प्रिय तिला, सपनाहरू मरेका छैनन्

प्रिय तिला, सपनाहरू मरेका छैनन्

सहिदगाथा

सदियौंदेखि नेपाली समाजमा व्याप्त असमानता, गरिबी, छुवाछुत, अन्याय, अत्याचारको विरुद्ध सल्केको जनयुद्ध रूपी आगो कतै डढेलो जस्तो दन्किरहेको थियो भने कतै भुसको आगो जस्तै भित्रभित्रै सल्किरहेको थियो । कतै जनयुद्ध वनमा थियो भने कतै मनमा थियो । न्याय र समानताको नारा, सामन्तहरूलाई कार्वाही गरी जाली तमसुक च्यातेर पुर्जा दिलाएका घटना, समाजले दोस्रो दर्जाको मानिसको रूपमा गणना गरिएका महिलाको पक्षमा न्याय दिलाएको आदि घटनाले महिला, दलित, किसान, मजदुर विद्यार्थी सबैमा एक प्रकारको उद्वेलन सहित अन्यायको विरुद्ध लडेर सबैलाई समानता दिलाउने नारा कति धेरै व्यावहारिक र लोकप्रिय बनेको थियोे । त्यतिबेला जनताको मन जित्ने र जनजिविकासँग जोडिएर सही राजनीतिक कार्यदिशा लागु गर्न फिल्डमा खट्ने इमानदार नेता कार्यकर्ताहरूको जनशैली पनि आकर्षणको एउटा पाटो थियो । सदियौंदेखि उत्पीडनको चपरी मुनि थिचिएकाहरू उद्वेलित बनेर नयाँ जिवनको सपना देखेर सङ्गठित र आन्दोलित हुने प्रक्रियाले ठुलो तरङ्ग पैदा गरेको थियो । शैक्षिक आन्दोलनबाट क्रान्तिको सुन्दर क्षितिज पछ्याउँदै हिँड्ने एक युवा विद्यार्थी हुनुहुन्थ्यो तिला पौडेल ‘आस्था’ ।

अभाव, गरिबीबाट परिवार जोगाउन पहाडबाट बसाईंसराइको लर्काेसँगै खगेश्वर सापकोटा दम्पति चितवनको माडी आइ पुग्यो । खगेश्वर सापकोटाले धेरै चुनौतीहरू पार गरेर आफ्नो गुजारा चलाइरहेका थिए । उनकी साहिली छोरी रमादेविले सामन्ती पितृसत्ताको कठोर उत्पीडन झेलेर २०४३ जेठ ३ गते एक छोरीको जन्म दिनुभयो । ठुलो भिनाजु अस्पताल कर्मचारी भएको कारण सुत्केरी गराउन सजिलो होस् भनेर आमाबुबाले रमादेवीलाई आफ्नो ठुली छोरीको घर पोखरा पु¥याउनु भएको थियो । न्वारान गर्ने पुरेतले नाम जुराइदिए, तिला । ठुली आमाको घरमा जन्मी हुर्केका कारण स्कुलमा नाम लेखाउँदा पौडेल थर लेखियो । एक डेड वर्षको भएपछि हजुरबुबा हजुरआमाले छोरीलाई परिवारको जोहो गर्न मुग्लान पठाएर नातिनी तिलालाई मावलीमै ल्याएर आफुसँगै राख्नुभयो । त्यो समयको चेतना भन्दा धेरै माथि थियो, खगेश्वर सापकोटा दम्पतीको सोचाइ । समय भन्दा धेरै अगाडि सोच्न सक्ने यस्ता मानिसहरूले नै समाजलाई अगाडि बढाउन मद्दत गरिरहेका हुन्छन् ।

