दर्यशास्त्रको अध्ययनको क्षेत्र हो ।’ (प्रस्तुत पुस्तकको पृ.२)
यहाँ सौन्दर्यशास्त्रको सम्बन्ध मानवीय श्रमसँग जोडिएको छ । श्रेष्ठ अगाडि भन्नुहुन्छ –
‘संसारमा जे जति सुन्दर वस्तुहरू छन्, ती सबै मानवीय श्रमका सिर्जना हुन् । तसर्थ त्यसमा मानवीय श्रमले अहम् भूमिका खेल्ने गर्छ । उपर्युक्त तथ्यले कुन कुरा दर्साउँछ भने मानिसमा सौन्दर्यबोधको जुन क्षमता छ, त्यो उसको जन्मजात क्षमता होइन बरू एउटा सामाजिक उपलब्धी हो ।’ (पृ. उही)
यसरी प्रस्तुत आलेखमा श्रेष्ठले सौन्दर्यशास्त्रलाई मानिसको भौतिकवादी ज्ञानचेतना अनुसार श्रमबाट पैदा भएको वस्तुको रूपमा सौन्दर्यशास्त्रलाई बुभ्mनु पर्ने बताउनु भएको छ ।
सौन्दर्यशास्त्रलाई मानिसले अनुभूत गर्दा यसलाई कलासँग जोडेर मात्र गर्न सक्दछ । कला मानवीय श्रमको उपज हो । यस सम्बन्धमा श्रेष्ठ अगाडि भन्नुहुन्छ –
‘सौन्दर्यशास्त्रको सबभन्दा गाँठी सवाल यथार्थता र कलामाझको सम्बन्धको सवाल हो, अर्थात् कलाको रूपमा यथार्थतासित मानवीय क्रियाकलापको सवाल हो ।’ (उही पृ.३)
श्रेष्ठले कलाको महत्व र यसको सौन्दर्यशास्त्रसँग जोड्ने सम्बन्धमा अझ स्पष्ट पार्दै भन्नुभएको छ–
‘कलालाई सौन्दर्यात्मक क्रियाकलापको मुटुको रूपमा लिने गरिएको छ’ । (उही पृ. ३)
सौन्दर्यशास्त्रको चर्चा गर्ने क्रममा प्रस्तुत गरिएको दोस्रो आलेख हो ‘सौन्दर्यसम्बन्धी भौतिकवादी धारणा’ । यहाँ सौन्दर्य भनेको के हो र कस्तालाई भनिन्छ भन्ने प्रश्न यस शास्त्रमा पहिलादेखि नै उठेको बताउनु हुँदै उहाँले यस बारेमा आदर्शवादी र भौतिकवादीहरूको आआफ्नै धरणा वा ब्याख्या रहने गरेको बताउनु भएको छ । उहाँका अनुसार आदर्शवादीहरूले सौन्दर्य के हो भन्ने प्रश्नको जवाफ अलौकिक र अभौतिक रूपमा खोज्ने गर्छन् भने त्यसको ठिक विपरीत माक्र्सवादीहरूले जीवनको वास्तविकता एवम् वस्तुगत यथार्थतामा खोज्ने गर्छन् भनेर बताउनु भएको छ । श्रेष्ठका अनुसार सौन्दर्यको सम्बन्ध कर्ता र वस्तु एवम् मनोगत र वस्तुगतका बिचको सम्बन्धमा ध्यान दिनु आवश्यक छ । उहाँ अगाडि भन्नुहुन्छ –
‘सौन्दर्य भनेको कर्ता र वस्तुमाझको, भौतिक जगत र मानवीय श्रममाझको द्वन्द्वात्मक सम्बन्धको उपज हो ।’ (पृ.११)
यहाँ सौन्दर्य हुनका लागि कर्ता र वस्तु वा भौतिक जगत र मानवीय श्रमको उपस्थिति अनिवार्य बताइएको छ र त्यसका बिचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ भनेर स्पष्ट गरिएको छ ।
सौन्दर्यको चर्चा गर्ने क्रममा त्यसको सम्बन्धको बारेमा प्रष्ट गर्न प्रस्तुत गरिएको तेस्रो आलेख हो ‘कलाको स्रोत, स्वरूप र सार’ । यहाँ कला कहाँबाट प्रतिबिम्बित हुन्छ, त्यो कुन रूपमा र विषयमा प्रस्तुत हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ । प्रस्तुत आलेखमा कलाको महत्वबारे श्रेष्ठ भन्नुहुन्छ –
