कवितामा वर्तमानबोध

कवितामा वर्तमानबोध

समीक्षा

(चेतना भिलेज रिसोर्टको कविता साँझ – २७ असार २०८३)
हामी काठमाडौँ, पोखरा, तनहुँ र गोरखाबाट चितवनको चेतना मिलेज रिसोर्टका अतिथि बन्न गएकाहरू असह्य नभनौँ सहन सक्ने गर्मीबाट प्रभावित थियौँ । साँझको खाना खाइसकेपछिको समय हामी कतै आआफ्ना कोन्टीमा र कतै उखरमाउलो गर्मीका कारण भान्साका पङ्खाको सम्मुख भएर यत्रतत्र छिरलिएका थियौँ ।
कवि गौरी देवकोटालाई कविता सुनाउने हुटहु‌टीले भित्रबाहिर गराएको अनुमान सहजै लगाउन सकिन्यो । उहाँको सरकफरक देख्दा त्यस्तो अनुमान लगाउन त्यति हम्मे परेन । म भने कवि हुन नसक्नुको पीडाबोधमा छटपटाएको थिएँ । तर मनको एक कुनामा कविता सुन्ने चाहना भने तीव्र थियो । आफू कवि हुन नसके पनि म कविको मनोविज्ञानसँग भने परिचित छु । खासमा म सुत्ने तरखरमा थिएँ । आफ्नो अड्वाङ्गे बानीका कारण अघिल्लो रात जागराम बसेको थिएँ । हो, म सुत्न आतुर थिएँ तर मनको एक कुनामा कविताको भोक पनि छँदै थियो । झन्डै वर्षदिन भो कविता सुन्न नपाएको । साथीहरू लसलसी भान्साहलमा प्रवेश गर्न थाल्नुभो । आखिरमा गौरीजीले साथीहरूलाई एक डल्लो पारिछाड्नु भो । इच्छा भएपछि के नै हुँदैन र ?
माक्र्सवादी समालोचना लेखन विषयक दिनभरको पट्यारलाग्दो कार्यक्रम एकै ठाउँमा थेचारिनुपर्ने, रुखो विषय, थोरै संवाद र जिज्ञासाले मन बहलाउन त पाइन्थ्यो तर एक रसताबाट हामी मुक्त थिएनौँ । आफ्नो रोजाइको कार्यक्रम हुनाले दुखमनाउ गर्नुपर्ने कुनै कारण थिएन हामी प्रसन्न नै थियौँ ।
फ¥याकफुरुक गर्ने वेला गौरीजी मात्र देखिनु भए पनि कविता सुनाउने बेलामा त आठदशजना साथीहरू टुप्लुकिनुभो । म कवि होइन तर कविको मनोविज्ञानसँग नजिकको साइनो छ भन्दा पनि हुन्छ । म मनोवेत्ता पनि होइन तर कुन्नि कसो हिजोका दिनमा कृष्ण सेन इच्छुक, अमर गिरी, ईश्वरचन्द्र ज्ञवाली, पूर्णविराम, आहुति, मणि थापा आदिका कविता सुन्दै, पढ्दै र आकलझुकल लेख्दै गर्दा कविको मनोविज्ञानसँग हिमचिम बढ्दै गयो । यदि कविताले आफ्नो धर्म छोडेको छैन भने त्यस्तो कविताप्रति आशक्ति बढ्छ नै ।
कवि अनिल श्रेष्ठ फोटोग्राफरको भूमिकामा सरकफरक गर्दै कहिले ओल्लो कुना त कहिले पल्लो कुना गर्दै हुनुहुन्थ्यो । सबै कविलाई सस्वर आफ्नो मोबाइलमा कैद गर्न व्यस्त हुनुहुन्थ्यो ।