माडी, जगन्नाथपुरी स्कुलबाट कक्षा पाँचसम्म अध्ययन गरेपछि तिला कल्याणपुरको जनकल्याण माविमा कक्षा ६ मा भर्ना हुनुभयो । बालसखा सूर्य पौडेल लगायत साथीहरू तिलालाई अनुशासित, मेहनती, पढाइमा अब्बल र खेलकुदमा रुचि राख्ने साथीको रूपमा सम्झन्छन् । जनयुद्ध आफ्नै रफ्तारमा अघि बढिरहेको थियो । दुरदराजका गाउँ बस्ती होस् वा शहरका गल्ली गल्ली जताततै जनयुद्धको प्रभाव वनको डढेलो जस्तै फैलँदै थियो । विद्यालयमा अनिवार्य संस्कृत शिक्षाको विषयलाई माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले विरोध गर्दै आइरहेको थियो । पाठ्यक्रमबाट संस्कृत खारेजी अभियानमा तिला सहित सूर्य पौडेल, कला लगायत माडिका विद्यार्थीहरू सक्रिय रूपमा सामेल भए । चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको चितवनको माडी उपत्यकामा माओवादी कार्यकर्ता सम्झना श्रेष्ठ ‘शान्ती’, सूर्य बराल ‘क्षितिज’ लगायतको टोली कार्यरत थियो । तिलाकै मामाहरू पनि माओवादी समर्थक थिए । मावलीमा हुर्कनुभएकि तिलामा स्वाभाविक रूपले मामाहरूको राजनीतिक चेतनाको प्रभाव पर्ने नै भयो । यो अभियानमा २०५९ को सुरुवातमा तिलासँगै यमप्रसाद न्यौपाने, नारायण अधिकारी, कला, खेमलाल लगायत विद्यार्थीहरू एकैपटक पूर्णकालीन बनेका थिए । गाउँबाट एकैचोटि सात÷आठ जना युवा विद्यार्थीहरू पूर्णकालीन बनेपछि गाउँघर र विद्यालय सबैतिर धेरै ठुलो हलचल भएको थियो ।

तिलाको अगाडि समाजका हजारौं अनुत्तरित प्रश्नहरूको गुजुल्टो केलाएर खडा हुन दरिलो संरक्षक हजुरबुबा खगेश्वेर दम्पतिको दृढता र सङ्घर्ष बेगर सम्भवै थिएन । दुई मामाहरूको प्रेरणा तिलाका निम्ति नया मार्गचित्र बनेका थिए । तिलाको कान्छो मामा खिल प्रसाद सापकोटालाई आफ्नो भाञ्जी निर्भिक, पढाईमा अब्बल, मेहनती, जिज्ञासु, सबैलाई माया गर्ने आँटिलो मान्छे लाग्दथ्यो । देशव्यापी फैलिएको जनलहर र अन्यायको विरुद्ध कठोर सङ्घर्ष गरिरहेका माओवादीको प्रभावबाट उनीहरू पनि अछुतो थिएनन । आफ्नै गाउँघरमा आइपुगेका साथीहरूलाई सहयोग गर्ने उनीहरू सुरुदेखि नै माओवादी समर्थक थिए ।
तिलाका जेठो मामा र माइजू भरतपुरमा फलफुल व्यापार गर्दथे । तिला विद्यालय विदा हुँदा भरतपुर आएर मामा माइजूलाई व्यापारमा सहयोग गर्नुहुन्थ्यो । एकदिन आफुहरूसँगै बसेर व्यापार गरेर घर जान्छु भनेर हिँडेकी भाञ्जी माओवादी पार्टीको पूर्णकालीन कार्यकर्ता भएर हिँडेको खबर उनीहरूले पाए । भाञ्जीको पढाई राम्रो छ, जसरी पनि पढाउनु पर्छ भन्ने उनीहरूलाई लागेको थियो । दुवै मामाहरू माओवादी पार्टीको समर्थक भएका कारण पार्टीको सूचना सम्पर्क प्रयोग गरेर उनीहरू भाञ्जी खोज्न हिँडे । उनीहरूको सोच जसरी पनि सम्झाई बुझाई गरेर भाञ्जीलाई फर्काउनु रहेछ । भूमिगत जिवनका जटिलता व्यहोर्दै उनीहरू तिलाको सम्पर्कमा पुगे । फकाएर घर ल्याउन नपाउँदै पुनः हिडिहाल्नुभयो । कति धेरै दृढता थियो भान्जीको भनेर पुराना दिन सम्झदै माइजू मलिन हुनुभयो । मामाहरूलाई भाञ्जी बालखै छिन्, केही जान्दिनन् भन्ने लागेको थियो । तर तिलाले उनीहरूलाई नै आफ्नो उद्देश्य र क्रान्तिप्रतिको प्रतिवद्धता पढाएर पठाइदिनुभयो । ‘सोझी नानीलाई अरूले फकाएर फसाए भन्ने लागेको थियो, भाञ्जी त उल्टै हामीलाई पो पढाउने भइसकेकी रहिछन्’ मामा खिलप्रसादलाई आज पनि ती दिनको अनुभुति भइरहन्छ । आन्दोलनको उभार र प्रभावले कसैलाई रोक्न सक्ने स्थिति थिएन । तिलालाई लिन गएका मामाहरू भाञ्जीलाई युद्ध मोर्चामा छाडेर फर्किए ।

