फुलमायालाई चिठी

फुलमायालाई चिठी

चिठी

प्रिय बहिनी फुलमाया,
असिम सम्झना ।

भर्खरै जस्तो लाग्छ हामीले महासङ्ग्राममा रगत बगाएर ज्यानको बाजी थाप्दै आहुति दिएर एउटा निरङ्कुश तानाशाहलाई ढालेको । कालखण्डको महाभूकम्पले त्यो तानाशाहको राजनीतिक सत्ता त ढल्यो, तर विडम्बना के भयो भने उसको सांस्कृतिक सत्ता हामीले बदल्न सकेनौं । पुरानो व्यवस्थाका मलामीहरू नै आज शासकको रूपमा बौरिए । सगरमाथाको उचाई छुने सपना बोकेका यात्रीहरू नै स्वार्थको स–साना आहाल र पोखरीमै रमाउन थाले । फलस्वअरू भुइँमान्छेका कारुणिक पिडाहरू दिनानुदिन थपिँदै गए । सत्ताच्युतहरू र सत्तालिप्साहरू मिलेर षड्यन्त्रको तानाबाना बुन्दै गर्दा बिहानीको झुल्के घामदेखि मध्यरातसम्म भर्चुअल संसार र सामाजिक सञ्जालमा हराएका नवयुवाहरूमा व्यवस्थाप्रतिको वितृष्णा र आक्रोशको ज्वालामुखी चुलिँदै गयो । शासकहरूको अक्षमता र अदृश्य शक्तिकेन्द्रहरूको प्रपञ्च मुताबिक गत भदौ २३/२४ को त्यो वितण्डाले देश जल्यो र सिंहदरबारको जग हल्लियो ।

यसैबिच २०८२ फागुन २१को त्यो ठिहीमा आम निर्वाचन भयो । उक्त निर्वाचनमा न जित्नेलाई आफ्नो सामथ्र्यमाथि विश्वास थियो, न हार्नेलाई पराजयको भय । तर परिणाम घोषणा हुँदा एक अभूतपूर्व र अप्रत्याशित कम्पन आयो । उक्त निर्वाचनमा जित्नेहरूले आत्मरतिमा मग्न हुँदै भने– ‘यो त पूर्वनिर्धारित जनमत हो’ । हार्नेहरूले आफ्ना कमजोरी लुकाउन ‘अदृश्य षड्यन्त्र’को बैसाखी टेके ।

प्रिय फुलमाया !

त्यो षड्यन्त्र होस् या कथित जनअभिमत, नेपाली राजनीतिको बहिखातामा नयाँ अध्याय त सुरु भयो, ‘जान्नेलाई छान्ने’ रोमान्टिक नारामा लठ्ठिएर जनताले अनुहार नै नचिनेका पात्रहरूलाई मतको अघ्र्य चढाए । अफसोच शासनको यो शिशुकालमै तिनै रक्षक भनिएकाहरूप्रति जनताको मोहभङ्ग सुरु भइसकेको छ । सहरका गल्लीहरूमा श्रमजीवीवर्गका जनताको आर्तनाद गुन्जिरहेछ । ओत लाग्ने ओतविहीन सुकुम्वासीहरू भग्नावशेषमा रोइरहेछन्, तर हाम्रा नवशासकहरूलाई नदीको कृत्रिम सौन्दर्यको चिन्ता छ । दक्षिण भारतीय चलचित्रको भ्रामक दृश्य झैं दुःखीका झुपडीहरूमा विनाविनाशकारी डोजर जथाभाबी नाच्छ, तर जब त्यो सिंह डोजर कुनै सम्भ्रान्त माननीयको महल अगाडि पुग्छ तब उसका दाँतहरू कुण्ठित हुन्छन् र लुरुलुरु फर्कन्छ ।

कस्तो विरोधाभास है फुलमाया ! एउटी श्रमजीवी आमालाई विलासी गाडीको विन्डोबाट भुक्ने कुकुर देखेर त्रसित बनेकी आफ्नी अबोध बच्चीको चिन्ता छ । अर्की सम्भ्रान्त आमालाई भने त्यही एसी गाडीको डगीलाई चिसो नपुगेर भुइँकुहिरो जस्तो छटपटी भएको चिन्ता छ । सत्तारूढ दलका माननीयलाई विद्यालयको ढोकामा प्रधानाध्यापकले मालाले स्वागत नगरेको अहङ्कारी पिरलो छ । उता सुकुम्बासीको ढाडमा राज्यको निर्मम लाठी बर्सिरहेछ । सरकारी डोजर आतङ्कबाट प्रताडित तीन जना सुकुम्बासीहरू आत्महत्या गर्छन् । सवारी दूर्घटनाबाट बीस जना मान्छे एकैचोटी मर्छन् तर सरकार संवेदनासम्म व्यक्त गर्दैन । यहाँ त मानवीय संवेदनाको मलामी गएका टिकटकका ब्यापारीहरू, भ्यूज र डलरको खेती गर्न पिडामाथि क्यामरा तेस्र्याएर हिँडिरहेछन् ।

हिजो महङ्गीको मार पर्दा, इन्धनको हाहाकार हुँदा सडकमा धारेहात लगाउने कथित बुद्धिजीवी र सुधारवादी विद्वानहरू आज यो ‘फेसबुकिया सरकार’को भजनकीर्तनमा व्यस्त छन् । किनकि, यो त उनीहरूले नै ‘जानेर÷छानेर’ ल्याएको सुसंस्कृत सरकार रे !