सबै कविलाई आफ्नो पालो कहिले आउला भन्ने उत्सुकताले उरालधुराल पारेको हुनुपर्छ, यो मेरो अनुमान हो । कवि साथीहरूको यो औत्सुक्य देखेर म पनि थोरै पुलकित नभइरहन सकिन, कविता कस्ता होलान् र तिनले वर्तमानलाई सम्बोधन गर्लान् कि नगर्ला भन्ने आशङ्का मभित्र नभएको होइन तर आगो खाएर अँगार गोब्य्राउने ल्याकत भएका कविहरूबाट त्यस्तो किन हुँदो हो भएन बरू, दमदार कविता वाणीले वातावणलाई नै स्तब्ध बनायो । हो, समसामयिकता, सामाजिकता, सम्वेदनशीनता, सुललितता, समाजबोध तथा सम्यक् विषय चयनका कारण कविता निकै प्रभावी बनेका रहेछन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको ‘द्वि दिवसीय माक्र्सवादी समालोचना लेखन’ विषयक प्रवचनात्मक गोष्ठीमा हामी झन्डै दुई दर्जन स्रष्टा÷समालोचकहरू सहभागी भएका थियौँ । हो, दिनभरको रुखोे प्रवचन अनि त्यही प्रवचन श्रवणले थकित थकितजस्तै भएका हामीलाई कविता वाचन र श्रवण गर्न पाउनु फरक अनुभूति त हुँदै हो थप एउटा आनन्दी क्षण पनि हो । दिनभर सुनिबसेका कविलाई थोरैबेर भए पनि सुनाउन पाउनु रमाइलो अवसर थियो ।
कवि गौरी देवकोटा मोबाइलमा कैद गरिएको आफ्नो कविता औँलाको इशाराले स्क्रिनमा पसार्दैै हुनुहुन्थ्यो । हामी सबै कविता सुन्न लालयित थियाँै तर म अलि बढी अनुरुक्त थिएँ । गौरी देवकोटा ‘आँधीको उपहार’ शीर्षकको कविता पस्कने सुरमा व्यस्त हुनुहुन्थ्यो । जब उहाँको वाणी फु¥यो, हामी सबैले आस्वादन ग¥यौँ ।
गौरी देवकोटा ‘आँधीको उपहार’ लोभलाग्दो शीर्षकका साथ प्रस्तुत हुनुभो । यदि कविता विम्बमा व्यक्त गरिने कला हो भने (हो नै, हामी सबैले मानिआएका छाँै) त्यसको खाइलाग्दो दृष्टान्त बनेको छ देवकोटाको यो कविता । आँधी अकारण र अनायास आउँदैन, त्यसका पछाडि केही कारण हुनसक्छ । अर्थात्, वायुमण्डलमा प्रदूषण बढेपछि, वायुमण्डलीय चापमा उतारचढाव आएपछि तथा तापमानमा असन्तुलन भएपछि आँधी आउने कुरा निश्चित छ । जब आँधी आउँछ त्यसले भूतलमा रहेका कमजोर संरचना उडाउँछ र दुरदराजबाट कुँडाकर्कट ल्याएर घरआगनमा थुपारिदिन सक्छ । कवि देवकोटाका विचारमा यसपटकको आँधीले स्मार्ट नायकको पोस्टर ल्याएर हाम्रा आगनमा थुपारिदियो, त्यो थियो आँधीको उपहार र त्यो आँधी भनेकोे गत भदौ २३ र २४ गतेको विनासकारी ध्वंश वा बाह्य आवरणमा जेन्जी नामको विद्रोह थियो । बाह्य आवरणमा जेसुकै भए पनि अन्तर्यमा त्यो विनासकारी आँधी थियो । हुन त आँधी सधँै विनासक मात्र हुँदैन । कहिलेकाहीँ आँधीले फोहरमैला, पातघुसान, कुँडाकर्कट उडाएर लैजान्छ, वातावरण शान्त र स्निग्ध हुन्छ । तर कवि देवकोटाका विचारमा यस पटकको आँधी मापाको थियो, ज्याद्रो थियो र अलच्छिना थियो जसले विध्वंसबाहेक केही पनि ल्याएन । हो, त्यो आँधी आततायी थियो, त्यो हाम्रै भूबनोट र वातावरणीय प्रभावको परिणति थिएन बरु आयातीत र नखरमाउलो आँधी थियो । त्यस आँधीका प्रति कवि गौरी देवकोटाको प्रतिक्रिया यस्तो छ ः
आँधीको उपहार
चलमलायो विस्तारै
बजाए वरिपरिकाले ताली
उठ्यो जुरुक्क र नचायो नजर
कसको हो यो झुप्रो ?
किन बाँचिरहेछस्
झुत्रो जिन्दगी
बगैचाका फूलहरू किन छैनन् एकनासे ?