तिला पूर्णकालीन भएको केही समय जनसङ्गठनमा काम गर्नुभयो । आधारभूत तालिमपछि जनमुक्ति सेनाको रूपमा काम गर्न थाल्नुभयो । विकट पहाडी भूगोल र ठूलो समथर ठाउँ भएको चितवन जिल्लाको सुविधा र जटिलता दुवै थिए । फरक फरक जातीय विशेषता र पहिरनका कारण पनि नियमित सेनालाई छलावरण (क्यामोफ्लाइज) सजिलो थिएन । शहरी क्षेत्रमा विशेष कार्यदल (STF) मार्फत् धेरै कामकारबाही हुने गर्दथे । तिला त्यही एसटिएफमा कार्यरत हुनुहुन्थ्यो । क्रान्तिको आवश्यकताले जनताको घरखेतदेखि दुश्मनको क्याम्पमै पुगेर सुचना सङ्कलन गर्ने सबैखाले कलात्मक जनशक्ति र कार्यशैली जनयुद्धले विकास गरिरहेको थियो ।

तिला र स्मृति (पवित्रा रिजाल) दुवैजना जनमुक्ति सेनाको विशेष कार्यदलमा थिए । कम्पनी कमान्डर टंक गुरुङ ‘ज्योति’को नेतृत्वमा रहेको सो विशेष कार्यदल (STF) ले नारायणघाटको व्यस्त बजारमा फौजी कार्वाहीको निधो ग‍र्यो । अधिकांश टोली सदस्यहरूको परिचय खुलिसकेको थियो । परिचय खुलिसकेका कार्यकर्ता दिउँसै नारायणघाट बजारमा निस्कनु भनेको जानाजानी मुख बाएर बसेको गोहीको मुखमा गएर सिकार बन्नु जस्तै हुन्थ्यो । ‘२०६० साल फागुनको महिना थियो । कार्वाहिको लागि निशाना र मिति निश्चित भइसकेको थियो ।’ स्मृति फलकमा मेटिन नसकिने दिनको सम्झना गर्दै तत्कालीन समयमा जिल्ला पार्टीको सेक्रेटरी रहेका यमबहादुर परियारले त्यो दिनको मिति सम्झने असफल कोसिस गरिरहे ।