‘सामाजिक यथार्थतालाई बिम्बमा प्रतिबिम्बित गर्ने साधनको रूपमा कलाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कला एउटा यस्तो साधन हो, जसले यथार्थ समाज र जीवनबारे र मानिसहरूबारे समझदारी र ज्ञान प्रदान गर्ने काममा निकै ठूलो योगदान गर्दछ ।’ (पृ.२०)
प्रस्तुत पुस्तकको चौथो आलेख हो ‘यथार्थवाद – आलोचनात्मक र समाजवादी’ । यहाँ लेखक श्रेष्ठले यथार्थवादको राम्रोसँग विवेचना गर्नुभएको छ । समाजमा भएको वास्तविकता अर्थात् सत्यको चित्रण गर्नु यथार्थ हो । जो वस्तुसम्मत हुन्छ र हुनुपर्दछ । यथार्थ पनि दुई रूपमा अभिव्यक्त हुन्छ । पहिलो आलोचनात्मक र दोस्रो समाजवादी । आलोचनात्मकले समाजमा घटित घटनाको चित्रण मात्र प्रस्तुत गर्दछ । त्यसले समाजमा घटित घटनाका बारेमा आलोचना मात्र गर्दछ भने समाजवादी यथार्थतावादले घटित घटनाको आलोचना सँगसँगै त्यसको रूपान्तरणका बारेमा पनि तथ्य र तर्क प्रस्तुत गर्दछ । समाजवादी यथार्थवाद कस्तो हुनुपर्छ भन्ने सवालमा कृष्णदास भन्नुहुन्छ –
‘जनतासितको घनिष्ठ सम्बन्ध समाजवादी यथार्थवादको एउटा मुख्य सिद्धान्त हो । ….. यथार्थवादी कलाले यथार्थको चित्रण गर्नुका साथै जनताका भावना, आकाङ्क्षा तथा चरित्रलाई ठिक ढङ्गबाट चित्रित गर्नुपर्छ ।’ (उही पृ.३५)
यहाँ समाजवादी यथार्थवादको सम्बन्ध जनतासित घनिष्ठ हुनुपर्छ भन्नुको तात्पर्य हाम्रा कला र साहित्यले जनताको सेवा गर्नुपर्छ र उनीहरूको मुक्तिका लागि हुनुपर्छ भन्ने कुरामा जोड दिनु हो । यसै सन्दर्भमा उहाँ अगाडि भन्नुहुन्छ–
‘जनतासित सम्बन्ध भन्ने कुरा समाजको क्रान्तिकारी रूपान्तरणसित, शोषण तथा उत्पीडनबाट मुक्त समाजको निर्माणको सङ्घर्षसित घनिष्ठ रूपले गाँसिएको कुरा हो ।’ (उही)
पाँचौ आलेख हो ‘सामाजिक रूपान्तणमा कलाको भूमिका’ । यस रचनामा कृष्णदास श्रेष्ठले कलाको समाजको रूपान्तरणकारी भूमिकामा पार्ने प्रभावका बारेमा विशद चर्चा गर्नुभएको छ । ‘कला कलाका लागि’ भन्ने आदर्शवादी वा प्रत्ययवादीहरूका विचारको खण्डन गर्दै श्रेष्ठले कलाको भूमिकाबारे माक्र्सवादी प्रस्थापनाद्वारा चिरफार गर्नु भएको छ । उहाँले कलाको प्रस्तुतिकरणमा आधार र अधिरचना बिचको अन्तरसम्बन्धबारे पनि यस रचनामा प्रष्ट्याउने कोशिष गर्नुभएको छ । कलामा आधारलाई विचार र अधिरचनालाई रूपमा लिने गरिन्छ ।
समाजमा हरेक कुरा वर्गीय भए जस्तै कला पनि वर्गीय हुने कुरालाई श्रेष्ठले जोडका साथ उठाउनु भएको छ । उहाँ भन्नुहुन्छ –
‘कुनै पनि वर्ग–विभक्त समाजमा सामाजिक चेतना अवर्गीय रहँदैन, त्यसको वास्तविक चरित्र वर्गीय हुन्छ, र वर्गीय समाज रहेसम्म उक्त चेतनाको कुनै पनि तत्वमा वर्गविहीनता, अवर्गीयता भन्ने कुरा रहन सक्दैन । कला पनि सामाजिक चेतनाको एउटा रूप हुनाले, त्यो ंद्दण्(पनि वर्गीय चरित्रको नै रहन्छ । कलाकारले आफ्नो सिर्जनालाई तटस्थ, अवर्गीय वा निष्पक्ष भनेर जतिसुकै दावा गरून्, त्यसलाई ‘कलाको लागि कला’ को नाउँ देऊन्, कला आफ्नो समय, परिस्थिति र स्थानमा चलिरहेको वर्गसङ्घर्षबाट छुट्टै रहेको हुँदैन, त्यो उक्त सङ्घर्षको प्रभावबाट मुक्त रहन सक्दैन । बरू, त्यसको उल्टो, त्यसलाई समाजमा चलिरहेको वर्गहरूबीचको सङ्घर्षले प्रभाव पारिरहेको हुन्छ र त्यो कुनै न कुनै वर्गको स्वार्थ र आदर्शको अधीनस्थ रहेको हुन्छ ।’ (पृ.४०)