निश्चय नै कविता विम्बमा भनिने कला हो । र, जब विम्ब दुरुह, अशिष्ट तथा अप्रचलित, नभई शिष्ट, सरल र प्रचलित अनि आह्लादक बन्छ त्यतिबेला कवित्व शक्ति पनि सबल बन्छ, त्यसको दृष्टान्त हो प्रस्तुत कविता ।
हाम्रै घरआगनमा फ्याँकिएको आँधीको उपहार विस्तारै चलमलायो मात्र होइन, जुरुक्क उठेर झुत्रा वस्तीमाथि हुँकार गर्न थालेको आभास यस कविताबाट पाइन्छ । हो, झुत्रा वस्ती, झुत्रो जीवन, झुत्रो फेसन उसलाई पटक्कै सैह्य भएन । सायद उसलाई वितण्डा संस्कृति मनपर्ने भएर होला झुत्रा बस्तीहरू (सुकुमवासी वस्तीहरू) मा विध्वंश र विनास निम्त्यायो । यहाँ कवि देवकोटाको शिष्ट अनि शालीन प्रकृतिको आक्रोश छ । वस्तुतः यस्तो ध्वंशात्मक आँधी होइन, विनासकारी साम्राज्यलाई नै हायलकायल पार्नेगरी अर्को आँधीको सपना र जपना पनि कवि देवकोटामा देखिन्छ जुन भविष्यप्राप्तिको चेष्टा र भविष्य दृष्टिसमेत हो ।
दोस्रो रोलक्रममा कवि हिरामणि दुःखी आफ्नो मोबाइल मुसार्दै हुनुहुन्छ । त्यसो त सबै कविको मनोदशा उस्तै उस्तै छ, सायद प्रतीक्षाको घडी अलि लामो हुन्छ नै । कवि दुःखीले दायाँ हातले तालु मुसार्दै ‘गाँजा’ शीर्षकको कविता पस्कनथाल्नु भो । गाँजा यस कविताको ‘म’ पात्र । समकालको खाइलाग्दो र स्वादिलो पात्र । कस्तो मनचिन्ने प्रयुक्ति ? ‘गाँजा’ एउटा लागु पदार्थलाई मानवीकरण गरेर त्यसको शीलस्वभाव, आनीबानी, मरमिजासको हुबहु नालीबेली यहाँ पाउन सकिन्छ । जब गाँजा एउटा मान्छेभित्र सवार हुन्छ त्यतिवेला मान्छेको मौलिक पहिचान स्वतः अलप हुन्छ र मान्छे गँजडीमा रूपान्तरण हुन्छ, एउटा बेहोसी गँजडीमा । त्यही गँजडी अहिलेको नेपाली मौजाको मुखिया हो जसको मौन बर्बराहटले वातावरण नै असन्तुलित बन्छ भन्ने धारणा कविमा देखिन्छ । त्यतिमात्र होइन उसलाई दःुखी जनहरू कीटपतङ्गझैँ लाग्छ अनि त ऊ दुःखी जनका वस्ती चहार्न पुग्छ । यस्तो गँजडीलाई मौजाको मुखिया बनाइरहने हो भने त्यसले समाजव्यवस्था नै खलबल्याउन सक्ने सम्भावनाका बारेमा पनि कवि सचेत देखिनुहुछ । कवि दुःखीको प्रस्तोक्ति छ ः
छोड्यो भने गँजडीलाई
गँजडीकै सुरतालमा
समूहमा फेरिन्छ गँजडी
बन्छ समाज झन्झन् कुरूप
ढिला गर्न हुन किन्चित
गँजडीलाई
सुधारकेद्र लैजान ।
हो, गँजडीलाई यत्तिकै छोडियो भने त्यसले सिङ्‌गो मौजा र मौजाको वातावरण नै दूषित बनाउने सम्भावनाको आकलन गर्दै कविले उसलाई सुधारकेद्रमा लानुपर्ने राय दिनुभएको छ । मान्छेको अस्तित्वसँग जिस्कने गँजडी मान्छेको नाममा कलङ्क भएको र मौजामा उसको अस्तित्व रहेसम्म मौजाको पहिचान नै समाप्त हुने सम्भावनालाई कविले नजिकैबाट नियालिरहनुभएकोे छ । समकालीन नेपाली मौजाको बदनाम मुखियाको सुन्दर दृष्टान्त यहाँ प्रस्तुत भएको छ । गाँजालाई विम्ब बनाएर सुन्दर दृष्टान्त यहाँ प्रस्तुत भएको छ । त्यसो त उपमेय गँजडीमा उपमान गाँजाको सम्बन्ध स्थापित गरे उपमा अलङ्कारको सुन्दर प्रयोगका साथै अन्तर्वस्तु र रूपको सन्तुलित विन्यास पनि यसमा पाउन सकिन्छ ।