कार्वाहीको निश्चित दिन पनि आइपुग्यो । त्यो कार्वाहीमा पबित्रा रिजाल ‘स्मृति’ पनि सहभागी हुने कुरो थियो । अन्तिम समयमा स्मृति अर्कै काममा जानुपर्ने भयो । बजार क्षेत्रमा कार्वाही भएका कारण अलिक सहरिया जस्तो र सुकिलो देखिन स्मृतिले नयाँ लुगा किनेकी थिइन् । स्मृति अर्कै काममा जानू परेपछि सो कार्वाहीमा तिला जाने निधो भयो । सैन्य विन्यासका योजना अनुसार अन्य सदस्यहरू पनि खटिए । स्मृतिले सिलाएको नयाँ लुगा लगाएर व्यस्त बजारमा भूमिगत कार्यशैली अपनाउँदै माइन बोकेर तिला निस्कनुभयो । जनमुक्ति सेनाले आफैंले बनाएको त्यो माइन प्राविधिक रूपले कमजोर रहेछ । निशानामा पुग्नु अगावै भिडभाड भएको ठाउँमा माइन विष्फोट हुनसक्ने सङ्केत तिलाले पाउनुभयो । आफ्नो साथमा रहेको त्यो माइन त्यत्तिकै गैरजिम्मेवार पाराले छोडेर हिँडेको भए तिलाको ज्यान जोगिन सक्दथ्यो । तर एउटा क्रान्तिकारीले जहिल्यै आफ्नो भन्दा पनि जनताको सुरक्षा र हितलाई मुटुमा राखेको हुन्छ । तिलाको मानवीय संवेदनशीलता र उदात्त क्रान्तिकारी भावना हावी भएर आयो । लड्दै सिक्दै गर्ने छापामार युद्धमा यस्ता घरेलु विष्फोटक सामग्रीहरूको परीक्षण पनि युद्ध मैदानमै हुने हुँदा कमसल प्रबिधिका कारण तिला जस्तै थुप्रै साथीहरूले ज्यान गुमाउनु भएको छ ।

‘म माओवादी हुँ । मसँग बम छ । यो पड्किनेवाला छ । तपाईंहरू भाग्नुहोस् । वरिपरि नआउनुहोला ।’ तिला चिच्याई रहनुभयो । भिड तिलाबाट पर पुगिसकेको थियो । तर आफुले लिएर गएको माइन तिलासँगै थियो । मानिसहरू डर र त्रासका बिच त्यो फुच्ची क्रान्तिकारीलाई हेरिरहेका थिए । तिलासँगै सोही योजनामा फरक भूमिकामा वरपर खटिएका उहाँका सहयोद्धाहरू किंकर्तव्यविमुढ भए । अचानक ठूलो आवाज आयो, माइन विष्फोट भयो । रगतको भेलमा तिलाको घाइते शरीर छटपटाउँदै थियो । त्यो दृश्य मुटु फुटाउने खालको थियोे । एकैछिनमा भरतपुर ब्यारेकबाट सेनाको टोली आएर तिलालाई लिएर गयो । उनीहरूले तिलालाई भरतपुर अस्पताल लिएर गएछन् । घाइते तिलाको अधमरो शरीर शाही सेनाको कब्जामा थियो । नजिकै वरपर रहेर यो कार्वाहीको हिस्सा बनिरहेका तिलाका सहयोद्धाहरूले तिलाको उद्धार गर्नै पाएनन् । भरतपुर अस्पतालमा कठोर सुरक्षा घेराभित्र उहाँको उपचार जारी थियो । यता पार्टीले सही सुचनाको अभाव र सँगै रहेका कमरेडहरूको रिपोर्टिङको आधारमा तिलालाई सहिद घोषणा ग‍र्यो । जिउँदै मान्छेलाई श्रद्धाञ्जली दिएको भनेर पार्टी र नेतृत्वको आलोचना भएको कुरा इन्द्रजितको मानसपटलमा ताजै छ ।

