बेपत्ता योद्धाहरुको स्मरण र सम्मानमा केही शब्द !                                

बेपत्ता योद्धाहरुको स्मरण र सम्मानमा केही शब्द !                                

आज जेष्ठ ७, बेपत्ता योद्धा दिवस अर्थात् माओवादी उच्च्तम नेता क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने) लाई राज्यद्वारा बेपत्ता पारिएको दिन ! हार्दिक स्मरण, आत्मीय सम्मान र संघर्षशील सलाम उहाँलगायत सम्पूर्ण वीर बेपत्ता योद्धाहरु !
वि. सं. २०५२-६२ मा विश्वको सर्वोच्च शिखर भएको देश नेपालमा देस र जनताको मुक्ती र क्रान्तिको लागि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा दस बर्षे महान् जनयुद्ध भयो । त्यसका दौरानमा तत्कालिन प्रतिक्रियावादी राज्यसत्ता र त्यसका जल्लादहरुले युद्धमा प्रत्यक्षत: असंलग्न नेपाल आमाका सच्चा क्रान्तिकारी वीर सपुत सर्वसाधारण निशस्त्र नागरिकहरुलाई समेत गैरकानुनी गिरफ्तार गरी रहस्यमय रुपमा हजारौंलाई बलपूर्वक कुटपिट, जेलनेल, बलात्कार र हत्यासमेत गरी बेपत्ता बनायो । तिनै वीरवीराङ्गना बहादुर र बलिदानदातामध्ये एक क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने) लाई बेपत्ता पारिएको अविस्मरणीय दिन हो जेठ ७ ।
त्यसैले आजको दिन नयाँजनवादी गणतन्त्र नेपालको निर्माण गरी भोकानाङ्गा, गरिबदुखी र शोषितपीडित जनताको लागि न्यायसमानता, सुखशान्ती र मुक्तिप्रगतिको सुदिन ल्याउने महाअभियानमा जीवन बेपत्ता बनाएका अमर योद्धाहरुको स्मरण, सम्मान र सलामी गर्ने एक अधिक ऐतिहासिक महत्वको दिवस हो ! यसैदिन २०५६ सालमा हाम्रो तत्कालीन गौरवशाली पार्टी माओवादीका केन्द्रीय सदस्य हाम्रा अति इमान्दार क्रान्तिकारी श्रद्धेय नेता कमरेड दण्डपाणि न्यौपाने (क. दीपेन्द्र शर्मा, जो बेपत्ता पारिनुभएका एकमात्र केन्द्रीय सदस्य हुनुहुन्छ ) लाई काठमाडौं न्युरोड छेउँको संकटा मन्दीरनेरबाट राज्यले विधिपूर्वक होइन बलपूर्वक गिरफ्तार गरी बेपत्ता बनाएको थियो । त्यसैले यसै दिनलाई एउटा प्रतीक मानेर उहाँलगायत राज्यद्वारा गैरकानुनी र बलजफ्ती बेपत्ता पारिनुभएका सम्पूर्ण वीर योद्धाहरुको सम्झना र सम्मान स्वरुप तत्कालीन नेकपा (माओवादी)ले जेठ ७ गतेलाई बेपत्ता योद्धा दिवसको रुपमा मनाउने निर्णय गरी हरेक बर्ष मनाउने गर्न लागिएको हो । यससन्दर्भमा म सर्वप्रथम प्रतिकृयावादी राज्यसत्ताद्वारा बेपत्ता बनाइएका सहयोद्धा कमरेड दीपेन्द्र शर्मालगायत सबै वीर वेपत्ता योद्धाहरुमा म हार्दिक सम्झना, उच्च सम्मान र क्रान्तिकारी सलामी