कवि तेजविलास अधिकारी पालो पर्खेर वस्नुभएको छ । आजको साझँ नै कस्तो कस्तो, सबै कविलाई काउकुति लगाउने खालको रहेछ । पालो आएपछि किन ढिला गर्नु ? उहाँले आफ्नो ‘एउटा निर्जीव आकृति’ शीर्षकको कविता पस्कनुभयो । कवि अधिकारीले आफ्नो कविता वाचन गरिरहदाँ पनि समकालको अन्त्यन्त कठोर एवम् अत्यासलाग्दो नेपाली परिवेशको तस्बिर हाम्रा सामु नाच्न थाल्छ । कविता पनि सुन्दर त छ नै थप यसको तात्पर्ययुक्त शीर्षकले सुगन्धसमेत थपेको छ । आकृति निर्जीव हो, त्यसमा कुनै त्राण छैन तर कसैले उसमा त्राण भरिदिएर होला चलमलाउन थालेको छ, जगमगाउन थालेको छ । मानवबस्तीमाथि धावा बोल्न थालेको छ । कवि अधिकारीमा गम्भीर आशङ्का उत्पन्न भएको छ, कतै त्यो विनासक मानव यन्त्र त होइन जसले छाप्रेली बस्तीमा डढेलो सल्काउँदै छ, विचारशून्य, विवेकशून्य अनि सम्वेदना शून्य आकृतिका हर्कत देखेर मानवसभ्यता नै निसासिएको छ । कलमजीवीहरू र प्रबुद्ध बुद्धिजीवी एवम् प्राज्ञहरू चुपचाप दोहोरी साँझमा लम्कीझम्की गर्दैछन् । कविका विचारमा उजाड वस्ती अनि उदास मनहरू शङ्कटमा छन् जीवन उधार्ने यत्नस्वरूप बौरिन थालेका छन् । वस्तुतः कवि अधिकारी शङ्कटापन्न अवस्थाबाट उध्राउने चेष्टास्वरूप यसरी प्रस्तुत हुनुभएको छ ः
एउटा निर्जीव आकृति सामुने
लल्याकलुलुक छन्
उसकै लाचार छायाँजस्तै
सुन्दैन उनीहरूको कान
देख्दैन उनीहरूको चक्षु
मात्र हो माँसस्वरूप
नजिकै फैलिएको छ,
उजाडिएको वस्तीमा
चरम चित्कार
श्वेतआतङ्क अगाडि पनि
नानीहरू खोजिरहेछन् पुस्तक
खोजिरहेछन् कलम
यहाँ कविका अनुभूतिहरू सामान्यीकृत बनेका छन् । अर्थात्, प्रस्तुत पद्यांशमा कविमन र भावकमनका बिचमा समधर्मीता देखिन्छ । हो, निर्जीव आकृति प्राणहीन र त्राणहीन भए पनि उसका सामु सबै लल्याकलुलुक छन् । यसको तात्पर्य हो निर्जीव आकृतिमा त्राण सन्चार गर्ने कुनै साम्राज्यवाद तथा विस्तारवादको प्रेतात्मा वा दुष्टात्मा हुन सक्छ । सायद त्यही प्रेतत्माले निर्जीव आकृतिलाई चलायमान बनाएको छ, त्यही कारण निर्जीव आकृति कङ्गाल वस्तीमा नग्न हर्कत गर्दैछ । एउटा निर्जीव आकृतिसामु उसका आसेपासे र अरौटेभरौटेहरू लाचार छन् उसकै छाँयाजस्तै । पक्कै पनि, तिनीहरूमा मानववस्तीले सुसेल्ने आर्तनाद सुन्नेसम्मको सम्वेदनशीलता देखिन्न उजाड एवम् खण्डहर वस्तीका भग्नावशेषभित्र साना नानीहरू पुस्तक र कलम मात्र होइन आफ्नो भविष्य खोजिरहेका छन् र मानवद्वेषी निर्जीव आकृतिसँग के कङ्गाल जनलाई नदीकिनारा वा सड्क किनारामा ओत लाग्ने ठाउँ मिल्दैन ? भनेर गम्भीर प्रश्न गरिरहेछन् । समग्र सम्वेदनाका बिचबाट तेजविलास अधिकारीको यस कविताले पनि वर्तमानका वितण्डाको समूल विस्थापन गरेर सुन्दर भविष्यको उपस्थापनको चेष्टा गरेको छ ।
कविता सुनाउने उत्सुकताले कवि कुमार दिङ्लालीलाई पनि कुत्कुत्याइरहेको अनुमान सहजै लगाउन सकिन्थ्यो । कविता सुनाउने र हामी सुन्नेहरू (धनेश्वर पोखरेल, वन्दना ढकाल र मलगायत) काकाकुल जस्तै भएका रहेछौँ । कविता सुन्न र सुनाउन नपाउनुको पीडा थियो त्यो । त्यसो त दिनभर फलामका चिउरा चपाएर (समालोचना लेखन विषयको छलफलमा नारिएर) हत्तुहैरान भएका हामीलाई कवितामृतको आस्वादन गर्न गराउन पाउनु भरपुर आनन्दी क्षण थियो ।