तिलाका मामाहरू भाञ्जीको एक झल्को भएपनि देखिन्छ कि भन्ने आशमा अस्पताल धाइरहन्थे । सेनाको पहरा भित्र भान्जीको अनुहार देख्नु त परै जाओस्, सत्य अवस्था समेत थाहा पाउने सम्भावना थिएन । कहिलेकाहीँ अस्पतालका कर्मचारी मार्फत् चुहिएर खबर आउँथ्यो । त्यसरी आउने खबर पनि रगत खोज्नलाई हुन्थ्यो वा उपचारका अरू अपुगताबारे हुन्थ्यो । तर तिलाको ठ्याक्कै स्थिति के हो भन्नेमा कसैले कुनै सुचना चुहाउँदैन थिए ।

एक दिन तिलाका कान्छा मामा खिलप्रसादले तिला भरतपुर अस्पतालमा नरहेको सुइँको पाए । उनीहरू दिनहुँ अस्पताल धाइरहन्थे । भाञ्जीको उपचार भइरहेकै छ भन्ने आशमा बसेका उनीहरूले तिला त्यहाँ नभएको पत्तै पाएनन् । धेरै खोज तलास गर्दा एकदिन तिलालाई काठमाडौं स्थित छाउनी अस्पताल लगिएको जवाफ मामाहरूले पाए । साँच्चै छाउनी अस्पताल लगियो कि टार्नलाई भनियो यसको कुनै आधार छैन । सेना उनलाई बचाउन भन्दा पनि बकाउन चाहन्थ्यो होला । नारायणघाटको व्यस्त बजारमा दिनदहाडै विष्फोटक सामग्री लिएर निस्कन सक्ने हिम्मत भएको त्यो जोदाहा क्रान्तिकारीलाई बचाएर उसको क्रान्तिकारीताको ल्याब टेस्ट गर्न चाहन्थ्यो होला कि यी फुच्चाफुच्चिमा यत्रो अदम्य साहस कहाँबाट आउँछ ? सायद उनीहरू पत्ता लगाउन चाहन्थे कि ती कथित आतङ्ककारीहरूमा यत्रो मानवीय संवेदना कहाँबाट आउँछ जसले आफू मर्न तयार भएर पनि अरूलाई बचाउने भावना जब्बर हुन्छ ? उनीहरू सायद पत्ता लगाउन चाहन्थे होलान् को हो त्यो फुच्ची जसले उनीहरूको फर्मानको बर्खिलाफ उनीहरूको नाकै मुन्तिर दिउँसै धावा बोल्ने हिम्मत गरी भनेर । तर माइन बिष्फोटले धुजा धुजा भएको तिलाको शरीरले प्राण धान्न सकेन र उपचारकै क्रममा एक दिन तिलाको सहादत भयो । तिलाको निर्जीव शरीर पनि गायब पारियो । मामाहरूले केवल खबर पाए । तिलाको मृत्यु कहिले भयो र उनको शरीरलाई के गरियो भन्ने प्रश्न सेनाको बन्दुकको पहरामा कतै उठ्नै पाएन । जन्मदेखि नै आफ्नो पहिचान र स्वाभिमानको सङ्घर्ष गरिरहेको एउटा योद्दाको मृत्यु समेत गुमनाम हुन पुग्यो । सेना र परिवारको लामो जुवारीपछि पाएको सुचनाको आधारमा २०६१ जेठ २३ लाई उँहाको शहादत मितिको रूपमा दर्ता गरियो ।

