तिमी लड्न जन्मिएकाहरू
देशमा सुव्यवस्था, स्थिरता, प्रगति
कुन्नि के के ल्याउन
अमनचैनको मिठो धुन बजाउन
तिमीहरू आफ्नो बाबाको गौरवको धरोहर
रातो, तातो क्रान्तिकाे आगो दन्काउन
भुङ्ग्रोमा छोपिएको आगोको झरिलो बिउ
व्रmान्तिवीरको आस्थाको सगरमाथा ।
स्वतन्त्रताको बाटो ऊ त्यो सुनकोसीजस्तै
लामो, पट्यारलाग्दो र कठिन छ सीता
यो हुकुमीतन्त्रलाई बढार्न
इन्द्रावती, तामाकोसीदेखि तमोरसम्म
सप्तकोसी छरपष्ट भएर उर्लिएजस्तै
वर्षातको उर्लंदो बाढीलाई रोक्न नसकेजस्तै
जिउँदा र जोसिला युवाहरूले युद्धको शङखघोष गर्छन्
मुलुकभरि ह्वारह्वार क्रान्तिकाे आगो सल्कन्छ ।
बेलगाम समुन्द्रको लहरझैं रगतको होली खेल्न तयार
उन्मुक्तिको त्यो दिन
हार्न र झुक्न नजान्ने वीर छोराछोरीहरू रक्तमुछेल भएर
क्रान्तिकाे वलिवेदीमा होमिन्छन्
म तीन वीर सपूतहरूकी वीर आमा
सङ्घर्षको रणमैदानमा
आफ्ना मुटुका टुक्राहरूलाई होम हाल्ने
म सिन्धुलीकी महान् आमा
मुटुको रोगले जर्जर
अशक्त र कमजोर
तर सुनकोसीझैं गतिशील मेरो मिनलाई
आततायीका बर्बर बुटहरूले छातीमा कुल्चिए
यातनाको हिमपात बर्साउँदै गए
मेरो छातीमा सोला हान्छ र सपनामा ऐँठन हुन्छ
उसको चिच्याहटले आज पनि ।
नाङ्गेडाँडाको यो चर्को घाममा
शीतल हावाले शरीरको रोमरोममा छिरेर
जीवन दिएजस्तै
मेरो कहिल्यै निको नहुने घाउमा मलम लगाउँथ्यो पवन
अत्याचारीको निर्मम गोलीले
मेरो पवनलाई भोटेखोलाको हावामा उडाइदियो ।
आमा ! दुस्मनले चिराचिरा पारेको
तिम्रो मनलाई आफ्नो चोलोको
सिउनी जसरी टाँका लगाइदेऊ
यो शोकलाई प्रतिशोधमा बदल्न
यो आँसुलाई आगोमा परिवर्तन गरिदेऊ
शत्रुले आफैलाई खाल्टो खनाएर
मरिन खोलामा हाम्रा साथीलाई अधमरो पारेर गाडिदिए
आफ्ना होनहार दुई छोराहरू देशलाई चढाउने
परेवाडाँडाका बाबुराम प्याकुरेल बा र आमालाई हेर
रानीछाँगामा छहरासरी विश्वास देखाएर
उत्सर्ग हुन् प्रदीप पुलामी र जया दहाल
बोहोरेटारका निर्मला र मञ्जु अछामीका आमाबालाई सम्झ,
देशैभरि क्रान्तिको उर्लंदो लहरहरूमा बिलाएका वीरहरूका
वीर आमाहरूलाई सलाम गर्दै
हृदयभरि मुक्तिको राँको बोकेर अघि बढेका
वीर योद्धाहरूलाई मार्न उद्धत
नरसंहारको यस विषालु समयमा
मनलाई कतै कुहिरी मण्डल बनाउन खोज्ने
आफ्नै मुटुको धडकनका विरुद्ध लड ।
उज्यालो भविष्यको चाहमा जग्मगाउन खोज्दा
सबै सन्तान उठिबास भएका अमलेको सुगन्धित माटोलाई छोएर सोच ।
देश बनाउने यो महान् यात्रालाई अधमरो छाड्दैनौँ
वीरहरूको सपना र आस्थाको धरहरालाई
धरमर र कमजोर हुन् दिदैनौँ ।
पीडामा विह्वल नभई
यो अँध्यारो वर्तमानको अगाडि
अथक परिश्रमीले झैं एकोहोरो
उज्यालो बाटोको महासमरमा होमिनु पर्छ ।
आमा ! दुस्मनका गोलीका पर्राहरूलाई हातले समाउँदै,
छातीमा गोली थापी साथी जोगाउँदै जमिनमा ढलेका कर्मीहरूलाई
वैरीको निसानाबाट बचाउन, विस्फोट गर्नुपर्छ आमा
दुर्लुङमा पातकीहरूले हाम्रा चेलीहरूलाई नाङ्गै घुमाएर फोहोर ढोलक बजाए
म कसरी हात बाँधेर बस्न सक्छु ?
यो सरहद र तिमी
सङ्कटको यस महायात्रामा
ओठ खोलेर उत्साह भरिदेऊ, बिदाको हात हल्लाइदेऊ ।
तिम्रा वीर सन्तानहरू
वैरीलाई थर्काउँदै
झन्झन् शिर ठाडो पारेर अघि बढ्दै छन्
वैरीका कोसिसहरूलाई विफल पार्न, विस्फोट गर्नुपर्छ
म काकाकुलहरूझैं झुण्डमा मिसिएर परपर पुग्नुपर्छ
बारुद बनाउनु पर्छ, विस्फोट गर्नुपर्छ,
आमा ! आगो लगाउनु पर्छ भन्दै
मेरो देवी, मेरो कान्छो आफै विस्फोटमा परी खरानी भयो ।
म महान् आमा बन्न सकिनँ
आधारातमा सुनकोसी र भोटेखोलाको चर्को सुसाइमा म डराउँदै काम्छु
हरेक पल म सल्लाझैं एक्लै सुसाउँछु
म वलिदानी छोराहरूको पर्खाइमा निर्मिमेष बाटो हेरिरहन्छु ।
म वीर योद्धाहरूकी महान् आमा
म खुसी र आनन्दित हुन् सकिनँ
मलाई मेरै सन्तानको न्यानो स्पर्श प्यारो
म महान् आमा हुन् सकिन ।
सुनकोसी – ३, सादनबोट



