अर्पण गर्दछु । साथै यस ऐतिहासिक अवसरमा राष्ट्रमुक्ती र जनमुक्तिको महाअभियानको यात्रामा लामबद्ध हुँदा जीवनको आहुती दिने सम्पूर्ण सहिद, घाइते-अपाङ्ग योद्धा र त्यागबलिदानको यो बाटोमा समर्पित हुनुहुने सबै सच्चा क्रान्तिकारी अग्रजहरु, सहयोद्धाहरु र अनुयायी-उत्तराधिकारी अनुजहरुलाई अभिनन्दन गर्नु मैले आफ्नो अहं कर्तव्य ठान्दछु ।
जनयुद्धको थालनी गर्दाका माओवादीका तत्कालीन १९ जना केन्द्रीय सदस्यमध्ये एक भएको नाताले अनि क. दीपेन्द्र शर्मासँग छुट्टिंदा अलि चतुर हुन नसकेर उहाँसँग छुट्टिएको एकघण्टाजतिमै उहाँ गिरफ्तार हुनुभै अन्ततः आजीवन बेपत्ता पारिनुभएकोले पनि उहाँको यो अवस्था भएको हो कि भन्ने दुखानुभूती हुँदा पनि म विशेष रुपले जिम्मेवार र भावुक हुँदै क. दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने) लगायत सम्पूर्ण बेपत्ता योद्धाहरुप्रती विशेष स्मरण र अभिवादन गर्न चाहन्छु । यति मात्र होइन, नेताहरु इतरका कोही जुट्ते वा भितरका कोहीए फुटेर अनि इतर-भितरकामध्ये कोही लुटेर वा छुटेर अथवा कोही बढी पाएर-खाएर मात्तिएर वा कोही त्यही नपाएर आत्तिएर र तात्तिएर भिडेका र हिंडेका छन् भने कोही विचारको बहाना बनाएर विपक्षीसँगको बहसमा विजयी बन्न नसकेर हारथाक भई गुटउपगुट बनाउँदै क्रान्तिकारी वकबास गरिरहेका छन् ! त्यस्तो हुँदा आन्दोलन कमजोर भै आज बेपत्ता योद्धाहरुको मात्र होइन सहिद, घाइते, योद्धा तथा जनयुद्धका सबैजसो सच्चा, इमान्दार र स्वच्छ क्रान्तिकारी नेताकार्यकर्ताहरु पनि वर्तमान राज्यद्वारामात्र होइन कि सम्बन्धित पार्टी, नेता र तिनका सरकारहरुबाट समेत
विस्मृत, उपेक्षित र अपमानित भैरहेको दुखदतम स्थिति छ । यो अवस्थामा म पनि बाध्यताबस पातालको आतंककारी शत्रु राष्ट्रमा आई खुम्चिएर बस्नु परेको विडम्बना छ । यो दुखद विडम्बनाका बीचमा मेरो कुनै जमघटका कार्यक्रमहरुमाउपस्थित हुन सकिने स्थिती न बनिरहेको सन्दर्भमा हाम्रा सच्चा क्रान्तिकारी यी वीर बेपत्ता योद्धाहरुप्रती यसप्रकारको हार्दिक सम्झना, उच्च सम्मान र क्रान्तिकारी सलामी व्यक्त गर्नु उचित र आवश्यक देखिएकोले यो छोंटो आलेख तयार गर्न लागिएको हो । योभन्दा बढी गर्न पर्ने हुँदाहुँदै पनि गर्न विवशतावस गर्न नसकिएकोमा क्षमा याचना गर्नु वान्छनीय भएको छ । त्यसैले अन्तमा यो गम्भीर र संवेदनशील घडीमा सबै स्वच्छ र इमान्दार योद्धाहरुको सम्झना र सम्मान तथा उहाँहरुका क्रान्तिकारी विचार र कार्यहरुको सक्दो अवलम्बन र कार्यान्वयन गर्ने-गराउने प्रण-प्रतिज्ञा