कवि कुमार दिङ्लालीको ‘खोटो सिक्का चल्यो’ शीर्षकको कविता पनि गत भदौ २३ र २४ गतेको जेन्जी विध्वंश र त्यसको परिणतिमा आधारित छ । अज्ञात् योजना, अज्ञात् कार्यक्रम र अज्ञात् गन्तव्यको भुलभुलैयामा परेर दर्जनौ किशोर तथा युवाहरूले ज्यान गुमाउनु पर्दाको पीडादायक एवम् अत्यासलाग्दो घटनाप्रति कवि निकै सम्वेद्य बनेका छन् । उक्त विध्वंश र त्यसपछिका दिनमा पनि एकपछि अर्को गर्दै घटित भएका विष्मयकारी घटनाले मुलुकको राजनीतिक एवम् सत्ता समीकरणमा तत्त्विक फेरबदल नआए पनि एउटा कारिन्दाका ठाउँमा अर्को कारिन्दा ल्याइएको ठहर कवि दिङ्लालीले गर्नुभएको छ । खासमा सत्तामा भएको त्यही फेरबदलपछिको सत्तासीन पात्रलाई कविले खोटो सिक्खाको सङ्ज्ञा दिएको पाइन्छ । मुलुकका सम्पदा जलाउनेहरू नै कालो पोतिएको अनुहार लिएर होहल्लाका भरमा सत्तासीन भए । साम्राज्यवादीको आशीर्वाद र इशारामा नहुनुपर्ने जति सबै भयो । अझ, हामी जे नहोस् भन्थ्याँै त्यही भयो । अर्थात् कवि दिङ्लालीका विचारमा मुलुकका पुरातात्विक सम्पदालाई खरानी बनाउनेहरू नै सत्तामा विराजमान हुने उदेक लाग्दो स्थिति बन्यो । स्यालको ठाउँमा हँुडारहरूको आगमन भो । यसलाई सङ्केत गर्दै कविको कथन छ ः
जुन हातले सपना खोसियो
त्यही हातले आगो झोसियो
संसद जल्यो, सिंहदरबार जल्यो
देशको स्वाभिमान जल्यो
सर्वोच्च अदालत जल्यो
न्यायिक दस्तावेज जल्यो ।
राष्ट्रपति भवन जल्यो
राष्ट्रको शिर ढल्यो
जलेन भ्रष्टाचार, पूरा वस्तु जल्यो
धरोहर जल्यो, इतिहास जल्यो
एउटा कारिन्दा हटाइयो,
अर्को कारिन्दा राखियो ।
हाम्रै आँखाको सामुन्ने
एउटा पानामा इतिहासको
पोलिनु थियो उज्यालो
कालो पोतियो ।
विध्वंशका खातिर मच्चाइएको बबन्डरका कारण मुलुकले ठुलो क्षति बेहोर्नुपरेको अवस्थाको चिरफार यसमा भएको छ । यसो भनौँ, होहल्लाको भरमा सत्तामा पुगेको खोटो सिक्कालाई हुल्लडवाजहरूले सक्कली सिक्काको सङ्ज्ञा दिए । होहल्लाको भरमा मुलुकबासीलाई नै दिग्भ्रमित बनाइयो । त्यही यथार्थपरक परिघटनालाई कवि दिङ्लालीले भविष्यबोधका साथ काव्यात्मक वाणी दिनुभएको छ ।
कवि मित्रलाल पङ्ज्ञानी पनि सुकुमबासी बस्तीहरू उजाडिएको अवस्थाप्रति अत्यन्त गम्भीर देखिनुभएको छ । सवाल यो हो कि कवि पङ्ज्ञानी पनि अहिलेको वितण्डा राजनीति र सत्ता संस्कृतिबाट असम्पृक्त नभई त्यसको केन्द्रमै रहेको बुझिन्छ । पङ्ज्ञानीको प्रस्तुत कविता तीन हरफमा संरचित छ । कविले खोला, खोल्सा तथा सडक किनारामा टेकिन र ओत लाग्नसमेत नपाउने मानवद्वेषी कानुनप्रति कटाक्ष गर्नुभएको छ । हामीले टेक्ने धर्तीसमेत खोसिएको छ । आफू जन्मीहुर्केको माटोमा पनि आफ्नो अधिकार हुन्न भने त्यस्ता मान्छेमारा, गरिबमारा कानुनजति फेर्नुपर्ने राय कविको देखिन्छ । अर्थात् गरिबमाराहरूसँग कविको प्रश्न छ ः
कल्ले रच्यो चन्द्रसूर्य कल्ले रच्यो तारा
कल्ले रच्यो पृथ्वि र हावापानी सारा
तिम्ले हैन, तिम्रा बाजे, बराजुले हैन
त्यसैकारण तिम्रो मात्र अधिकार छैन
सबैजना पृथ्वीमै बाँच्नपर्छ खेली
पोल्नुपर्छ मान्छेमारा कानुनका ठेली
