नेपालमा मुख्यत भारत, अमेरिका र चीनको त्रिदेशीय चासो रहेको छ । जसलेगर्दा यहाँ कसैगरे पनि शान्ति, स्थिरता र विकास हुन सकिरहेको छैन । नेपालको आन्तरिक अस्थिरता, भ्रष्टाचार र आर्थिक कमजोरीले गर्दानै विदेशी शक्तिहरुलाई यहाँ हस्तक्षेपगर्न सजिलो भएको हो । उपरोक्त तीनवटा देशका बिभिन्न शक्तिहरुले नेपालको राजनीतिमा प्रभाव पारेर आआफ्ना हित र स्वार्थको साधना गर्ने÷गराउने प्रयास गरिरहेका छन् । जसबाट नेपाललाई कुनै फाइदा छैन । बरु नेपालको सार्वभौमिकता र विकास प्रभावित हुनेगरेको छ । त्यसैले नेपालमा बढ्दो विदेशी हस्तक्षेपलाई सन्तुलन गर्न÷गराउनका लागि देशभित्र राष्ट्रिय एकता र सहमतीय राजनीतिको भावनालाई सुदृढ गर्नुपर्दछ । जसका लागि राजनीतिक इच्छाशक्ति, पारदर्शिता, आर्थिक विविधिकरण र देश अनुकूलको संविधान, ऐन कानून र नीति नियमको ब्यवस्था गरिएको हुनुपर्दछ । नेपालमा पछिल्ला बर्षहरुमा विदेशी चासो उल्लेखनीयरुपमा बढेको देखिन्छ । कतिपयले नेपालमै बसेर बिभिन्न आबरणमा विदेशी चासोलाई सघाउने काम पनि गरिरहेका छन् । जुन कुरा यहाँको राजनीति, अर्थतन्त्र, सुरक्षाको अवस्था र भूराजनीतिक प्रतिस्पर्धाबाट बुझ्न सकिन्छ । विदेशी शक्तिहरुले नेपाललाई हस्तक्षेपगर्ने मुख्य कारण यसको भूराजनीतिक अवस्था हो । नेपाल भारत र चीनजस्ता ठूला देशको बीचमा एक रणनीतिक बफर राज्यकारुपमा रहेको छ । अमेरिकाजस्ता अन्य शक्तिहरु पनि नेपालमा आफ्नो प्रभाव विस्तारगर्न उद्यत रहँदैआएका छन् । नेपालमा बढाउँदै लगिएको हस्तक्षेपबाट उनीहरुलाई रणनीतिक, आर्थिक र सुरक्षासम्बन्धी फाइदाहरु प्राप्त हुनेगरेका छन् । नेपाल दुई ठूला शक्ति राष्ट्रहरु चीन र भारतका बीचमा रहेकाले यसको रणनीतिक महत्व पनि निकै ठूलो छ । भारतले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्ने प्रयासगर्दा नसकेपछि उसले पश्चिमा शक्ति खासगरी अमेरिकालाई यहाँ प्रबेश गराएको हो । जसलेगर्दा चीनका लागि सुरक्षा चुनौती बढेकाले उसले पनि चासो बढाउँदै लगेको हो । हाल नेपालमा अमेरिकाको प्रबेशले चीन र भारत दुबैलाई सुरक्षा चुनौती सिर्जना भएको देखिन्छ । त्यसैले चीन र भारत आपसी प्रीतश्पर्धाकै बीचमा नजिकिने प्रयास पनि गरिरहेका छन् । कतिपय अन्तराष्ट्रिय मामिलामा उनीहरुकाबीचमा समान धारणा रहने गरेको छ । भारत र चीनबीच युद्धहुँदा पनि नेपाललाई चिन्ता थियोभने उनीहरु मिल्दा पनि चिन्ता बढाउने कामहरु हुनथालेका छन् । नेपालको भूराजनीतिक महत्व दक्षिण एशियामा विशेष खालको छ ।
नेपालको उत्तरतर्फ चीनको तिब्बत क्षेत्र तथा दक्षिण, पूर्व र पश्चिमतर्फ भारत रहेकाले नेपाललाई दुवै देशका लागि रणनीतिक दृष्टिले महत्वपूर्ण बनाउँछ । त्यसैगरी नेपालको भूभाग हिमालय क्षेत्रमा पर्छ । जुन प्राकृतिक सुरक्षा कवच जस्तै हो । चीनका लागि तिब्बतको स्थायित्व र सुरक्षा तथा भारतका लागि उत्तरी सीमाको सुरक्षा हुनेभएकाले दुवै देशले नेपालमा आफ्नो ध्यान केन्द्रित गरेका छन् । त्यसैगरी नेपालको आर्थिक र व्यापारिक महत्व पनि रहेको छ । नेपाल भूपरिवेष्ठित देश हो । त्यसैले व्यापारका लागि मुख्यरुपमा भारतमा निर्भर छ । भारतसँग खुला सीमाना र व्यापारिक सम्बन्ध पनि रहेको छ । पछिल्लो समय नेपालको चीनसँग पनि पूर्वाधार र व्यापार विस्तार भएको छ । नेपाल चीन र भारत दुवै देशबीच ट्रान्जिट र कनेक्टिभिटीको पुल बन्नसक्ने अवस्था छ । अन्तर्राष्ट्रिय सम्बन्ध र सन्तुलनका दृष्टिले पनि नेपालको महत्व रहेको छ । त्यसैले नेपालले औपचारिकरुपमा असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीति अपनाउँदै आएको हो । तर ०६३ को परिवर्तनपछि सत्ता र शक्तिमा आएकाहरुले नेपाललाई युरोप र उत्तर अमेरिकी देशहरुको सैन्य गठबन्धन ‘नेटो’ समर्थक बनाउन खोजेका थिए । अमेरिका, यूके, क्यानडा र फ्रान्ससहितका १२ वटा देशले सन् १९४९ मा नेटो अर्थात उत्तर एट्लान्टिक सन्धि संगठनको स्थापना गरेका थिए । त्यसैले पछिल्लो समयमा नेपालमा अमेरिका लगायतका पश्चिमा देशहरुको दबदबा बढेको हो । नेपाल जलश्रोतमा धनी छ ।
जलबिद्युतको सम्भावना पनि धेरै छ । भारतलाई ऊर्जा आपूर्तिको सम्भावना भएका नदीहरु (जस्तै गंगा प्रणालीमा जाने नदीहरु) ले प्रभाव पारेका छन् । त्यसैले भारतले नेपालको जलश्रोतमा एकाधिकार कायम गर्ने÷गराउने प्रयास गर्दैआएको हो । नेपालको चीन र भारतकाबीचमा सांस्कृतिक र ऐतिहासिक महत्व पनि त्यतिकै प्रबल रहेको छ । नेपाललाई भारत र चीनको मुख्यत तिब्बतको सांस्कृतिक सेतुनै मानिन्छ । यहाँ हिन्दू र बौद्ध संस्कृतिको मिश्रण रहेकाले धार्मिक पर्यटनको संभावना पनि बढी छ । त्यसैले अमेरिका लगायतका पश्चिमा राष्ट्रले हिन्दू र बौद्ध धर्माबलम्बीहरुलाई जुधाएर कृश्चियन बाहुल्य बनाउन खोजिरहेको देखिन्छ । समग्रमा भन्नुपर्दा नेपालको भूराजनीतिक महत्व यसको स्थान, प्राकृतिक श्रोत, र छिमेकी शक्तिहरुसँगको सम्बन्धमा आधारित छ । सही कूटनीतिक सन्तुलन कायमगर्न सकेमा नेपालले आफूलाई क्षेत्रीय शान्ति, व्यापार, र सहकार्यको केन्द्रकारुपमा स्थापितगर्न सक्ने अवस्था पनि छ । तर कतिपय नेपालीहरुनै उपरोक्त तीन देशका बिभिन्न शक्ति केन्द्रहरुको स्वार्थ पूर्ति गर्ने÷गराउने कार्यमा सक्रियतापूर्बक लागेकाले विदेशी हस्तक्षेपबाट देशलाई मुक्त गराउन असहज भएको हो । भारत नेपाललाई आफ्नो सुरक्षा कवच विशेषगरी सिलिगुढी कोरिडोर (चिकेन नेक) को सुरक्षाकारुपमा हेर्छ । जसले भारतको मुख्य भूमिलाई उत्तरपूर्वी राज्यहरुसँग जोड्छ । यदि चीनको प्रभाव नेपालमा बढ्यो भने भारतको सो भाग जोखिममा पर्नसक्ने उनीहरुको आंकलन रहेको देखिन्छ । त्यसबाहेक नेपालसँगको खुला सीमाले भारतलाई व्यापार, आप्रवासन र सुरक्षा नियन्त्रणमा सजिलो बनाएको छ । भारतको उद्देश्य भनेको नेपालमा आफ्नो प्रभाव कायम राखेर चीनको विस्तार रोक्नु, आर्थिक निर्भरता बढाउनु (नेपालको ७४% निर्यात भारततर्फ हुन्छ) र तिब्बती शरणार्थीहरुको माध्यमबाट चीनलाई दबाब दिनु हो । खुला सीमाना, व्यापार र रोजगारीका कारण नेपालमा भारतको प्रभाव अझै पनि बलियो छ । चीनको सक्रियतासँगै भारत पनि आफ्नो प्रभाव जोगाउन थप सक्रिय भएको देखिन्छ । त्यसैगरी अमेरिकालगायतका पश्चिमी देशहरुले नेपालमा लोकतन्त्र, मानव अधिकार र विकास परियोजनामा लगानीगर्ने बहानामा आफ्नो हस्तक्षेप बढाएका छन् । नेपालमा आफ्नो बलियो र निरन्तर पकड कायम राख्नका लागि उनीहरुले एमसीसी र संघीय शासन दुईवटा परियोजना सञ्चालन गरेका छन् । अब उनीहरु एसपीपीमा हस्ताक्षर गराउन अनेक प्रपञ्च गरिरहेका छन् । त्यसैगरी भारतमा रहेका दलाइलामालाई नेपालमा स्थापित गराउने प्रयास पनि भैरहेको देखिन्छ । नेपालमा गत फागुन २१ को निर्वाचनको वातावरण बनाउन उनीहरुको प्रमुख हात रहेको