तिलाको सहादतको समयमा आमा रमादेवी आफ्नो गर्जो टार्न भारतमा मजदुरी गरिरहनुभएको थियो । त्यो समयमा सुचना र सञ्चारको माध्यम चिठी मात्रै थियो । केही सुगम ठाउँ र सहर बजारमा टेलिफोन सुविधा उपलब्ध थिए तर ती सुलभ थिएनन् र अत्यन्तै महङ्गा थिए । भारतबाट नेपाल फर्कने क्रममा रमादेवीले आफ्ना बच्चाहरूका लागि नयाँ लुगा ल्याइदिनु भएको थियो । सामाजिक उत्पीडन र गरिबीको कारण आफ्नो छोरीको बालापन चुम्न नपाएकि रमादेवीलाई तिलाको लागि लुगा किन्दै गर्दा यो लुगा लगाउनको लागि छोरी यो धर्तीमा छैन भन्ने कुनै आभास समेत थिएन । घरमा आएर रमादेवीका आँखाले आफ्नो छोरी खोजी रहे, हातमा लुगाको पोको त्यसै थियो । आमाको मनले बालखै जस्तो लाग्ने छोरी अब त यति ठुली भइसकि होला, आमाको मनमा छोरीको आकृती शुक्लपक्षको जूनजस्तै विस्तारै बढ्दै थियो । पूर्णिमाको जुन जस्तै हँसिलो र पूर्णरूपको छोरीको कल्पनामा रहेको आमाको आँखा अगाडि औंसिको रात भन्दा अँध्यारो छाईसकेको थियो । अङ्गालोमा बेरेर नयाँ लुगा लगाई दिने कल्पना गर्दै फुरुङ्ग भइरहेको मन छोरीको सहादतको खबरले उँचाईबाट खसेर झ‍¥यामझुरुम फुटेको सिसा जस्तै टुक्राटुक्रा भयो । त्यो दिन छोरी गुमाउनुको पिडामा बगेको आँसु र मनको चोट तिलालाई सम्झिदा आज पनि पाप्रा उप्केको घाउ जस्तै चहराइरहन्छ ।

जनयुद्धका तुफानी दिनहरूमा तिलाले मुक्तिको लागि आफुलाई समाहित गर्दै गर्दा म दुश्मनको खुनी पिँजडाभित्र बन्दी हुने निस्कने पुनः समातिने क्रम चलिरहेकै थियो । भौतिक हिसाबले हाम्रो भेट स्मृतिमा रहनेगरी हुनै पाएन ।
जनयुद्धको जगमा सम्पन्न दोस्रो जन आन्दोलनले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र नेपालको स्थापना ग‍र्यो । संविधान सभा मार्फत् जनताको संविधान लेख्न भनेर पार्टी संविधान सभाको चुनावमा सहभागी भयो । जनताको अभिमतका साथ हाम्रो पार्टी मुलुककै ठूलो पार्टी बन्यो । पार्टीकै नेतृत्वमा पटकपटक सरकार बन्यो र ढल्यो । पार्टी बाहिरबाट पहिलो संविधानसभालाई असफल पार्ने, माओवादीलाई संसदीय भासमा निस्कनै नसक्ने गरी जाक्ने भरमग्दुर कोशिश भइरहेका थिए । माओवादीको कथित लोकतान्त्रिकरण उनीहरूको एक मात्रै नारा थियो । वास्तवमा उनीहरू माओवादीहरूलाई लोकतान्त्रीकरण गर्ने नाममा पुरानै संसदीय पार्टी जस्तै बनाउन चाहन्थे । अफसोच, पार्टीको मुख्य नेतृत्व सहमतिका नाममा जनयुद्धका आधारहरू (पार्टी, सेना र मोर्चा) लाई क्रमशः विघटनको दिशातिर लैजादै थिए । जनतामा निराशा थपिदै थियो । हामीसँग पार्टीभित्र अन्तर्सङ्घर्ष बाहेक अरू कुनै विकल्प थिएन । वर्गसङ्घर्ष जति पेचिलो हुन्छ अन्तर्सङ्घर्ष त्यो भन्दा कैयन गुणा बढी पेचिलो हुनेरहेछ । पार्टीभित्र र बाहिर दुवैतिर सङ्घर्ष जारी नै थियो । पार्टी अध्यक्ष प्रचण्डको गृह जिल्ला भएर पनि होला अन्तर्सङ्घर्षको एउटा केन्द्र चितवन बन्यो । हामी लगभग शक्ति सन्तुलनको स्थितिमा थियौं । सक्रियता, सृजनशिलता र सङ्गठनका हिसाबले प्रचण्ड पक्षभन्दा हाम्रो रेड फ््रयाक्सन (चलनचल्तीमा वैद्य समुह) धेरै अघि थियो । हाम्रो पक्ष नै जिल्लाको संस्थापन पक्ष थियो । कार्यशैलीबाट सुरु भएको दुईलाइन सङ्घर्ष पार्टी विभाजन र झडपको स्थितीसम्म पुग्यो । जसको लेखाजोखा इतिहासले गर्ने नै छ । हामी सबै प्रश्नहरूको कठघरामा उभिएकै छौं ।