मान्छे बनेर जिउने मान्छेको नैसर्गिक अधिकार र चाहनामाथि बलात् हस्तेक्षप गर्नेप्रति निर्मम प्रश्न तेस्र्याउँदै यो पृथ्वी प्राणीमात्रको बासस्थान हो जसलाई हरण गर्ने ताकत कसैमा नभएको उल्लेख कविले गर्नुभएको छ । यसको तात्पर्य हो वर्गीय समाजमा विद्यमान अभिजात वर्गले गरिब जनलाई निचोर्ने मात्र होइन ज्यानको समेत हुर्मत लिने अधिकार आजका शासकलाई नभएको धारणा यहाँ प्रकट भएको छ ।
समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष अनिवार्य रहेको माक्र्सवादसम्मत धारणा प्रस्तुत गर्दै सुकुमवासी बस्ती भत्काएर आत्मरति प्राप्त गर्ने लाउकेहरूप्रति खबरदारी गर्दै मान्छेको जीवन जिउने अधिकारलाई कुण्ठित गर्न नपाइने अभिमत कवि पङ्ज्ञानिकोे रहेको छ । वर्गीय समाजको चरित्रअनुरूप समाजमा वर्गीय उत्पीडन कायम रहेसम्म वर्गसङ्‌घर्ष पनि अन्त्य नहुने विज्ञानसम्मत धारणाबाट कवि पङ्ज्ञानी अनुप्राणित रहेको बुझिन्छ ।
काव्यात्मक प्रस्तुति जम्मा आठजनाको भएको र आठओटै कविता सुन्दा बान्कीमा सजिएको पाइन्छ । उदात्त चेतना भएका प्रतिभाशाली कविका लागि विषयको कमी हुँदैन विषयको अभाव त यथास्थितिवादीहरूका लागि हो, क्रान्तिकारीहरूका लागि विषय छरप्रस्टै छन् । अझ त्यसमा पनि विदेशीहरूको इसारामा मन्द्राउने पपुलिष्टहरूको आगमनपश्चात् मुलुकमा नवीन प्रकृतिका वितण्डा मौलाउन थाले । यसै त यसअगिका शासकको गैरजिम्मेवार चरित्रका कारण सङ्कटमा बामे सर्दै गरेको मुलुक साम्राज्यवादको नाङ्गो हस्तक्षेपपछि झनै सङ्कटको भुमरीमा फस्यो । त्यही सङ्कटापन्न एवम् जीर्ण अवस्थाको सम्यक् प्रस्तुति कवि जगदीशचन्द्र भण्डारीको ‘बन्नुस्’ शीर्षकको कवितामा भएको छ ।
कवि जगदीशचन्द्र भण्डारीले यस कवितामा हालसालका नेपाली दलाल पपुलिष्टहरूतर्फ सङ्केत गर्दै उनीहरूको जन्म नै दलाल बन्नका लागि भएको ठोकुवा गर्नुभएको छ । अर्थात्, सत्कर्म गरेर दलाल नबनिने हुनाले कुकर्मका माध्यमबाट दलाल बन्नका लागि प्रशस्त सम्भावना भएको उल्लेख गर्नुभएको छ, दलाल बन्नका लागि अनगिन्ती सम्भावनाको आकलन गर्दै कवि भण्डारीले तिनको नालीबेलीसमेत प्रस्तुत गरेका अनेक दृष्टान्तमध्ये एउटा दृष्टान्त यहाँ प्रस्तुत गर्न सकिन्छ ः
संसदमा नबोली बन्नुस्
छलेर भागेर बन्नुस् अन्टसन्ट बोलेर बस्नुस्
सुकुमबासीलाई डोजर लगाएर बन्नुस्
साना नानीहरूलाई
रुवाएर बन्नुस्
होल्डिग सेन्टरमा
नखुवाई बन्नुस,
फेरि त्यहाँबाट
विस्थापन गरेर
कुनै संवाद नगरी बन्नुस्
हो, यतिबेलाको नेपालमा दलाल बन्नका लागि अनेक अवसर विद्यमान छन्, ती सबैको नालिबेली यहाँ प्रस्तुत भएको छ । सुकुमबासी बस्तीमा डोजर लगाएर होस् वा सुकुमबासीलाई कुहीगन्धे होल्डिङ सेन्टरमा थुनेर वा त्यहाँबाट विस्थापन गरेर दलाल बन्नका लागि अनेक हर्कत गर्न सकिने दृष्टान्त कवि भण्डारीले प्रस्तुत गर्नुभएको छ । गाँजा खाएर होस् वा अश्लिल दोहोरी गाएर, कालो जुत्ता लगाएर होस् वा कालो चस्मा लगाएर होस्, बारबारा र युथ काउन्सिलसँग गठ्जोड गरेर होस् वा सारा धरोहर जलाएर होस् जसरी पनि दलाल बन्नुस् भनेर दलाल पपुलिष्टहरूप्रति यसमा कठोर व्यङ्ग्य गरिएको छ । अर्थात्, जुनसुकै हर्कत गरेर भए पनि दलाल बन्न पाउने अवसरबाट कोही पनि बञ्चित हुन नपरोस् जो दलाल बन्नका लागि लामबद्ध छन् ।