थियोभने त्यसबाट बनेको बर्तमान सरकारलाई प्रयोग गरेर उनीहरु नेपालसँग सुरक्षा साझेदारी र ब्यापार ब्यवसायमा साझेदारी गर्ने÷गराउने प्रयास गरिरहेका छन् । त्यसैका लागि पछिल्लो पटक गतसाता बिहीबारदेखि शनिबारसम्म अमेरिकाका दक्षिण तथा मध्य एशियाका लागि विशेषदूत सर्जियो गोरको नेपाल भ्रमण भएको हो । गोरले नेपालका परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग मात्र छुट्टाछुट्टै भेटवार्ता गर्नुको पनि बिशेष अर्थ र महत्व रहेको छ । उक्त भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थपउचाइमा पु¥याउने र आर्थिक विकासका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको भनिएको थियो । परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल र विशेषदूत गोरबीच नेपाल–अमेरिका सम्बन्धका विविध आयामहरुलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा कुराकानी भएको भनिएको छ ।
त्यसक्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई समयसापेक्ष सुदृढ बनाउँदै द्विपक्षीय लगानीलाई प्रोत्साहनगर्ने र व्यापार प्रवद्र्धनका नयाँ अवसरहरु पहिल्याउने विषयमा विशेष जोडदिइएको थियो । त्यसैगरी विशेषदूत गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि भेट गर्नुभएको थियो । उक्त भेटघाटमा मुख्यगरी नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध पक्षहरुमा छलफल केन्द्रित रहेको थियो । त्यसक्रममा मन्त्री डा.वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था र नयाँ सरकारले अघिसारेका विकासका प्राथमिकताकाबारेमा अमेरिकी विशेषदूतलाई अवगत गराउनुभएको थियो । जवाफमा विशेषदूत गोरले नेपालको आर्थिक विकास र समृद्धिमा अमेरिका सधैँ साथमा रहने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरुबीच नेपालमा अमेरिकी सहयोगमा सञ्चालित एमसीसीलगायतका परियोजनाहरुको प्रभावकारिता र भविष्यमा हुनसक्ने थपलगानीका क्षेत्रकाबारेमासमेत सकारात्मक कुराकानी भएको बताइएको छ । रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा त गोरले नेपालसँग सुरक्षा सहकार्यगर्ने कुरा उठाउनु भएको थियो । नेपालको भूमी प्रयोग गरेर हिमालय क्षेत्रमा चीनको वर्चस्वलाई चुनौती दिनु अमेरिकाको मुख्य उद्देश्य रहेको छ । त्यसैगरी चीनको स्वार्थ भनेको तिब्बतमा अस्थिरता रोक्नु, भारत र अमेरिकाको प्रभावलाई सन्तुलनमा राख्नु, र आर्थिकरुपमा नेपाललाई आफूतर्फ आकर्षित गरेर रणनीतिक गठबन्धन बनाउनुमा रहेको छ ।
चीनले पनि हालैका दिनमा नेपालसँग सुरक्षा सहकार्यगर्ने प्रस्ताव अगाडि सारेको छ । यसरी नेपालमा बढेको विदेशी चासोले यहाँ बिभिन्न चुनौतीहरुको सिर्जना गरेका छन् । एकातिर यसले विकास, लगानी, र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा बाधा सिर्जना गरेको भभने अर्कोतर्फ कूटनीतिक सन्तुलन बिग्रिने, निर्भरता बढ्ने, र आन्तरिक राजनीतिमा बाह्य प्रभावपर्ने जोखिम बढाएको छ । त्यसैले नेपालले हरतरहले असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीतिलाई अक्षरस पालनागर्नुमा नै ठूलो कल्याण हुन्छ । अन्यथा नेपालको स्वाधिनता र अखण्डतामा जहिले पनि चुनौती सिर्जना हुनेगर्दछ । यो आजको अवस्थामा नेपालका देशभक्त शक्तिहरुले चिन्तन मनन गर्नुपर्ने मुख्य बिषय हो ।




