गर्नु पनि मेरो समेत जिम्मेवारी भएको महसुस भएको छ । साथै जनयुद्ध, जनयोद्धा, सहिद, बेपत्ता, घाइते, अपाङ्ग र समर्पित नेता-कार्यकर्ता र जनताप्रती धोका, विश्वासघात र गद्दारी गर्ने तर साम्राज्यवादी-विस्तारवादी वैदेशिक शक्तिकेन्द्रहरुको दलाली र गुलामी गर्ने र सहिद-बेपत्ता आदिका सपना कुल्चेर सत्ता र शक्तिको उन्मादमा उन्मत्त भै अट्टहास गर्ने माओवादी लगायतका सम्पूर्ण खाओ-कमाओवादी पार्टी र नेताहरुप्रती घोर निन्दा र भर्त्सना गर्दछु ।
युद्ध समाप्त भै शान्तिसम्झौता भएको पनि आज दुई दशक बितिसकेको छ । यसबीचमा युद्धका क्रममा बेपत्ताकृत सम्पूर्ण योद्धाहरुको यथार्थ स्थिती युद्धसँग सम्बन्धित पार्टीहरु र नेताहरु सबैका एकल-दुकल वा संयुक्त सरकार बन्दासमेत हालसम्म कसैले पनि सार्वजनिकसम्म पनि गर्न सकेका छैनन् वा गरेका छैनन् अथवा गर्न नै चाहेनन् । जे होस्, यसले गर्दा बेपत्ता योद्धाका आफन्तहरु आफ्ना सन्तति-आफन्तीहरुको सास र लासको आश र त्रासको भासमा भासिएर जीवन आँसु र आक्रोशमा डुबाएर तड्पिरहेका छन् र मर्नु न बाँच्नुको दोसाँधमा छन् । यो र यस्तै दुखदतम समस्याहरुको हल गर्न भनेर नै जेन्जी विद्रोह भयो र अहिले देसमा सर्वशक्तीमान् र सर्वसत्तासम्पन्न बालेन सरकार बनेको छ । यसले सम्पूर्ण बेपत्ताकृत नागरिकहरुको यथार्थ स्थिती तत्काल सार्वजनिक गर्न, उनीहरुलाई यथोचित सम्मान गर्न र उनका पीडित परिवारजनहरुलाई आवश्यक परिपूरण प्रदान गर्नको लागि विशेष ध्यानाकर्षण गराउन चाहन्छु । यसरी यो द्वन्द्वसंग असम्बन्धित वर्तमान सरकारले पीडित र पीडकहरुका बीचमा एकले अर्कालाई त्यो दुखद त्रासदी बिर्सन र क्षमादान ( forget n forgive ) गर्न प्रोत्साहन गरेर आपसमा मेलमिलाप, सहयोग, सद्भाव र शान्ती-समुन्नतिको सन्मार्ग समाउने वातावरण बनाउनको लागि विशेष माग पनि गर्दछु । अन्यथा सामाजिक इतिहासको नियम अनुसार स्वाभाविक, अनिवार्य र अपरिहार्य परिणामस्वरुप फेरि फेरि पनि यस्ता युद्ध, विद्रोह, आन्दोलन र वर्गसंघर्षरुपी उथलपुथल र आँधिबेहरीहरु सानो-ठूलो र ढिलो-छिटो आइरहने सुनिश्चित छ । स्मरणीय रहोस्, नराम्रो गरेपछी मात्र होइन राम्रो गर्न नसकेपछी वा ढिला गरेपछी पनि आफ्नै देसका पटक-पटकका दुईतिहाईका सरकार र तिनका प्रमुखको दम्भ तोडिएको र विश्वविजेता बनेर अजेय कहलिएका सम्राटहरुको पनि हृदयविदारक अवस्था आएको ईतिहास छ । यही गम्भीर चेतावनी वर्तमान बालेन सरकारलाई पनि दिनु आफ्नो यतिबेलाको अहं दायित्व समेत ठान्दछु ।
२०८३ जेठ ७
ह्युस्टन, टेक्सास ।