साइनो कवितालेखनमा नेतृत्वदायी भूमिकामा रहनुभएका वा साइनो कविताका अभियन्ता छायादत्त न्यौपानेको ‘माटो’ शीर्षकको कविता अलि फरक विषयप्रसङ्गमा आधारित छ । यस कविताले समकालका बिब्ल्याँटाप्रति उतिसारो छेडखान गर्दैन बरू माटोको मानवीकरण गरेर त्यसमा भएको उर्वरा शक्ति बढाउन मल, जल, खन, खोरस अनि गोडमेल गर्नुपर्नेतर्फ सचेत गराइएको छ ।
यस कवितामा एकलापी कथनका माध्यमबाट माटोको मानवीकरण गरेर त्यसका वैशिष्ट्य प्रस्तुत गरिएको छ । यहाँ झट्ट हेर्दा माटो अभिधाका तहमा सीमित भएजस्तो लाग्छ तर सवाल यत्तिमै सीमित नभएर लक्षणा र व्यञ्जनाका तहमा माटो भन्नु उर्वर एवम् उन्नत विचार हो जसमा कुनै प्रकारका धब्बा लाग्न दिनुहुन्न भन्ने आशय यहाँ व्यक्त भएको छ । माटोको मानवीकरण गरेर लक्षणाका तहमा जुन अर्थ निष्पन्न भएको छ त्यो भनेको उन्नत विचारको संवाहक हो । माटोमा मलजल र गोडमेल गर्दा उर्वरा शक्ति बढेजस्तै तीक्ष्ण एवम् गतिशील विचारका लागि मानव मनका विकृत भावलाई विस्थापित गर्दै उदात्त भावको जागरण गराउनुपर्ने सन्देश यस कवितामार्फत प्राप्त गर्न सकिन्छ । यस सन्दर्भमा कविको कथन यस्तो छ ः
मेरो बाटो छेक्न
झाँगिएको झार उखेल
घाँटी पुरै भिज्नेगरी
पानी देऊ, दिँदै गर
म लहलाउँछु
पुरै पाटाभरि उभिन्छु
तिमी रमाऊ
म मुस्कुराउँछु ।
अभिधाका तहमा माटो भूतलको उर्वरा शक्ति भए पनि व्यञ्जनाका तहमा मानवजातिले अवलम्बन गरेको विचार हो । जसलाई निखरो र स्वच्छ राख्न सकिन्छ । त्यही निखरो विचारले उन्नत एवम् परिवर्तनकामी विचारको सम्प्रेषण गर्न सकिन्छ भन्ने फरक प्रकृतिको तात्पर्यबोध यसमा गर्न सकिन्छ ।
कवि रोशन जनकपुरीले फरक विषय र बान्कीको अत्यन्त मिठो कविता प्रस्तुत गरेर एउटा धुमिल बन्दैगरेको स्मृतिलाई ताजगी रूप दिनुभएको छ । समसामयिक विषय नभएर पनि अति सम्वेदनशील विषय जो इतिहासमा घटित घटना जनजनका मनलाई उद्वीप्त बनाइरहेको प्रसङ्ग । जनताका सेवक होनहार योद्धा रामवृक्ष यादव (मास्टर साहेब) को स्मृतिमा यो कविता प्रस्तुत भएको छ । अर्थात्, यस कवितामा यादवप्रति गहिरो सम्मानभाव प्रकट भएको छ ।
‘शीर्षकहीन’ शीर्षकको यस कवितामा पृष्ठभूमिस्वरूप सहिदहरूप्रति सम्मानभाव प्रकट गर्दै सपनाको सूच्यात्मक सूत्र प्रस्तुत गरिएको छ । त्यसपछिको प्रसङ्ग भने रामवृक्ष यादवको स्मृतिमा उद्दाम भावको सञ्चार÷सम्प्रेषण भएको छ । रामवृक्ष यादव (जो कवि पनि हुनुहुन्थ्यो) का बारेको जनपक्षीय यादगार पस्कनुअघि सपनाका बारेमा कविको कथन यस्तो छ ः
सपना आँखामा हुन्छ
तर अहिले
केही आँखाहरू थाकेका छन्
र केही अन्धा भएका छन्
नयाँ आँखा भएकाहरूको खोजी छ ।