चितवनमा पार्टी अन्तर्सङ्घर्षको कथा कमरेड तिलासँग पनि जोडिएको छ । सहिदहरूको आदर्शिकरणका लागि हाम्रो विचार समुहको अगुवाइमा केही कामको योजना बनाएका थियौं । तत्कालीन जिल्ला सेक्रेटरी शोभा कट्टेलको नेतृत्वमा रहेको सहिद परिवार समाजको अगुवाइ र रेड फ््रयाक्सनको पहलमा सप्तगण्डकी क्याम्पसमा त्यही क्याम्पसका पूर्व विद्यार्थी सहिदहरूको स्मृतिमा विद्यार्थी सङ्गठनको नेतृत्वमा सहिद स्मारक निर्माण गर्ने, कृष्णपुरको जिल्ला पार्टी कार्यालय परिसरमा चितवन जिल्लाका सबै सहिद तथा बेपत्ता योद्धाहरूको स्मृतिमा सहिद स्तम्भ निर्माण गर्ने, माडी क्षेत्रका सहिदहरूको प्रतिमा स्थापना गर्नेगरी बसन्तपुर बजारमा सहिद स्तम्भ निर्माण गर्ने, तत्कालीन भरतपुर १४ कैलाशनगरमा सहिद केशव रिमाल ‘समर’ र शारदा श्रेष्ठ ऋतुको नामबाट समर–ऋतु स्मृतिकेन्द्र निर्माण गर्ने, देवघाट जाने बाटो आँपटारीमा ‘सहिद स्मृति पार्क’ निर्माण गर्ने, सहिदहरू केशव रिमाल ‘समर’ र ईश्वरी खनाल ‘प्रतीक’ दुवैको नामबाट ‘समर–प्रतीक’ बुलेटिन प्रकाशित गर्ने लगायतका योजना थिए । आँपटारीको पार्क पार्टीभित्रबाट अर्को पक्षले नरुचाएका कारण स्थानीयको निहुँमा विवादित बन्यो र त्यसै रोकियो । समर–ऋतु स्मृति केन्द्र जमिन किनेर पनि बारम्बारको फुट विभाजनले निर्माण हुनै सकेन भने अरू योजनाहरू सफल भए ।
बसन्तपुरको सहिद स्तम्भमा तिलाको नाम समावेश हुनु पर्दथ्यो तर हुन सकेन । तिलाको मामाहरू दुवैजना आफ्नो आमाको उपचार र मृत्युपश्चात् किरिया खर्चमा लागेको ऋण तिर्न र आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका रहेछन् । उनीहरू देश बाहिर रहेको कारण सही सुचनाको अभाव भयो । तिलाको आमा नवलपरासी बस्नुहुने हुँदा उहाँसँग पनि सम्पर्क हुन सकेन । फेरि ‘तिलाको घर नवलपरासीको हो, माडी त मामा घर मात्रै हो’ भन्ने सुचना गलत मनसायका साथ आइपुग्यो । गल्ती के भयो भने त्यसको सत्यता जाँच्न हाम्रो प्रयास कम भयो । पार्टी अन्तर्सङ्घर्ष उत्कर्षको स्थितिमा थियो । सहिदहरू केशव क्षेत्री, बाशु पौडेल, तिलक खाती र निलकण्ठ सुवेदीको अर्धकदको शालिक सहितको सहिद स्मारक उद्घाटनका दिन विचार समुहका नाममा कार्यक्रम विथोल्न धेरै प्रयास गरे । सहिदका परिवारजनलाई विहानै अर्को कार्यक्रमको बहाना बनाएर अन्तै लगिएछ । सबै सहिद परिवारको सहभागिता समेत हुन दिइएन । यस्तै प्रवृति र सोचका कारण हामीले तिलाको आत्मसम्मान र परिचयलाई बसन्तपुरको त्यो स्तम्भमा स्थापित गर्न चुक्यौं । तिला एउटा यस्तो क्रान्तिकारी योद्धा जसले जन्मदेखि नै पहिचानको सङ्घर्ष सामना गर्नुप¥यो । एउटा योद्धा जसले क्रान्तिमा रगत बगाएर पनि आफुले न्याय पाउन सकेन । सहादतपछि सरकारले दिएको क्षतिपूर्तिमा मामाहरू परदेसिएको फाइदा उठाउँदै रमादेवी जस्ता आमाहरू माथि उत्पीडन गर्ने सामन्ती प्रथाका ठेकेदार एकजना आफन्तले खै कताबाट तिलाको बाबु बनेर राहत बुझे भन्ने खबर पनि आयो ।