यसै सन्दर्भमा लेखकले कलालाई सामाजिक वर्गहरूबिचको सङ्घर्षको एक महत्वपूर्ण हतियारका रूपमा पनि लिनु भएको छ । उहाँ अगाडि भन्नुहुन्छ –
‘कला सामाजिक वर्गहरूबीच सङ्घर्षको एउटा महत्वपूर्ण हतियार हो । वर्गसङ्घर्षको हतियार हुनाले, यसलाई शोषक शासकवर्गहरूले आफ्नो हितमा उपयोग गर्न निरन्तर खोजिरहेका हुन्छन्, त्यसरी नै क्रान्तिकारी वर्गहरूले पनि श्रमिक जनताको हितमा, उत्पीडित वर्गहरूको स्वार्थमा त्यसको राम्ररी उपयोग गर्नु आवश्यक छ ।’ (पृ. उही)
प्रस्तुत पुस्तकको छैठौँ रचना हो ‘कला–समालोचनाको माक्र्सवादी तरिका’ । यहाँ कला–समालोचना के हो र यो किन आवश्यक छ भन्ने कुराको विवेचना गर्नुका साथै समालोचनाको पद्धति, त्यसको विश्लेषण र मूल्याङ्कनका बारेमा प्रकाश पारिएको छ । त्यसैगरी सौन्दर्यशास्त्रको विवेचना गर्ने क्रममा लेखिएको अर्को शीर्षकको रचना हो ‘केही सौन्दर्यात्मक प्रवर्गहरू’ । यो रचना प्रस्तुत पुस्तकको सैद्धान्तिक खण्डको अन्तिम रचना पनि हो । यहाँ लेखकले सौन्दर्यका तीन वटा प्रवर्गहरूको विवेचना गर्नुभएको छ । जस्मा ‘अन्तरवस्तु र रूप’, ‘प्ररूपीकरण र वैयक्तिकता’ तथा ‘सरलता र जटिलता’ उपशीर्षकका रचनाहरू पर्दछन् । यी प्रवर्गहरूलाई लेखकले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट प्रकाश पार्ने काम गर्नुभएको छ । यसरी विवेचन गर्नु माक्र्सवादी सौन्दर्य चिन्तनको नियम वा तरिका हो ।
साहित्य वा कलामा अन्तरवस्तु र रूपको संयोजन हुन जरुरी र आवश्यक हुन्छ । यो तत्व बिना साहित्य पनि साहित्य नै बन्दैन भने कला पनि उपयुक्त कलाका रूपमा गणना हुन सक्दैन । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दार्शनिक पदावलीमा आधार र अधिरचना भनिन्छ । यसको महत्वबारे दर्शाउँदै लेखक श्रेष्ठ भन्नुहुन्छ–
‘कुनै साहित्यिक कृतिको प्रभावकारिता त्यसको अन्तरवस्तु र रूपको अनुरूपतामा निर्भर गर्छ । रूप अन्तरवस्तु अनुरूप हुनुपर्दछ भने अन्तरवस्तुले उपयुक्त रूपमा आपूmलाई अभिव्यक्त गर्नुपर्छ । अनि मात्र त्यसले मानव मनमा वाञ्छित प्रभाव पार्न सक्नेछ ।’ (पृ.५९)
यसैगरी प्ररूपीकरण र वैयक्तिकताको प्रतिबिम्बन कला वा साहित्यमा के कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा पनि लेखकले राम्रोसँग प्रकाश पार्नुभएको छ । प्ररूप भनेको कला वा साहित्यमा अभिव्यक्त हुने प्रतिबिम्ब हो । यसले विचारलाई कुन रूपमा उल्लेख गरेको छ भनेर चिनाउने काम गर्छ । त्यस्तै वैयक्तिकता पदावलीले कला वा साहित्यमा रचनाकार कसरी प्रस्तुत भएको छ भनेर उसको चिनारी दिन्छ । अर्थात् रचनाकारले कुन वर्गसमाजलाई पकडेको छ वा प्रतिनिधित्व गर्छ र आफूले भन्न चाहेको कुराले कुन वर्गलाई प्रोत्साहन दिन्छ भनेर कलामा अभिव्यक्त उसको विचारले प्रस्टसँग चिनाउने काम गर्छ । यसैलाई प्ररूपीकरण र वैयक्तिकता भनेर भनिन्छ । यस बारेमा श्रेष्ठ अगाडि भन्नुहुन्छ – ‘कलाकृतिमा रहेका प्रत्येक पात्रले कुनै खास समय र सामाजिक तथा वर्गीय विशिष्टताहरूको प्रतिनिधित्व गर्दछ, र यसरी त्यो एक निश्चित चरित्रको प्रतिनिधि रहन्छ ।’ (पृ.६४)
सौन्दर्यात्मक प्रवर्गको तेस्रो प्रवर्ग हो सरलता र जटीलता । यस विषयलाई प्रकाश पार्ने क्रममा कृष्णदास भन्नुहुन्छ –
‘यस सम्बन्धमा ध्यानयोग्य महत्वपूर्ण तथ्य के छ भने सत्य सदा सरल हुन्छ र वास्तवमा झूटहरू मात्र जटिल हुन्छन् । आम जनताको लागि सत्य नै सबभन्दा लाभदायी र श्रेयस्कर हुन्छ र तिनीहरू सत्य र सरलतालाई सबभन्दा बढी मनपराउने गर्छन् । सत्य सुन्दर हुन्छ, सरल हुन्छ, सुस्पष्ट हुन्छ र त्यसको लागि कुनै रहस्यात्मकता, कुनै दिग्भ्रमित जटिलताको जरुरत पर्दैन । जहाँसम्म कला–सिर्जनाको सवाल छ, त्यसमा प्रतिबिम्बित हुने जीवनको सत्यलाई जति सरल ढंगबाट जति बढी स्वाभाविक रूपमा प्रस्तुत गरिन्छ, त्यति नै बढी त्यसले पाठकहरूको मनमा प्रभाव पार्छ ।’ (पृ.६५)
यसरी कृष्णदास श्रेष्ठले सौन्दर्यका प्रवर्गहरूलाई सुस्पष्ट ढङ्गबाट वोधगम्य तवरले विवेचना गरेर समाजवादी यथार्थवादको जगमा उभिएर साहित्य–कला सिर्जना गर्ने स्रष्टाहरूका निम्ति एउटा वैचारिक स्कूलिङको काम गर्नु भएको छ । प्रस्तुत रचना मार्फत सौन्दर्यका प्रवर्गहरूका बारेमा जानकारी हासिल गर्न सहज र सरल भएको छ । यस अतिरिक्त प्रस्तुत पुस्तकको दोस्रो खण्डमा केही व्यवहारिक समीक्षा समावेस गरिएका छन् । ती समीक्षाहरूले सौन्दर्यशास्त्र अध्ययन गर्न लेखिएका सैद्धान्तिक खण्डको व्यवहारिक प्रयोग प्रस्तुत गरेका छन् ।
अन्त्यमा
कृष्णदास श्रेष्ठले ‘भौतिकवादी सौन्दर्य चिन्तन र केही समीक्षा’ पुस्तक मार्फत माक्र्सवादी सौन्दर्यशास्त्रको गम्भीर अध्ययन, विवेचन र विश्लेषण गर्नुभएको छ । यसले उहाँको भौतिकवादी सौन्दर्य चिन्तन सम्बन्धी अध्ययनको गाम्भिर्यतालाई प्रष्ट गरेको त छ नै पाठकहरूका निम्ति पनि महत्वपूर्ण र गहन कृति सुम्पनुभएको छ । कृष्णदास श्रेष्ठ नेपालको माक्र्सवादी दार्शनिक फाँटका एक अगुवा दार्शनिक व्यक्तित्वका रूपमा जति स्थापित हुनुहुन्छ त्यति नै सौन्दर्य चिन्तनका क्षेत्रमा पनि स्थापित हुनुभएको छ । प्रस्तुत पुस्तक सौन्दर्यशास्त्र सम्बन्धी अध्ययन गर्ने पाठकहरूका निम्ति महत्वपूर्ण सामग्रीका रूपमा रहेको छ । माक्र्सवादी कला, साहित्य तथा सौन्दर्यशास्त्रका क्षेत्रमा प्रस्तुत कृतिको अमूल्य योगदान रहेको छ । यसको विशिष्ट महत्व रहेको छ ।
१८ माघ, २०८० तुलसीपुर
(प्रस्तुत समीक्षा भरखरै प्रकाशित कृष्णदास स्मृतिग्रन्थबाट लिइएकाे हाे । -सम्पादक)