नयाँ दिल्ली । अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको १० औं सम्मेलन, सोनीपत नगरको १४ औं सम्मेलन र महिला विभागको सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेसामा आवद्ध प्रवासी नेपालीहरूको साझा, ऐतिहासिक तथा अभिभावकीय सङ्गठन अखिल भारत नेपाली एकता समाजको पश्चिमोत्तर क्षेत्रीय समितिको भव्य सम्मेलन सोनीपतमामा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
प्रवासी नेपालीहरूको एकता, हक हित र अधिकारको रक्षा, तथा राष्ट्रिय स्वाधीनताको मूल मर्मका साथ आयोजित उक्त सम्मेलनमा पश्चिमोत्तर क्षेत्रअन्तर्गत पर्ने विभिन्न नगर, क्षेत्र तथा टोल समितिका प्रतिनिधि एवं ठुलो सङ्ख्यामा श्रमजीवी नेपालीहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनले नयाँ क्षेत्रीय समितिको चयन गरेको छ, जुन यस प्रकार छ धर्मराज विक (अध्यक्ष), विष्णु थापा (उपाध्यक्ष), लव बहादुर (कोषाध्यक्ष) र करीना साह (सचिव) । यसैगरी समितिको सदस्यहरुमा विष्णु भट्टराई (नोएडा), शंभू थापा (सोनीपत), कमल भण्डारी (दिल्ली), कृष्णा राना (गजियाबाद), माया थापा (नोएडा), किसन सुनार (नोएडा), रेश्मा शर्मा (नोएडा), सुमित्रा थापा (भिवाड़ी) र दिनेश साह (भिवाड़ी) रहनु भएको छ ।
समाजका केंद्रीय सल्लाहकार कृष्ण केसीको विशेष उपस्थितिले सम्मेलनलाई थप उर्जा प्रदान गरेको थियो । वहाँले आफ्नो मन्तव्यमा नवनिर्वाचित समितिलाई बधाई र शुभकामना दिँदै प्रवासी नेपाली जनताका समस्याहरुमाथि प्रकाश हाल्दै सीमा नाकामा हुने लुटपाट र दुर्व्यवहार, कार्यस्थलमा हुने श्रम शोषण, र सुरक्षाको ग्यारेन्टी जस्ता गम्भीर विषयहरूमाथि नेपाल र भारत सरकार दुबैले गंभीरता नदेखाएको भन्नु भयो । वहाँले नेपालमा पछिल्ला घटनाक्रमहरुले अमेरिकी साम्राज्यवादको दखल बढ्दै गएको चर्चा गर्दै जनता समक्ष संघर्ष बाहेक कुनै विकल्प न रहेको दावी गर्नु भयो ।
सम्मेलनमा केंद्रीय सदस्य विष्णु भट्टराई र शंभू थापाले पनि नवगठित समितिलाई शुभकामना र बधाई दिनु भयो । कार्यक्रमको संचालन लव बहादुरले गर्नु भएको थियो ।
१०औँ क्षेत्रिय समिति सहित उक्त अवसरमा सोनीपत नगर समित र महिला विभागको समेत सम्मेलन आयोजित गरी पदाधिकारीहरुको चयन गरिएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्षले सन् १९७९ मा स्थापना भएको यस सङ्गठनले स्थापनाकालदेखि नै नेपालीहरूको सुख दुःखमा मलम लगाउँदै आएको स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा पश्चिमोत्तर क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरूलाई गोलबद्ध गर्दै उनीहरूको हकहित र आकस्मिक विपद्हरूमा उद्धारका लागि सङ्गठन अझ बढी सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अखिल भारत नेपाली एकता समाज प्रवासमा रहेका नेपालीहरूको अधिकारका लागि मात्र नभई नेपालको राष्ट्रियता र लोकतन्त्रको रक्षार्थ समेत सधैं अग्रपङ्क्तिमा उभिँदै आएको सङ्गठन हो । यस ऐतिहासिक सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, पत्रकार तथा शुभचिन्तकहरूमा पश्चिमोत्तर क्षेत्रीय समितिले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको थियो ।





