यो अहिलेको तीतो यथार्थ हो । साँच्चि नै सपना आँखामा हुन्छ भनेर मान्ने हो भने आँखाहरू थकित र दृष्टिविहीन भइसकेका छन् । यहाँ आँखालाई क्रान्तिकारी विचारको समकक्षी बनाएर प्रस्तुत गरिएको छ । अर्थात् उपमेय विचारमा आँखा उपमानको प्रयोग गरेर उपमा अलङ्कारको प्रयोग यहाँ भएको छ । हो, अहिले क्रन्तिकारी पार्टी भुत्ते भएको छ, छिन्नभिन्न र क्षतविक्षत भएको छ अनि दृष्टिविहीन भएको छ । यसै तथ्यलाई यस पद्यांशले उजागर गरेको छ, अझ यसो भन्न सकिएला सपना देख्ने आँखाहरू नै दृष्टिविहीन भएको यस घडीमा सपनाको दाहसंस्कार भएको छ तर कविले यत्तिमै सन्तोष नगरी आँखा भएकाहरूको खोजी छ भन्नुले आशावाद र भविष्यदृष्टि जगमगाएको छ । ऊर्जाशील विचारको निर्माणले नै सपनालाई साकार रूप दिन सक्ने सन्दर्भमा पनि विचार निर्माणको प्रक्रियालाई कविले प्राथमिकतामा राखेको बुझिन्छ । यसको तात्पर्य हो रामवृक्ष यादवले देखेको सपनाका अनुयायीहरू थकित भए पनि वा अन्धा भए पनि नयाँ आँखा (अर्थात् नयाँ विचार) भएकाहरूको आगमन र उपस्थापन अवश्यम्भावी छ । समकालको बर्मझिया र अतीतको रामवृक्षका बारेमा कविको कथन यस्तो छ ः
बर्मझियामा अचेल
रामवृक्षको सहादत दिवसमा मेला लाग्छ
र लाग्छ बजार
यस मेलामा सबथोक पाइन्छ
यस बजारमा
तपाईंको मन रमाउने
सबथोक किन्न पाइन्छ
मात्रै ती सपनाहरू पाइँदैन
जो रामवृक्षले भत्केका झुप्राहरूकोे
आँखामा बाँड्ने गर्थे ।
कविले पृष्ठभूमिस्वरूप सुरुमा सङ्केत गरेको सपना र रामवृक्ष यादवले वर्मझियाका झोपडीहरूमा बाँड्ने गरेका सपनाका बिचमा गहिरो तादात्म्य यहाँ देख्न सकिन्छ । सहादत प्राप्त गरेको त्यस स्थानमा हाटबजार लाग्छ र सबथोक किन्न पाइन्छ तर हिजोका दिनमा रामवृक्षले जनजनका झोपडीमा बाँड्ने गरेको सपना किन्न पाइन्न । यसको तात्पर्य हो सपना देख्ने आँखाहरू यतिबेला थकितमात्र छैनन् अपितु अन्धासमेत भएका छन् । रामवृक्ष यादवको अतीत र अहिलेको क्रान्तिको गतिका बिचमा देखिएको बेमेलको प्रत्यङ्कन गर्ने सुन्दर कविता हो यो ।
लामो समयपछि वर्तमानबोधका कविता सुनेर तृप्त भइयो । तर, थोरै जिज्ञासा अनुत्तरित नै रहेका छन् । कवि अनिल श्रेष्ठले किन कविता सुनाउनु भएन । अनिलजीसँग कविता थिएन होला भन्ने त कल्पना नै गर्न सकिन्न । उहाँले त साथीहरूले बाचन गरेका कविता मोबाइल (क्यामरा) मा कैद गरेरै समय व्यतीत गर्नुभो । वन्दना ढकालले छोटो मन्तव्यबाट कविता साँझको बिट मार्नुभयो तर कविताका बारेमा बोल्नु भएन, कविताबारे पनि सोलोडोलो धारणा राख्नुभएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो कि ?
त्यस साँझमा वाचित प्रायजसो कविता सुन्दर छन्, बान्की परेका छन् । यसको तात्पर्य हो ती सबै कवितामा खोट लाउनै सकिन्न वा ती दुधले नुहाएका छन् भन्ने पनि होइन । कमीकमजोरी छन् म त्यसतर्फ प्रवेश गर्न चाहिन, थोरै त समालोचकीय धर्मबाट पछि हटेँ । कुनै समयमा त्यसको चर्चा पनि होला नै ।
यहाँ वाचन भएका आठओठा कवितामध्ये छओटा कविता गत भदौ २३÷२४ को विध्वशं, विनास र वितण्डाका कारण सृजना भएको परिस्थितिसँग सम्बन्धित छन् । अझ त्यसमा पनि प्रायजसो कविता त सुकुम्बासी वस्ती उजाड्ने डोजर आतङ्कसँग सम्बन्धित छन् । यसो भनौँ गरिब जनलाई देखिनसहने सत्ताको स्वाँठ प्रवृत्तिमा आधारित छन् । यिनमा विषय चयन पनि सुन्दर छ र विम्बात्मक प्रस्तुतिका कारण कलात्मक बान्की पनि सुन्दर छ । सबैजसो कवितामा अन्र्तवस्तु र रूपको सन्तुलित विन्यास छ, सबै कविता सुन्दर छन्, ती सुन्दर मध्येमा पनि रोशन जनकपुरीको शीर्षकहीन कविता अझ बढी सुन्दर‌ छ ।
अस्तु ।