सामन्ती पितृसत्तात्मक समाजका अनेकौं लाञ्छना सहेर जन्माउने आमा, साहस र ममताका खानी हजुरबुबा हजुरआमाहरू यो सबै प्रक्रियामा न त कतै सहभागी नै हुनुभयो, न त केही पाउनु नै भयो । न्याय र समानताको निम्ति भएको तिलाको बलिदानपछि पनि उँहाको संरक्षकत्व कानुनी रूपमा आमा रमादेवीको नाम राख्न मामाहरू जुधिरहनु परेको घटना झन् पिडादायी छ । सोमेश्वरको आकाशमा टिल्पिलाइरहेका ताराहरू हेरेर आज पनि तिलाले खबरदारी गरिरहे झैँ लाग्छ ।
प्रिय तिला, हामी क्रान्ति फुलाउन हिँडेका थियौं । सुन्दर र समुन्नत समाज निर्माणका निम्ति समरको यात्रामा निस्किएका थियौं । वर्गसङ्घर्षको वलिवेदीमा आफुलाई चरुझैं होम्न हिँडेका थियौं । मुक्ति र मृत्युको त्यो यात्रामा तपाईंको भागमा बलिदान प‍र्यो । कैयौं पटक दुश्मनको पिँजडामा परेर पनि मैले त्यो अवसर पाउन सकिन । आज तपाईं हामीले देखेको सपना धमिलो हुँदै गएको छ । राती सुत्दा पनि ऐंठन हुन्छ । जनयुद्धका दिनहरू कठिन थिए, तर अहिलेको कथित शान्तिकाल झन् कठिन छन् । निदाउन खोज्यो ती तमाम प्रिय मान्छेहरूको आकृति मनमा कोरिरहन्छ, जसलाई हामीले युद्धमा गुमायौं । युद्ध मोर्चामा अङ्गभङ्ग भएका कमरेडहरूका आवाज एकैसाथ कानमा ठोक्किन आइपुग्छन् । साहस बटुलेर उठ्ने आँट ग¥यो, गोडा राम्रोसँग टेकिँदैन । तर पनि हिम्मत हारेका छैनौं । अहिले पनि क्रान्तिको भुतभुते बाँकी नै छ । हामी फेरि पनि क्रान्तिको भुतभुतेलाई प्रतिक्रान्तिको हुन्डरीबाट जोगाएर मशाल बोकेर उठ्नेछौं, जुट्नेछौं र लड्नेछौं । लडि रहनेछौं ।