हामी बर्षौंदेखिका भूमिहीन
कतैबाट पनि आडभरोसा नपाएर नै
तपाईंको बङ्गला नजिक
अलिकति खाली जमिन भेटेर
नदीको छेउ
जङ्गलको छेउ
सडकको छेउ
आफ्नो पनि संसार उभ्याएका थियौं ।
तपाईंले देखिसक्नु भएन मालिक ?
तपाईंको नयाँ राजमा
हामीजस्ता तन्नम
सुकुम्बासीको खुसी
तपाईंले देख्नै सक्नुभएन !
हाम्रो पनि शीर लुकाउने
सानो संसार नबनाई
अपर्झट
किन डोजर पठाउनुभयो हाम्रा झुप्राहरूमा ?
किन बिझाइरहन्छ तपाईंलाई
हाम्रो आत्मसम्मान ?
हाम्रो खुसी
हाम्रो स्वाभिमान !
हाम्रो कष्टसाध्य दैनिकीले
किन छुँदैन तपाईंको निरंकुश मनलाई ?
कि तपाईंको शहरमा हामी बस्नु हुँदैन ?
भन्नुस् !
भन्नुस् नवमहाराज !
किन नबोल्नु भएको ?
तपाईंको ठूलो महलको छेउछाउ
हामी बस्नु हुँदैन ?
बागमती ११, कर्मैया, सर्लाही





























