हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘दर्शनशास्त्रको इतिहास’ पुस्तकमाथि परिचर्चा सम्पन्न

हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘दर्शनशास्त्रको इतिहास’ पुस्तकमाथि परिचर्चा सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनको पछिल्लो पुस्तक दर्शनशास्त्रको इतिहासमाथि परिचर्चा सम्पन्न भएको छ । असार ३ गते बुधबार अनामनगरस्थित संवाद डवलीमा सम्पन्न भएको कार्यक्रममा वक्ताहरुले प्रस्तुत पुस्तकमाथि चर्चा गर्दै ऐतिहासिक भौतिकवादी दर्शनको क्षेत्रमा प्रस्तुत पुस्तकमार्फत् लेखक तथा नेता सुदर्शनले ठूलो योगदान पुर्याएको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले दार्शनिक तथा वैचारिक अध्ययनको खडेरी परेको बेला नेता सुदर्शनको यो पुस्तकले नेपालको कम्युनिस्ट तथा वापमन्थी आन्दोलनमा महत्वपूर्ण खुराकसहित आन्दोलनलाई सही रुपले दिशाबोध गर्ने बताउनु भयो ।

त्यसैगरी नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा, वैज्ञानिक कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुति, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापा, प्रा.डा. जगदीशचन्द्र भण्डारी, नेकपा (मसाल)का नेता समिरसिंह, दार्शनिक क्षेत्रका लेखक गोपीरमण उपाध्याय, समाजवादी कम्युनिस्ट पार्टी नेपालका नेता पूर्णबहादुर सिंहलगायतका नेताहरुले पूस्तकको महत्वमाथि प्रकाश पार्दै केही सुझावमूलक टिप्पणी समेत गर्नुभएको थियो ।

अखिल (क्रान्तिकारी)का महासचिव नवीन खड्काले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता क्रान्तिकारी युवा संघ नेपालका संयोजक दोर्जी शेर्पाले गर्नुभएको थियो भने स्वागत मन्तव्य अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा पार्टीका पूर्व महासचिव तथा बरिष्ठ दार्शनिक नेता मोहन वैद्य किरणको शुभाकामना सन्देश नेतृ सुदृष्टिले वाचन गरेर सुनाउनु भएको थियो । कार्यक्रममा पत्रकारहरुको प्रश्नहरुलाई समेत सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा प्रवक्ता समेत रहनु भएका नेता हेमन्तप्रकाश ओली सुदर्शन परिचर्चाको क्रममा उठेका कतिपय विषयमा स्पष्ट पार्दै प्राप्त सुझाबलाई सकारात्मक रुपमा ग्रहण गरेको बताउनु भएको थियो । उहाँले प्रस्तुत पुस्तकमा आफ्नो ३० औं वर्षको मिहनेत परेको र ऐतिहासिक भौतिकवादी कोणबाट सघन मिहनेत गरिएको बताउनु भएको थियो ।