मसानहरू नाचिरहेछन्
मसान घाटमा
मसानकै शासन चलिरहेछ
मसान घाटमा
मसानहरू हाँसिरहेछन्,
खित्का छोडेर हाँसिरहेछन्
सँगसँगै हाँसिरहेछन्
चितामाथि सुतेका मूर्दाहरू
चितासँगै हाँसिरहेछन्
लाइनमा बसेका मूर्दाहरू
चितामा चढ्न आतुर मूर्दाहरू
मसानसँगै अट्टहास गरिरहेछन् मूर्दाहरू ।
अधमरो अधमरो बनेको छ मेरो देश
मसानघाट बनेको छ मेरो देश
मूर्दा बनिरहेका छन्
मेरै देशका मान्छेहरू
मृत्युदाताको पूजा गरिरहेछन्
मसानकै पूजा गरिरहेछन्
भइरहेकै छ मृत्युदाताहरूको पूजा
मृत्युुदाताहरू पुुजिने मन्दिरै–मन्दिरको सहरमा
जीवनको खोजी गर्नु पनि मसानका आँखामा
अपराध नै ठहरिने गरेको छ ।
दुनियाँ सन्त्रस्त बनेको वेला
चुक घोप्ट्याएको अँधेरी रातमा
कत्तिखेर टाउकोमा मुङ्ग्रो बजार्ने हो
कत्तिखेर मसानले च¥याप्प पार्ने हो ।
यो सबै जान्दाजान्दै पनि
मसानका विरुद्ध चलमलाइरहेका छन्
महान् मान्छेहरू आफ्ना आँखामा
आक्रोशको अग्निज्वाला दन्काइरहेछन्
आपूmलाई नागरिक सिद्ध गर्न तम्सिरहेछन्
मसान लखेट्ने जिउँदा मान्छेहरू
मशाल उचालेर लम्किरहेछन् ।





