विगतमा संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतहरूमा हुर्हुर्ती आगो दन्किँदा ‘आदेश नपाएको’ बाहाना बनाउने सुरक्षातन्त्र आज सुकुम्बासीका बस्तीहरूमा युद्ध जितेझैं गस्ती गर्छ । उता कालापानी र लिपुलेकमा वैदेशिक हस्तक्षेपको घाउ बल्झिन्छ । यता परराष्ट्र मन्त्रालय हस्ताक्षरविहीन, कायर कुटनैतिक नोट जारी गर्छ । यही समयमा सरकारले अध्यादेशको चोर बाटोबाट भूमिसम्बन्धी फर्मान जारी गरेर सेनालाई सुकुम्बासीको बन्दुकको छायामा लागत सङ्कलन गर्न खटाइन्छ । समकक्षीसँग मात्र भेट गर्ने अडान लिएका प्रधानमन्त्रीको राष्ट्रवादी अहङ्कारको मुकुण्डो सगरमाथा वेश क्याम्पमा ड्रोन उद्घाटनमा पुग्दा च्यातिन्छ ।
लोकतन्त्रका लागि जेलनेल र कठोर यातना भोगेकाहरूको देशमा आज राष्ट्रसेवक र शिक्षकका पेसागत सङ्गठनमाथि प्रतिबन्ध लाग्छ । हिजो बहुमतको उन्मादमा सामाजिक सञ्जाल निमोठ्न खोज्नेहरूको विरोध गरेर नयाँ कलेवरमा जन्मिएको यो ‘डिजिटल बहुमत’को राजमा सत्य लेख्ने पत्रकारहरूलाई सिंहदरबारको रिपोर्टिङमै निषेध गरिँदैछ । सरकारको आलिसान ‘होल्डिङ सेन्टर’मा बन्दी बनाइएका सुकुम्बासीका कारुणिक तस्बिरहरू खिच्न समेत प्रतिबन्ध छ । त्यो भत्किएको टहराको चिसो भुइँमा, भिमबहादुर चेपाङ, आफ्ना बफादार कुकुरहरू– लुते र पुन्टेसँग रात काट्न विवश छ । एकातिर उसको पहिचान, उसको सुत्ने थाङ्नो र कागजको कार्टुन समेत डोजरले माटोमा पुरेर नामोनिसान मेटाइन्छ । अर्कोतिर सर्वस्व लुटिएका तिनै सुकुम्बासीसँग सभ्य राज्यले ‘नागरिकता र पहिचानको प्रमाण’ माग्ने क्रूरता देखाउँछ । एकातिर यसलाई ‘सुशासनको मसिहा’ सरकार भनिन्छ, अर्कोतिर सम्पत्ति छानबिनको नाममा प्रतिशोधपूर्ण र पूर्वाग्रही संकथन रचाइन्छ ।
सत्य भनुँ फुलमाया ! यहाँ सुशासनको यो चर्को नारा त केवल राजनीतिक प्रतिपक्षीलाई तह लगाउने ‘डेमोक्लसको तरवार’ मात्र बनेको छ । गणतन्त्रको गरिमा, राष्ट्रपति र सार्वभौम सदनको शिर निहुरिएको छ । सदनमा जनप्रतिनिधिहरू ज्वलन्त प्रश्नको जबाफ माग्छन्, तर हाम्रा प्रधानमन्त्री भने फेसबुकको भित्तामा उत्तर लेखेर आत्ममुग्ध बन्छन् ।

प्रिय फुलमाया !

बुढापाका भन्थे– ‘बाँचेपछि सबै देख्न पाईन्छ’ । यो विद्रूप तमासा आफ्नै आँखाले देख्नु पनि एक किसिमको चेतना त हो, तर देशको भविष्य त्यति सहज र सरल रेखामा छैन । एउटा दृश्य तानाशाहको अवसानपछि यहाँ अर्को ‘अदृश्य र छद्म तानाशाह’को उदय भइरहेको छ, भिन्न रूपमा, भिन्न शैलीमा, विकसित सूचना प्रविधिको सहारामा । जो जनताको प्रत्यक्ष संवाद र धरातलीय सहकार्यभन्दा धेरै टाढा, अँध्यारो बस्त्र र कर्पोरेट कोठामा बसेर चम्किलो स्क्रिनको भर्चुअल पर्दा पछाडिबाट देशको अस्मिता लुँड्याउने योजना बुन्दछ ।

त्यसैले फुलमाया ! तिमी र मैले फेरि एकपटक ब्युँझनु परेको छ । फेरि सङ्घर्षको मैदानमा उत्रनु परेको छ । विगतका हाम्रा कमजोरी र राजनीतिक भूलहरूप्रति क्षमा माग्दै फेरि तिनै भुइँमान्छे र मजदुरहरूसँग हातमा हात मिलाउनु परेको छ । जुन दिन यो देशका गरिब, दुःखी र श्रमजीवी जनताले यो ‘डिजिटल भ्रम र पपुलिजम’को असली अनुहार बुझ्नेछन् त्यो दिन विभिन्न रूप, रङ र मुकुन्डोमा आउने आधुनिक तानाशाहहरूको अन्त्य हुन्ेछ । अनि मात्र तिम्रो, मेरो र हामी सबै भुइँमान्छेहरूको निर्मल र वास्तविक खुसीको बिहानी झुल्किनेछ ।

उही तिमीलाई मायाँ गर्ने तिम्रो दाजु
पूर्ण उर्फ आयाम
लाखरखोला, रुकुम ।
२०८३/०२/०५